जनता जगाउँदै सीआईजी

जनता जगाउँदै सीआईजी


3333

अर्घाखाँचीको सिमलपानी गाविस–१ मा रहेको करेचुलीबस्तीसम्म राज्यको दृष्टि पुग्ने कहिले हो, चिन्ताको विषय बनेको छ । राज्यले ध्यान नदिएकै कारण करेचुलीवासीहरू कष्टकर जीवन गुजार्न बाध्य छन् । सन्धिखर्क सदरमुकामदेखि करिब एक सय २० किलोमिटर पक्की सडक छिचोरेर र हिउँदमा २५ किलोमिटर कच्ची सडककै यात्राबाट करेचुली पुग्न सकिन्छ । पाल्पा जिल्लाको सत्यावती गाविसअन्तर्गत राजापानी गाउँसँग जोडिएको यस बस्तीमा करिब एक सय ६० घरधुरी रहेका छन् । यस बस्तीमा ६० प्रतिशत जनजाति, ३० प्रतिशत क्षेत्री, ७ प्रतिशत ब्राह्मण र ३ प्रतिशत दलितको बसोबास रहेको अनुमानित आँकडा छ ।

अदुवा, कोदो, अम्रेसो, पिँडालु र सखुवाको भण्डार रहेको एक सुन्दर सामुदायिक वन करेचुलीवासीका लागि आम्दानीको स्रोत मानिए पनि सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकको कञ्चन पुलमाथिदेखि वर्षेनी हिउँद सुरु हुनासाथ श्रमदानमा मोटरबाटो खन्ने गरेका छन् । सामुदायिक वनको सरसफाइ तथा ठेकेदारका लागि मुढा काट्ने र तान्ने काम पनि निःशुल्क तथा झाराप्रथाद्वारा गर्नु उनीहरूको दैनिकीजस्तै छ । सूचनाको हकलाई जिल्लाको विकट बस्तीसम्म पु¥याउने सङ्कल्पका साथ आफ्नो अभियान अघि बढाएको सूचना तथा सुशासन अभियान, सीआईजीले गत शनिबार करेचुलीमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो । सोही अवसरमा प्रहरी मेरो साथी कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेल र जग्गाजमिनबारे विशेष नापी कार्यालयका प्रमुख मोहम्मद साविर हुसेन सीआईजीको अनुरोधमा दुईवटा सेता गाडीसहित करेचुली पुगेका थिए । प्रस्तावित नगरपालिकाभित्र रहेको करेचुलीबस्ती हेर्न सन्धिखर्क नगरपालिकाका सूचना अधिकारी नारायण पोखरेल, जिल्ला प्रहरी कार्यालयका सवइन्स्पेक्टर भरत थापा र विशेष नापी प्रमुख मोहम्मद साविर हुसेन आ–आफना गाडीबाट करेचुलीमा ओर्लना साथ ५०–६० वर्ष उमेर पुगेका स्थानीयले एकै स्वरमा आफ्नो गाउँमा पहिलोपटक सरकारी गाडी आएको बताउँदै हर्षका आँसु बगाएका थिए ।

11111

अन्दाजी एक हजार जनसङ्ख्या रहेको करेचुलीमा पार्वती आधारभूत (निम्नमाध्यमिक) विद्यालयबाहेक राज्यका कुनै पनि कार्यालय रहेका छैनन् । सम्बद्ध पक्षबाट बुझिएअनुसार यहाँका बासिन्दामध्ये जम्मा दश जनाजतिले एसएलसी, पाँचजनाले इन्टर लेभल र दुईजनाले स्नातक उत्तीर्ण गरेका छन् । गाउँबाट निमावि सकेपछि मावि शिक्षाका लागि आफ्नै गाविसको वडा नं. ५ पाव्रा पुग्न पैदल दुई घन्टा, कपिलवस्तुको पिपरा पुग्न पैदल ३ घन्टा र सालझन्डीको झिमझिमे पुग्न पनि पैदल ३ घन्टा एकतर्फी लाग्ने कारण छात्रछात्राहरू पढाइलेखाइभन्दा पनि रोजगारीका लागि भारत तथा खाडीतर्फ आकर्षित बन्ने गरेको स्थानीय शिक्षकले बताए । यसैगरी खानेपानी तथा सिँचाइको समस्या जटिल रहेको करेचुलीबस्तीमा बिजुली पुगेको छैन र मोबाइल फोनले पनि काम गर्दैन । खासगरी नेपाल टेलिकमको सेवा यहाँ पुगेको छैन । यसरी स्वास्थ्य, शिक्षा, सञ्चार, सुरक्षा आदिवाट पिछडिएको करेचुलीवासीका लागि वर्षेनी जिल्ला तथा गाविसबाट बजेट छुट्याइएको भए पनि सर्वसाधारणको जीवनस्तर उकास्ने सवालमा खासै प्रभाव पारेको देखिँदैन । शिक्षाको अभावका कारण आफ्ना हकअधिकारबारे अनभिज्ञ रहेका करेचुलीवासीको उन्नति र विकासका निम्ति राज्यको उपस्थिति अपरिहार्य देखिन्छ ।

