केबुलकारको तीतो अनुभूति

केबुलकारको तीतो अनुभूति


Muktinath Khanal

– मुक्तिनाथ खनाल

हामी नेपाली ज्यादै सोझा र इमानदार भएकाले सबै तहबाट शोसित छौँ । हाम्रो कमजोरीलाई मौका छोप्न व्यापारी–व्यवसायी धेरै अगाडि छन् । राजनीतिक नेताहरूले कसरी आफू उच्चतहमा पुग्ने र मस्ती गर्ने भन्ने सपना बोकेका हुन्छन् । व्यवसायीहरूले जसरी पनि मुनाफा धेरै हुने कल्पना गरेका हुन्छन्, त्यसो गर्नु उनीहरूको धर्म नै होला । उनीहरूलाई अप्रत्यक्ष सहयोग गर्ने पनि सरकार नै हुन्छ । नाङ्गाभोका जनतालाई माया गरेर उसले के पाउँछ र ?† व्यापारी–व्यवसायीलाई सहयोग गरे त मज्जाले मोटाइन्छ † अहिले हाम्रो मुलुकलाई यही रोगले गाँजेको छ ।

उद्योगी–व्यवसायीलाई उद्योग व्यवसाय गर्न लाइसेन्स दिने सरकार नै हो । उसले लाइसेन्स प्रमाण (अनुमति) दिँदा कस्तो उद्योग–व्यवसाय कहाँ गर्ने, कसरी गर्ने त्यसबाट नेपाल र नेपालीलाई के सुविधा हुने आदि प्रस्ताव पेस गरिएको हुन्छ । पछि कार्यान्वयन तहमा पुग्दा तदनुसार भयो–भएन हेरिँदैन । कुनै कस्तो व्यवसायमा कति लगानी छ जनतासम्म पुग्दा व्यवसायीलाई मुनाफा राखेरै कुनै हदसम्म मूल्य निर्धारण गर्न सकिन्छ । त्यो काम सरकारबाट हेरिनुपर्ने होइन र ? तर, नेपालमा त्यस्तो छैन । व्यापारी–व्यवसायीले जति असुलून् मतलब छैन, उसले आफूलाई कति सहयोग गर्छ या गरेको छ त्यो हेरिन्छ । त्यसैले जनता शोषित हुँदै गएका छन् सरकार मोटाउँदै गएको छ, जसको परिणाम अहिले नेपालमा जुनसुकै सरकार आओस् सरकार र जनताबीचको सम्बन्ध चिसिएको छ । यो रोग बढ्दै गयो भने कुनै पनि सङ्घ, सङ्गठन, नेता, जनप्रतिनिधि, निर्वाचन आदिमा जनताको आस्था रहँदैन, झन्–झन् दूरी टाढिँदै जान्छ । अनि देश कहाँ पुग्छ ? छिमेकी विकसित देशका उन्नति हेर्दै तिनैको शरणमा पुग्ने अवस्था आउँछ, जस्तो कि सिक्किम, रुसको युक्रेन ।
प्रसङ्ग के भने, काठमाडौंमा अहिले एउटा नयाँ व्यवसायको चर्को रूपमा प्रचार भइरहेको छ । त्यही प्रचार र हल्लाको भरमा मानिस बत्तीमा पुतली होमिएजस्तै दिनको हजारौँको सङ्ख्यामा होमिएका छन् र पुगेपछि कैयन त पछुताएका पनि छन् । चन्द्रागिरि केबुलकारको सन्दर्भ हो, पङ्क्तिकार आफैँले भोगेको ।

त्यहाँबाट मनोरम दृश्यहरू देखिन्छन्, काठमाडौं भ्याली पूरै, कुलेखानी, हेटौँडा आदि मात्र नभई कुनै दुई हिमालको बीच होचो ठाउँबाट तिब्बत भ्यालीसमेत देखिन्छ भन्ने मौखिक प्रचार र त्यस्तै कतिसम्म भन्दा सुहाउँछ मिडियासमेतमा बाँकी राखएको छैन । यस्तै प्रचारप्रसारबाट यो पङ्क्तिकारलाई पनि लोभ्यायो र एक दिन तिहार (दीपावलीको) २–३ दिनपछि नै परिवारसहित गयौँ । दिनको २ बजे पुगेर हेर्दा टिकट लिन अन्दाजी पाँचजना जति मानिसको लाइन रहेछ । त्यो पहिले कति गए अनगिन्ती । टिकट लिएर लाइन हुँदै केबुलकार चढ्दा ४ बजेको थियो । कारमा चढ्नुभन्दा पहिल्यै बच्चाबच्चीहरूले केही खानेकुरा बिस्कुट चिप्स लिएको पनि त्यहीँ छाड्ने वा फाल्ने गर्नुपर्दोरहेछ । माथि केही खाने चिजहरू लिएर जान नदिने । माथि पुगेपछि खानेकुरा चिया, बिस्कुट, ममः आदिको मूल्य सुन्दा अनि मात्र तलबाट खानेकुरा लिएर जान नदिनुको रहस्य थाहा भयो कि आफैँ गरिएको व्यापारबाटै खानेकुरा खान बाध्य पार्ने । यहाँ खानेकुराको प्रशंसा आउँदा त्यहाँको खानेकुराको मूल्य पनि बताउनु उपयुक्त होला । कालो चियालाई रु. ३५/– तिरेर स्वयम् पङ्क्तिकारले पान गरेको छ । त्यस्तै रु. १० पर्ने सोल्टीजस्ता साना पाकेट बिस्कुट माथि त रु. ५०/– मःम रु. २००/– त्यस्तै यस्तै अशोभनीय मूल्य ।

