स्व. भीमबहादुर तामाङलाई सम्झँदा

स्व. भीमबहादुर तामाङलाई सम्झँदा


amardeep-moktan

– अमरदीप मोक्तान

नेपाली राजनीतिमा निष्ठा, इमानदारी र आदर्शप्रति जीवन समर्पित गर्ने महान् योद्धा भीमबहादुर तामाङ हामीबीच नरहनुभएको चार वर्ष बित्यो । आफूलाई सदैव साधारण या औसत दर्जाको नेपाली नागरिक भनी सम्बोधन गर्न रुचाउने महान् व्यक्तित्व भीमबहादुर तामाङको हृदयाघातबाट असामयिक निधन भएको थियो । कुनै पनि राष्ट्रमा महान् शब्दबाट सम्बोधन र परिभाषित हुने विरलै व्यक्तित्व हुन्छन् र महान् शब्दबाट विभूषित हुने व्यक्तिको परिचय, जीवनशैली महान् कार्यप्रति समर्पित र ओतप्रोत भएको हुन्छ भन्ने कुरामा विवाद छैन । स्वर्गीय भीमबहादुर तामाङको जीवनशैली, आचरण, राष्ट्रलाई सबल बनाउने र देख्न चाहने महान् योद्धा थिए ।

भीमबहादुर तामाङको निधन हुनुभन्दा केही वर्षअघि उहाँको आदर्श विचार र जीवनशैली सम्पूर्ण नेपाली जनतासमक्ष आउनुपर्छ भनी उहाँलाई भेटेर राजनीतिक जीवनको उतारचढाव, इतिहासमा उजागर नभएका घटना समेटेर उहाँको जीवनी लेख्ने प्रस्ताव गर्दा उहाँले भन्नुभयो, ‘भैरव रिसाल, राधेश्याम अधिकारी एवम् कनकमणि दीक्षितद्वारा जीवनी लेख्ने प्रस्ताव गरेको हुनाले हालका लागि चाहिँ अमरबाबुको अनुरोध स्वीकार्न नसक्ने अवस्थामा छु ।’ त्यसपछि मैले उहाँसँग त्यसबारे फेरि कुरा कोट्याउने मौका पाउन सकिनँ, उहाँको जीवनकथा लेखिँदै छ कि के भइरहेको छ, थाहा भएन ।

स्व. भीमबहादुर तामाङसँग मेरो परिचय ०४८ को चुनावमा उहाँ मेरो पैतृकस्थल दोलखा, डाँडाखर्क हिलेटोल पुग्नेबेला भएको थियो । ०७ सालको क्रान्तिमा मेरा माहिलाबुबा रिकमान मोक्तानको सहादत, मेरा साहिँलाबुबा स्व. ललितमान डा. के.आई. सिंहसँग नजिक भई कार्य गरेका तथा मेरो बुबा स्व. खड्गबहादुर मोक्तान प्रवास (कलकत्ता) मा रहेर निरङ्कुशताविरुद्ध आवाज उठाउने कार्य गर्नुहुन्थ्यो । सायद त्यही कारणले हुनुपर्छ उहाँले हाम्रो घरमा बास बस्ने इच्छा गर्नुभयो । बास बसेकै रात हामी दुईबीच विभिन्न विषयमा चर्चा–परिचर्चा भयो । उहाँको सादा जीवन उच्च विचारबाट म साह्रै प्रभावित भएँ । त्यो चुनावमा पराजय व्यहोर्नुभए पनि ०५१ को चुनावमा उहाँ विजयी हुनुभई गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उहाँले न्याय तथा कानुनमन्त्रीको जिम्मेवारी पाउनुभयो ।

उहाँसँग भेट हुँदा सधैँजसो ०१५ सालमा पूर्ण बहुमत प्राप्त बीपी कोइराला मन्त्रिमण्डलजस्तो समावेशी मन्त्रिमण्डल अहिलेसम्म नबनेको उल्लेख गर्नुहुन्थ्यो । ०१६ जेठ १३ गते बीपी नेतृत्वमा गठित मन्त्रिमण्डलमा हिमाल, पहाड, तराईको अनौठो संगम थियो । मध्यक्षेत्रबाट गणेशमान सिंह, पश्चिम तराईबाट पर्शुनारायण चौधरी, लिम्बुवान क्षेत्रबाट प्रेमराज आङदम्बे, मध्यपश्चिमबाट मीनबहादुर गुरुङ, जमानसिंह गुरुङ, हिमाली क्षेत्रबाट योगेन्द्रमान शेरचन, खम्बुवान क्षेत्रबाट देवानसिंह राई, पूर्वी तराईबाट सूर्यनाथदास यादवलाई मन्त्री बनाएका थिए । वर्तमान नेताहरू मुखले मात्र समावेशीका कुरा गर्दछन्, हृदयमा असमावेशी चरित्र बोकेकाहरू आज नेपालका ठूला नेता बनेका छन् भनी उहाँ गुनासो गर्नुहुन्थ्यो ।