प्राकृतिक रूपले सुन्दर भए पनि करेचुलीमा शिक्षाको अभावका कारण घरघरमा मदिरा सेवन गर्ने तथा लापरबाहीपूर्ण तवरले आफ्नै पारामा जीवन बिताएका सर्वसाधारणको बसोबास रहेको देखियो । आफूलाई टाठाबाठा ठान्ने केही व्यक्तिले सिङ्गै गाउँलाई अचेतन अवस्थामै राखेर स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्तिको समेत त्यहाँ अनुभूति गरियो ।

2222

सूचनाको अधिकार, प्रहरी मेरो साथी तथा आफ्नो जमिन–जग्गाबारे खुलेर बहस गरिएको उक्त कार्यक्रममा प्रहरी चौकी सिमलपानीबाहेकका कुनै पनि गाविसका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, चर्चामा रहेका राजनीतिक दलका प्रतिनिधि तथा आफूलाई सामाजिक कार्यकर्ता भन्न रुचाउनेहरूले खबर पाएर पनि उपस्थिति जनाएका थिएनन् । बुझिएअनुसार भर्खरै मात्र आफ्नो नापनक्साका लागि सिमलपानी गाविसलाई विशेष नापी कार्यालयले प्राथमिकतामा राखेसँगै पाव्रा तथा विक्रमलगायतका ऐलानी (सरकारी तथा सार्वजनिक जमिन) कसरी आफ्नो नाममा नापनक्सा गराउने भन्नेतर्फ उनीहरू कसरत गरिरहेका जानकारी मिलेको थियो । सहज वातावरण भए आफू वा आफूमातहत बनाउने र असहज परिस्थिति देखिए स्थानीयलाई उक्साएर नापनक्साको काममा बाधा पु¥याउने रणनीतिमा सिमलपानी गाविसको एक शक्ति लागिपरेको र जिल्लाबाट पनि राजनीतिक दलका केही भ्रष्टहरूको संलग्नता रहेको स्थानीय जनमानसमा गाइँगुइँ सुनिएको परिवेशमा सरकारी तथा सार्वजनिक जमिनको मालिक राज्य हुने कारण कहीँकतै एक इन्च दायाँबायाँ गर्ने सपना त नापी प्रमुख हुसेनको पालामा सम्भव नहोला, तर नापी टोलीलाई अलमलाउने काममा उनीहरूले कुनै कसरत बाँकी नराख्ने सम्भावनाप्रति जिल्लाको सुरक्षालगायत सरोकारवाला निकायले समयमै ध्यान दिनु आवश्यक देखिन्छ ।

सर्वसाधारणको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमका लागि अविरल खनाल, सीता पोखरेल, अमृता बीसी, पूर्णिमा गिरीलगायतको सक्रिय खटनपटन रहेको थियो । सीआईजी सदस्य मेनुका भट्टराईको सञ्चालनमा करेचुली कार्यक्रम सम्पन्न भएपश्चात् सोही दिन भालुवाङ बास बस्न पुगेको सो टिमले भोलिपल्ट जलुके गाविसको लापेमा व्यापक जनसहभागिताका बीच संयुक्त कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रमको अध्यक्षता एकता क्लबका अध्यक्ष लक्ष्मीबहादुर कुमाल र कार्यक्रम सञ्चालन श्रीराम गिरीले गरेका थिए । दुवै कार्यक्रमका प्रमुख अतिथि रहेका विशेष नापीप्रमुख मोहम्मद साविर हुसेन र विशिष्ट अतिथि सन्धिखर्क नगरपालिकाका सूचना अधिकारी नारायण पोखरेलले आमनागरिकलाई जान्न पाउने अधिकार राज्यको कानुनले प्रदान गरेकोले ढुक्कसँग सूचना माग्न र आवश्यक सहयोग चाहिएमा सीआईजीसँग सम्पर्क गर्न आह्वान गरेका थिए । कार्यक्रमका सहभागीलाई सीआईजी अध्यक्ष मुक्तिनाथ भुसालले आरटीआई र जिप्रका अर्घाखाँचीका सई भरत थापाले प्रहरी मेरो साथी कार्यक्रम सम्बन्धमा सहजीकरण गरेका थिए ।

4444

– मुक्तिनाथ भुसाल