अब तलको सुरु काउन्टरमा टिकट दस्तुर रु. ७०० तिरेपछि कारमा बसिन्छ । कारमा ८ जनाको सिट रहेछ । तल स्टेसनबाट माथि स्टेसन पुग्दा ११ मिनेट लाग्यो । माथि नयाँ बनाइएको एउटा शिवालय मन्दिर । अर्को वरिपरि हेर्ने टावर घर र सानो पार्क रहेछ । त्यसबाहेक अरू केही छैन । अँ ! अर्को रमाइलो कुरा जहाँबाट माथि भनिएअनुसार दृश्य हेर्न सकिने टावर भनिएको हो त्यहाँ चढ्नुभन्दा पहिल्यै खानेकुराको पसल दोकानहरूले घेरेको हुन्छ, केही किनेर खाएपछि मात्र जान पाउने जस्तै गरी बाटो छेकिएको हुन्छ । ती सर्त पूरा गरी माथि पुगेपछि चौरतर्फ हेर्दा कहाँको तिब्बत भ्याली देखिनु ? कहाँ कुलेखानी, कहाँ हेटौँडा ? कतै देखिँदैन । अग्ला–अग्ला डाँडा र काठमाडौं भ्यालीसम्म देखिन्छ । यतिसम्म कि तिब्बत भ्याली हेर्ने दूरबिन (बाइनाकुलर) छ भनिएकोमा काठमाडौं भ्याली हेर्नेसम्मको दूरबिन पनि छैन । काठमाडौंका घर खोलाको बगरजस्तो साना–साना टुक्रा कमसेकम देखिन्छ । एउटा दूरबिनसम्म भएको भए पनि भ्यालीका घर, रोड, मन्दिरहरू त स्पष्ट देखिन्थ्यो । न माथि कुनै ऐतिहासिक कला, संस्कृतिदेखि देवताको मन्दिर नै छन् । केवल काठमाडौं भ्याली हेर्न त स्वयम्भूको डाँडो अथवा कुनै हाउजिङका अग्ला घर, टावरबाट पनि देख्न सकिन्छ, बरु त्यहाँबाट घर–रोड प्रस्ट बुझिन्छ ।

अब पुनः तल फर्कौं । फर्कने समय केबुलकारमा चढ्नेको निमित्त त्यस्तै २ घन्टा पूरा लाइन । मानिसहरू तलबाट धेरै पाइएकाले रातमा अव्यवस्थित लाइनमा पनि बीचबीचमा झगडा हुने । खानेकुरा त्यस्तै महँगो, व्यर्थै गएजस्तो भयो भनी धेरै मानिसको मुखबाट गुनासो सुन्नमा आउँथ्यो ।
अर्को अति डरलाग्दो अवस्था फर्कंदा रातमा कारभित्र अर्थात् टोकरीमा बत्ती रहेनछ । फर्कंदा नौ मिनेट मात्र लाग्ने दूरीको भए पनि अन्धकार हुँदा त्यसबीचमा टोकरीभित्रै केटाहरू र महिलाबीच अनैतिकताको चिच्याहट, होहल्ला हुने गरेको पनि पेसेन्जरमध्येबाट सुन्नमा आयो । अर्को अव्यवस्था भनेको उज्यालोमै जान–आउन सकिने गरी अनुमान गरेर टिकट वितरण गरिएको भए त्यति ठूलो लाइनमा बस्नु र रातमा फर्कनुपर्ने थिएन । त्यसो नगरी रातसम्म टिकट काटेर र मानिस पठाउने अर्को अव्यवस्था कमजेरी नै त हो ।

त्यस्तै केबुलकार गोर्खा मनकामनामा जाने पनि छ । तर, त्यहाँको दूरी यो भन्दा २ खण्ड बढी २५–३० मिनेट लाग्छ । टिकट दस्तुर यसको २ भाग (थोरै) कमी छ । उहाँ ऐतिहासिक मन्दिर छ, बीचमा रमाइलो दृश्यावलोकन गर्न पाइन्छ । त्यहाँ कुन आधारमा त्यति धेरै टिकट दस्तुर राखिएको हो ? त्योअनुसारको सुविधा दृश्यावलोकन गर्ने ठाउँ ऐतिहासिक संरचना खै त ? यो लुटलाई सरकारले ध्यान नदिएकोमा केही माथिल्लो स्तरका नेताहरूकै लगानीमा सञ्चालन भएको त होइन भन्ने प्रश्न पनि यतिबेला चौतर्फी उठिरहेको छ ।
chandragiri