bhim-bahadur-tamang

माओवादीद्वारा सुरु गरिएको जनयुद्धबारे भीमबहादुर तामाङ भन्नुहुन्थ्यो, ‘माओवादीले सुरुवात गरेको हिंसाको ताण्डवले उनीहरूको लक्ष्य प्राप्ति हुन सक्दैन । सारा विश्वलाई अहिंसाको पाठ सिकाउने गौतम बुद्धको देशमा माओवादीको नीति गलत प्रमाणित हुनेछ । माओवादीले अङ्गीकार गरेको हिंसाको पथ त्यागी प्रायश्चित गर्न एक न एक दिन माओवादी मूलघारमा आउनैपर्छ ।’ स्व. भीमबहादुरको भविष्यवाणी सत्यमा परिणत भएको तथ्य नेपाली जनताको सामु छँदै छ ।

संविधानसभाको चुनावमा उहाँले दोलखा १ नम्बरबाट टिकट प्राप्त गर्नुभयो । चुनाव प्रचारमा कहिले पनि उहाँले आफ्ना लागि भनी भोट माग्नुभएन, माग्नुहुन्थेन । एकपटक मैले उहाँलाई प्रश्न गरँे, ‘भीमबहादुरजी तपाईं आफ्नो भाषण तथा घरदैलो कार्यक्रमका दौरान मलाई भोट दिनुहोस् भन्नुहुन्न, तपाईंलाई मतदाताले किन र केका लागि भोट दिने ?’ उहाँले भन्नुभयो, ‘भोट भनेको जनताको सम्पत्ति हो, हामी नेता भनेको जनताका सेवक हौँ, हामीले सेवा गर्ने हो, हाम्रो सेवाबाट सन्तुष्ट भएर खुसीका साथ प्राप्त भएको भोट जनताको भोट हो, झुट बोलेर, झुक्याएर, मन दुखाएर लिएको भोट जनताको भोट होइन, बरु त्यो त ठाडै डकैती हो ।’ नेताले भोट माग्ने होइन आफ्नो पार्टीले गरेको कार्यनीति, घोषणापत्र जनतासमक्ष राख्ने हो जनतालाई जुन पार्टीको कार्यनीति वा कार्यशैली मनपर्छ जनताले भोटरूपी सम्पत्ति त्यो पार्टीलाई खुसीका साथ दिने हो ।

काङ्ग्रेसको महाकुम्भ बाह्रौँ महाधिवेशनमा काङ्गे्रसको सभापति पदमा एक सामान्य व्यक्तिले पनि उम्मेदवारी दिन सक्छ भनी प्रेरणा प्रदान गर्न उहाँ काङ्गे्रसका भीमकाय प्रत्याशी सुशील कोइराला र शेरबहादुर जस्तासँग भिड्न प्रत्याशी बन्नुभयो । उहाँले सभापनि चुनावमा मात्र ७८ मत प्राप्त गर्नुभयो । ७८ भोट प्राप्त गरी काङ्गे्रसीहरूको दृष्टिमा पराजित भएका भीमबहादुको कद तथा प्रतिष्ठा नेपाली जनतासमक्ष सभापति चुनावमा प्रस्फुटित भएको हो । सुशील कोइरालाले धेरै मत पाएर सभापति चुनाव जिते सुशीलभन्दा थोरै भोट ल्याएर शेरबहादुर दम्भित भए तापनि ७८ शक्तिशाली योद्धाका मत पाएका भीमबहादुर तामाङ हमेसाका लागि नेपाली जनताको हृदयमा जित हासिल गर्न सफल हुनुभयो । सञ्चारमाध्यममा भीमबहादुरको कदअगाडि सुशील, शेरबहादुर प्रतिस्पर्धामा कहीँ पनि देखिएन, सुशीलले त जिते तर काङ्ग्रेसको हार भयो र काङ्ग्रेसको हारको सिलसिला लगातार जारी रहेको नेपाली जनताले स्पष्ट रूपमा अनुभूति गरिरहेका छन् । भीमबहादुरले प्राप्त गरेको ७८ मत काङ्ग्रेस अधिवेशनबाट खारिएका, जुझारु समावेशी सदस्य चयन भएको भन्ने कुराको उपहास भएको थियो । नीति र सिद्धान्तविपरीत दासत्वको बोझमा दबिएका कार्यकर्ताको भीड बनेको छ अहिले काङ्ग्रेस पार्टी । सभापति चुनावमा भीमबहादुर तामाङ रवीन्द्रनाथ ठाकुरको एक कविताजस्तै (यदि तिम्रो आह्वानमा कोही नआए एक्लै हिँड है) सिद्धान्त र निष्ठाको झन्डा एक्लै बोकेर हिँड्नुभयो । सभापति चुनावको युद्धमैदानमा कल, बल, छलबिना निष्ठा र आदर्शको झन्डा उच्च राख्न एक्लै हिँडेका भीमबहादुर तामाङसँग काँधमा काँध मिलाएर सानो प्रयास गरेकोमा आफैँलाई धन्य ठानेको छु ।

