खै के हो विकास ?

खै के हो विकास ?


basanta-dhungana

– वसन्त ढुङ्गाना

विकास नै हो रे
आजको आवश्यकता
तर खै अर्थको टुङ्गो
के कस्तो र कहाँ छ ?
वास्तविक विकासको अर्थ यहाँ

खोज्दै हिँडे काठमाडौं सहरमा
प्रदूषणले लिप्त वातावरण पो हो कि
बिग्रेका सडकमा गुडिरहेका
ती महँगा सवारी पो हुन् कि
पसिना चुहाउँदै गाडा ठेल्ने
भरिया दाइको जीवन पो हो कि
केएफसी र पिज्जाहट छिर्ने
सुकिला–मुकिला पहिरन पो हुन् कि
त्यो पल्लापट्टि हात फिँजाएर
जुठोमै रमाउने ती प्राण हुन् कि
खै केलाई भन्नु विकास
म त अलमल्ल परें ।

नयाँ ब्रान्डेड बाइकमा बसी
घन्टौं जाममा फस्नु पो हो कि
देखावटी शैलीमा रम्नकै लागि
प्रविधिको दासी बन्नु पो हो कि
विदेशमा पढी ठूलो भई
स्वदेशको सडकमा पिच्च थुक्नु पो हो कि
मनको सपनालाई कुल्चिएरै पनि
धनको पुजारी बन्नु पो हो कि
सुन्दर गाउँपाखा छाडेर
सहरी जीवनमा भौँतारिनु पो हो कि
खै के चाहिँ हो त
वास्तविक विकास यहाँ ?

देशी समस्यालाई अघि सारेर
विदेशी डलरमा लर्बरिनु पो हो कि
मीठामीठा शब्द थुपारी
देशवासीहरूलाई झुक्याउनु पो हो कि
गाउँका खेत बाँझै छाडेर
भीडभित्र नै घर उमार्नु पो हो कि
अरूको माथि भर परेर
आफ्नो क्षमता मेटाउनु पो हो कि
अर्काको संस्कारको वाहवाही गरेर
आफ्नो अस्तित्व मेटाउनु पो हो कि
खै केलाई भन्नु विकास
म त आफैँ अलमल्ल परेँ ।।

– पोकली, ओखलढुङ्गा