पहिचान सङ्कीर्णताको सन्देश

पहिचान सङ्कीर्णताको सन्देश


Dev Prakash Tripathi 12

– देवप्रकाश त्रिपाठी

राजनीति कसैले आफ्नो पहिचानका लागि गर्ने हो कि देशका निम्ति ? नयाँ नेपाल निर्माणको सन्ध्यामा नेपाली राजनीतिमा प्रकट प्रवृत्तिहरूले समष्टिमा खडा गरेको प्रश्न हो यो । विश्व–राजनीतिको प्रवृत्ति समृद्धि प्राप्तिमा केन्द्रित रहिरहँदा संसारकै सबैभन्दा गरिब मुलुक नेपालमा चाहिँ आफ्नो पहिचानका लागि राजनीति गर्न खोज्नेहरूको बोलवाला बढ्दै गएको छ । सुरक्षा, शान्ति, विकास र समृद्धि खोज्नुपर्ने बेलामा आ–आफ्ना पहिचानका लागि लड्ने–मर्ने जुन स्थिति बनाइँदै छ, यसले नयाँ नेपाल निर्माण यात्रा तय गर्ने नभई पुरानै नेपाल जोगाउन पनि महामुस्किल पर्ने अवस्थाको सिर्जना गरिदिएको छ ।
नेपाल एउटा सार्वभौम, स्वतन्त्र, ऐतिहासिक देश भएको यथार्थ अन्तर्राष्ट्रिय मञ्च तथा निकायहरूमा स्थापित भइसकेको भए पनि विश्व नागरिक तहमा नेपालबारेको जानकारी अपर्याप्त छ । नागरिक तहमा नेपालको पहिचान जनाउन हामीले सहारा लिने गरेको सगरमाथा र लुम्बिनीलाई पनि दुईतिरका छिमेकीले बेलाबखत ‘आफ्नो’ भन्ने दाबी गरिदिँदा हाम्रो पहिचानमा एकप्रकारले सङ्कट पैदा हुने गरेको छ । मानिस जन्मने र मर्ने क्रम नदीको बहावजस्तै निरन्तर चलिरहने हुँदा हरेक नयाँ पुस्ताले हाम्राबारेमा जानकारी पाइरहोस् भन्नका लागि पनि हाम्रो राष्ट्रिय पहिचान दर्शाउने पक्षहरूको प्रदर्शन विश्वमा भइरहन आवश्यक छ । रुस, अमेरिका, चीन, भारत, ब्रिटेन, फ्रान्स, जर्मनीजस्ता मुलुकले आ–आफ्ना विशिष्टता कायम गरिसकेका हुँदा तिनलाई विश्वमञ्चमा पहिचानको किञ्चित सङ्कट छैन । तर, हामी र हाम्राजस्तो मुलुकको हकमा भने पहिचानको प्रयासले निरन्तरता पाइरहन आवश्यक हुन्छ । दुःखको कुरा, भूआकारमा विश्वको २७औँ ठूलो देश नेपाल सबैभन्दा गरिब, मगन्ते, अराजक र सभ्य हुन बाँकी मानिसको देशका रूपमा चिनिँदै छ । यतिखेर संसारमा हाम्रो राष्ट्रिय पहिचानलाई कसरी परिमार्जित र विस्तार गर्ने भन्ने सवाल अहम् बनेको छ । तर, हामी भने देशभित्र आ–आफ्नै पहिचान बनाउन जङ्गली र भद्दा कसरतमा लागेका छौँ ।