बीपीको अवसान र काङ्ग्रेसको नीति तथा सिद्धान्तमा आएको विचलनप्रति हमेसा चिन्ता व्यक्त गर्नुहुन्थ्यो भीमबहादुर तामाङ । कुराकानीको क्रममा उहाँ बीपीले यस्तो काङ्ग्रेसको कल्पना कहिले पनि गर्नुभएको थिएन, बीपीजस्ता आदर्शवादीद्वारा निर्माण गरिएको पार्टी किन पथभ्रष्ट भयो भनी हमेसा दुःख प्रकट गर्नुहुन्थ्यो । स्व. भीमबहादुर तामाङ आदर्शवादी नेता मात्र होइन गुणवान र ज्ञानका भण्डार नै हुनुहुन्थ्यो । विश्वसाहित्य, विश्वइतिहास, विश्वराजनीतिदेखि विश्वकला–सिनेमाजस्ता विषयमा धाराप्रवाह प्रवचन दिन सक्ने सामर्थवान व्यक्तित्व हुनुहुन्थ्यो उहाँ ।

उहाँको निधन भएको वर्ष दशैँताका उहाँलाई कुनै दिन खानाका लागि निमन्त्रणा दिने सोच बनाएको थिएँ । पछि फेरि चाडबाडको बेला उहाँका इष्टमित्रले बोलाउन सक्ने भएकाले आफ्ना परिवारजनसँग भेटघाट गर्ने अवसरमा व्यवधान गर्नुहुँदैन जस्तो लागेपछि निमन्त्रणा गरिनँ । तिहारमा बहिनीको हातको टीका लगाउन झुले जानुहुन्छ भन्ने थाहा भएकाले तिहारमा पनि बोलाइएन । दशैँ–तिहार सकियो, मङ्सिर १२ गते लगभग ९ बजेतिर महाराजगञ्जदेखि मोबाइलमा फोन गरेर उहाँको स्वास्थ्यबारे जानकारी लिएँ । स्वास्थ्य ठीकै छ भनेर जवाफ दिनुभयो र खाना खाने समय निर्धारण गर्नुप¥यो भन्दा उहाँले आफू त्यो साता अलिक व्यस्त रहेको जानकारी दिँदै आगामी साता खबर गर्नु, म निश्चित आउनेछु भन्नुभयो । तर, त्यसपछिको शनिबार नै उहाँको महाप्रस्थानको दुःखद् खबर सुन्नुप¥यो, उहाँसँगै खाना खाने, इतिहास तथा ज्ञानका कुरा सुन्ने र आत्मियतारूपी उपहार प्राप्त गर्ने सान्निध्य सदाका लागि गुम्न पुग्यो । यसलाई आफ्नो जीवनकै सबैभन्दा ठूलो दुर्भाग्य ठानेको छु ।

स्व. भीमबहादुर तामाङको निधनयता धेरै भावानात्मक शब्दको ओइरो लागेको छ । उहाँको जीवनबाट प्रेरणा लिनुपर्ने भाषण प्रशस्तै छाँटिएका छन् । तर भीमबहादुरको आदर्शलाई व्यवहारतः जीवन्त राख्नुपर्नेतर्फ कसैको ध्यान केन्द्रित भएको देखिएन । विश्वका महान् हस्ती महात्मा बुद्ध, जिजस, गान्धी, कार्लमाक्र्स, ओशोको मृत्युपश्चात् नै तिनका महत्व बुझियो, उनीहरूका विचारलाई व्यापकता प्रदान गर्न प्रयत्न गरेको फलस्वरूप आज ती विचार र दर्शन विश्वसामु जीवित छन् । यसर्थ, राष्ट्रको निधिका रूपमा रहेको स्व. भीमबहादुरको आदर्श जीवन, निष्ठा, सरलतालाई व्यापकता प्रदान गर्न राज्यले कन्जुस्याइँ गर्नुहुँदैन । आजको दिशाहीन पथोन्मुख राष्ट्रलाई सही दिशामा ल्याउन तथा सबल राष्ट्र निर्माण गर्नहेतु स्व. भीमबहादुर तामाङको जीवन–कथा भविष्यका कर्णधार युवापिँढीका लागि पनि प्रेरणादायक उदाहरण बन्न सक्छ । यसतर्फ सम्बन्धित पार्टीको मात्र नभई देशकै ध्यान पुगोस् ।