आदरणीय सभापतिज्यू,
नेपालको समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर हजुरसमक्ष केही प्रश्न राख्न गइरहेको छु । मुलुक सबैलाई प्यारो लाग्छ । कुनै पनि देशमा जनता सर्वमान्य हुन्छन्, मुलुक रहे हामी रहन्छौँ । यी वाक्यांश पटक–पटक हजुरकै मुखाराबिन्दबाट पनि सुन्न पाइएको छ । हामीलाई तपाईंप्रति आशा र भरोसा पनि छ । त्यो पनि हजुर नेपालको प्रजातान्त्रिक विचारबाट अघि बढेको बीपीको समाजवादी चिन्तन बोकेको जनताको पार्टी नेपाली काङ्ग्रेसको सभापतिजस्तो गरिमामय पदमा हुनुहुन्छ । वर्तमान नेपाली राजनीति सङ्कटतिर गएकामा केही प्रश्न हजुरसमक्ष राख्दै छु ।
सभापतिज्यू, म दशौँ महाधिवेशनदेखि नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य छु । म काङ्ग्रेस हुनुमा गर्व गर्छु, किन भन्दा काङ्ग्रेस नै देशको परिवर्तनकारी नेतृत्वको महत्वपूर्ण भूमिकामा रह्यो र जनताले पटकपटक काङ्ग्रेसलाई विश्वास गरे अनि सरकारको नेतृत्व पनि सुम्पे । जसमा तपाईं पटकपटक प्रधानमन्त्री बन्नुभयो । देशको नेतृत्वमा रहँदा हजुरबाट केही राम्रा कामहरू भए भने केही सङ्कट निम्त्याउने काम पनि भए । गौरवशाली जनताको पार्टी नेपाली काङ्ग्रेस फुटाउने कर्म पनि तपाईंबाट नभएको होइन । त्यतिखेर सच्चा कार्यकर्ताको मन पीडाले छियाछिया भएको थियो । तैपनि ११औँ महाधिवेशनमा हजुरको घरवापसीले फेरि काङ्ग्रेसजनमा उत्साह छायो । १३औँ महाधिवेशनमा हजुर पार्टी सभापति बन्नुभन्दा हामी कार्यकर्तामा आशा र निराशा दुवैले जन्म लियो । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपालको संविधान २०७२ घोषणा भयो । कम्युनिस्टको गलत नीतिका बाबजुद राष्ट्रलाई निकास दिन नेपाली काङ्ग्रेस निकै लचिलो बनेको देखियो । हिन्दूराष्ट्रबाट देशलाई धर्मनिरपेक्षतातिर उन्मुक्त बनाइयो । सङ्घीयता लादियो, जातीयता र क्षेत्रीयताको आधारमा नेपाली जनतालाई विखण्डन गर्न खोजियो । सभापतिज्यू, के यी विविध राष्ट्रिय जनसरोकारका विषयमा राजनीतिक हस्तक्षेप उचित थियो ?
अहिले मुलुकमा सङ्घीयताको नाउमा प्रदेशहरूमाथि छेडखानी गरिएको छ । गणतन्त्र भन्दै भाँडतन्त्र मच्चाउने काम भएको छ । मधेसी र पहाडीको नाउँमा देशलाई गृहयुद्धको भुमरीमा फसाउने काम भएको छ । सरकार र नेतृत्वबाटै राष्ट्रिय पोशाकको अपमान भैरहेको छ । राष्ट्रिय भाषाको उछित्तो काड्न खोजिँदै छ । यस्तोमा छिमेकीका सामु लम्पसार पर्नु स्वाभिमान र सार्र्वभौमसत्तामाथि नै उपेक्षा दर्शाउनु हो ।
सभापतिज्यु, साँचो अर्थमा देशका मालिक जनता हुन्, तपाईंहरू त जनताको सेवक मात्र हो । जननायक बीपीले भन्नुभएको छ कि देशको नीति र कानून बनाउँदा गाउँमा रहने कृषक, मजदुर र बौद्धिक समाजको विचार महŒवपूर्ण हुन्छ । तर सभापतिज्यु, तपाईंमा अलिकति पनि बीपी–विचार देखिएन । किन तपाईं बीपीकोे विचारभन्दा फरक विचार राख्नुहुन्छ ? आज पाँच नम्बर प्रदेशमा जनता सडकमा छन् । जनता भन्छन्– हामी मिलेर बसेका छौँ चाहे मधेसी होस् या पाहाडी, हामीमा एकता विश्वास र शान्ति छ, हामीलाई आपसमा लडाएर तपाईंहरूले के पाउनुहुन्छ ? यो जनताको आवाज हो । जनताको आवाजलाई लोकतान्त्रिक पद्धतिमा निकै महत्वपूर्ण रूपमा लिने गरिन्छ । सभापतिज्यूले जनता–जनतामा फाटो ल्याउने काममा सरिक हुन त भएन नि † नेपाली जनताको घाँटीमा छुरा हान्ने काम नगर्नुस् । आज पाँच नम्बर प्रदेशको मात्र कुरा होइन, सारा नेपाली जनताको स्वाभिमानको कुरा हो । निरङ्कुश नबन्नुस्, जनताको नेता बन्नुस् ताकि काङ्ग्रेस हौँ भनेर छाती फुलाउन पाइयोस् ।
जय नेपाल !
– योगेन्द्र गौतम, हाल : भारत
प्रतिक्रिया