– राजाराम श्रेष्ठ, प्रवक्ता, राप्रपा

० गणतन्त्रवादी राप्रपा र राजसंस्था पक्षधर राप्रपा नेपालबीचको सैद्धान्तिक/वैचारिक मिलनबिन्दु के हो ?
– धेरै कुरा मिलिसकेको भएर दुई पार्टी एक भएको हो । हामी गणतन्त्र र राजतन्त्र भन्दैनौँ, संवैधानिक राजसंस्था भन्छौँ । मिल्न बाँकी कुराहरू महाधिवेशनले तय गर्नेछ । नीति, विचार, सिद्धान्त र नेतृत्वबारे देशभरिका पार्टी प्रतिनिधिले निर्णय लिनेछन् । हाम्रो मिलनबिन्दु राष्ट्रिय स्वार्थ नै हो । गणतन्त्र वा राजसंस्थाभन्दा पनि हाम्रो मिलनका वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र, उदारवाद, हिन्दुत्व र आर्थिक समृद्धि हुन् ।
० यी दुई समूहबीचको एकताले देशको राजनीतिमा तात्कालिक र दूरगामी रूपमा कस्तो असर/प्रभाव पार्ने ठान्नुहुन्छ ?
– तत्काल राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव पार्ने देखिन्छ । दुई पार्टी एक हुने समाचार सार्वजनिक हुनेबित्तिकै देशका तमाम राष्ट्रवादी जनतामा उत्साह र जाँगर पैदा गराएको छ । एउटा नयाँ शक्तिको उदय भएको, एउटा भरोसायोग्य परिपक्व राष्ट्रिय शक्ति पैदा भएको जनताले ठानेका छन् । विगतमा राष्ट्रवादी शक्ति कमजोर भएकाले हाम्रो राष्ट्रियता पनि कमजोर अवस्थामा रह्यो । इतिहासमै सर्वाधिक बाह्य हस्तक्षेप खुला रूपमा निर्लज्जतापूर्वक राष्ट्रिय राजनीतिमा प्रवेश ग¥यो । नेपाल र नेपालीको भाग्य र भविष्य नेपाली जनताले निर्धारण गर्ने नभई त्यो अधिकार बाह्य शक्तिमा सुम्पने काम भयो ।
० पूर्वपञ्चहरू सिद्धान्तविहीन हुन्छन्, उनीहरू केवल सत्ता र शक्तिका लागि जोसुकैसँग जस्तासुकै सम्झौता गर्न सक्छन् भन्नेहरूलाई के भन्नुहुन्छ ?
– पूर्वपञ्चहरूको मात्र पार्टी राप्रपा अब रहेन । पञ्चायत देख्दै नदेखेका युवाको बाहुल्य यो पार्टीमा भइसकेको छ । पञ्चहरू निर्दलीय चरित्रबाट हुर्केका कारणले गर्दा त्यस्तो देखिएको हुन सक्छ । तात्कालिक पञ्चहरू सिद्धान्तविहीन थिए भन्न पनि मिल्दैन । पञ्चायतले २९ वर्षमा गरेको काम पञ्चायत ढलेपछिको २७ वर्षमा हुन नसकेको जगजाहेर नै छ । पञ्चजति मात्र इमानदार पनि अहिलेका नेताहरू भइदिएका भए धेरै काम हुन सक्थ्यो ।
० राप्रपाबीचको एकता सत्तासँग भन्दा बढी केहीसँग सम्बन्धित छ भन्ने केही आधार÷प्रमाण दिन सक्नुहुन्छ ?
– दुई पार्टीको एकीकरण सत्तासँग सम्बन्धित छैन । त्यस्तो भइदिएको भए गत साउन २५ गते नै एकीकृत भइसक्ने थियो । यसपटकको एकीकरण सत्ता वा सरकारभन्दा बढी पार्टी एकता र एकताभन्दा बढी देश र जनताको स्वार्थसँग गाँसिएको छ । दिन–प्रतिदिन कमजोर बन्दै गएको हाम्रो राष्ट्रियता, सार्वभौमिकता र आर्थिक अवस्थामा सुधार ल्याउन अब पनि तदारुकता नदेखाउने हो भने पछि हाम्रो काबुभन्दा बाहिर परिस्थिति जान सक्छ ।
० ‘राप्रपा नेपाल’ रहँदा सिद्धान्त र व्यवहारबीच जुन भिन्नता देखिने गरेको थियो, राप्रपा भएपछि यसमा केही परिवर्तन आउन सक्ने विश्वास गर्न मिल्ला ?
– परिवर्तन त निश्चित रूपमा हुन्छ । सिद्धान्त र व्यवहारमा एकरूपता हुनुपर्छ । अहिलेको हाम्रो मूल समस्या भनेकै भनाइ र गराइमा आकाश–जमिनको अन्तर छ । अब जनताले भन्नेलाई होइन गर्नेलाई विश्वास गर्ने बेला आइसक्यो । गर्न नसक्ने कुरा बोल्नुहुँदैन, बोलेको कुरा पु¥याउनुपर्छ । सिद्धान्त र व्यवहारमा एकरूपता ल्याउन नसक्ने शक्ति अब नेपालमा टिक्न सक्दैन । जनताले मात्र गफ गर्ने र काम गर्ने को हुन् भन्ने चिनिसकेका छन् ।
० अब मुलुकमा कम्युनिस्ट र गैरकम्युनिस्ट कित्ताबीचको मोर्चाबन्दी हुन सक्ने सम्भावना देख्नुहुन्छ कि हुन्न ?
– राजनीतिमा धेरै कुराको सम्भावना हुने भएकाले नै राजनीतिलाई सम्भावनाको खेल भनिएको हो । तपाईंले भनेजस्तो सम्भावना छ । सबै प्रकारका मोर्चाबन्दीको पछाडि व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा राष्ट्रको स्वार्थ अभिपे्ररित हुनुपर्छ । यहाँ त आफ्नो व्यक्तिगत स्वार्थका लागि सबै ठूला दलहरूभित्र बहुदल छन् । त्यसप्रकारको मोर्चाबन्दी हुनुपर्छ भन्ने होइन, हुनसक्छ कि भन्ने हो । विचारको विविधता नै प्रजातन्त्रको सुन्दरता हो ।
० राप्रपाको नीतिगत प्राथमिकता, कार्यक्रमगत प्राथमिकता र राजनीतिक प्राथमिकता के हो ? मधेसी मोर्चाले उठाएका मुद्दाहरूप्रति राप्रपाको दृष्टिकोण के हुन्छ ?
– देशलाई एकताबद्ध तुल्याउँदै दिगो शान्ति र स्थिरताको माध्यमबाट मुलुकलाई समेटेर बलियो बनाउने हाम्रो प्राथमिकता हुन्छ । यो संविधानलाई सर्वस्वीकार्य बनाउन सबैको माग सम्बोधन हुन जरुरी छ । अझै पनि मधेसी, जनजाति, अल्पसङ्ख्यक, दलितहरूका कैयन मुद्दा ज्युँकात्युँ छन् । राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने कुनै पनि मुद्दामा हाम्रो सहमति रहँदैन । र, कसैको जायज माग पूरा गराउन हामी कञ्जुस्याइँ गर्दैनौँ र व्यवधान पैदा गर्ने छैनौँ ।
० अन्त्यमा, कमल थापाजीमा एक्लै हिँड्ने बानी लागिसकेको छ, नेताहरूको भीडमा उहाँ टिक्नुहोला ?
– एक्लै मात्र हिँड्न खोजिएको भए पार्टी एकताको आवश्यकता नै थिएन । टिक्ने मात्र होइन पार्टीभित्र कमल थापाजी सम्मानित हैसियतमा रहनुहुनेछ भन्नेमा मैले विश्वस्त तुल्याउनुपर्छ ।
प्रतिक्रिया