मानवीय समाज र व्यवहारलाई व्यवस्थित गर्न विश्वमा सभ्यतासँगै नीतिहरूको तर्जुमा भएको हो । भाषिक नीति, आर्थिक नीति, सुरक्षानीति, शिक्षानीति, सञ्चारनीति र यस्ता अनगिन्ती नीतिलाई समेट्दै यीभन्दा माथि एउटा यस्तो नीतिको परिकल्पना गरियो, जसलाई ‘राजनीति’ भन्ने गरिएको छ । राजनीतिलाई नीतिहरूमा अब्बल र शीर्ष महत्वको मानिनुको कारण पनि यो बहुआयामिक, उदार, लचकदार र व्यापक भएकोले हो । एउटा कुनै जाति, कुनै भाषा, धर्म या क्षेत्रका नाममा राजनीति अल्झिन थाल्यो भने त्यो राजनीति, राजनीति रहँदैन र त्यस्तो राजनीति समाधान होइन समस्या बनेर बल्झिने खतरा रहिरहन्छ । राजनीतिलाई जाति, भाषा, धर्म, क्षेत्र, भेष आदि भन्दा धेरै माथि केवल देशहितमा मात्र केन्द्रित रहने गरी राख्न सकिन्न भने देश बर्बादीको मूल कारण पनि ‘राजनीति’ नै बन्नेछ । राजनीतिमा जाति, धर्म, भाषा र क्षेत्रका कुरा घुसेपछि युगोस्लाभिया, रुवाण्डा, बुरुण्डी, सोभियत सङ्घ, इथियोपिया र नाइजेरियाले कस्तो परिणति भोगेका थिए भन्नेतर्फ हाम्रो ध्यान अविञ्छिन्न रूपमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । राष्ट्रिय पहिचान ओझेलमा पर्ने गरी या सङ्कटमा पर्ने गरी जाति, भाषिक, समुदाय वा क्षेत्रले आफ्नो पहिचान खोज्दा मुलुकभित्र द्वन्द्वको अवस्था पैदा भएका अनेक दृष्टान्त छन् ।

अफ्रिकी मुलुक घाना एउटा त्यस्तो मुलुक हो जहाँ हाम्राले जस्तै आ–आफ्नो पहिचान खोज्दा देशले आफ्नो मौलिक विशेषतासहितको अन्तर्राष्ट्रिय पहिचान गुमाउनुपरेको छ । घानामा करिब सय जाति तथा जनजाति छन् र ती सबैको आ–आफ्नै रीतिस्थिति, भाषा र भेषभूषा छन् । सबैमा यहाँजस्तै कथित चेतना पलायो, सबैले आफ्नो पहिचान नै प्रमुख महत्वको विषय ठान्न थाले । आफ्नो जाति, भाषा, धर्म र क्षेत्रप्रति मात्र गौरव गर्ने प्रवृत्ति बढ्दै जाँदा देश यसरी छुट्यो कि देशको नाममा गौरव गर्नेहरूको सङ्ख्या अत्यन्त न्यून हुन पुग्यो । एक–अर्काप्रतिको द्वेष र प्रतिस्पर्धा बढ्दै जाँदा कसैले कसैका प्रति सम्मानजनक दृष्टिभाव नराख्ने स्थिति बन्यो । राजनीतिमा गैरराजनीतिक विषय हाबी हुँदै जाँदा घानाको आन्तरिक स्थिति यसरी अस्तव्यस्त भयो कि देशको अन्तर्राष्ट्रिय छवि र पहिचान बनाउनेबारे राज्यले ध्यान केन्द्रित गर्नै पाएन । त्यहाँ झन्डै चालीस प्रतिशत नागरिकले बोल्ने र देशका सबै जातजातिले बुझ्ने भाषा हुँदाहुँदै त्यसले राष्ट्रभाषाको दर्जा पाउन सकेन । एउटा जाति या भाषालाई बाँकी सबैले अस्वीकार गर्दा देशको पहिचान जनाउने कुनै पनि भाषा राष्ट्रभाषा बन्न सकेन । अन्ततः अङ्गे्रजीलाई नै सरकारी कामकाजको भाषा बनाइयो जुन भाषासँग घानाका जनताको कुनै नाता–साइनो लाग्दैन र त्यसले घानाको मौलिक छवि पनि अन्तर्राष्ट्रिय मञ्चमा जनाउँदैन । पोसाकको अवस्था पनि भाषाकै झैँ भयो । घानाको पोसाकीय प्रतिनिधित्व ‘सुट’ले गर्छ, जुन उनीहरूको आफ्नो हुँदै होइन । यसरी आफ्नो मौलिक भाषा, भेष र संस्कार हुँदाहुँदै पनि घानाले आफ्नोपनसहितको पहिचान अन्तर्राष्ट्रिय मञ्चहरूमा दर्शाउन पाएको छैन । हुनत अलिक गहिराइमा डुबुल्की मार्ने हो भने यो देश, सीमा, प्रभुसत्ता भन्ने कुरा नै भ्रम हुन् भन्न सकिन्छ । त्यसभन्दा पनि अघि बढ्दा जीवन नै एउटा भ्रम हो भन्न पनि सकिएला र जगत् मिथ्या हो भन्ने दर्शनमा आबद्ध भइदिँदा यी भाषा, भेष, देश आदिप्रति ममता राखिरहनुपर्ने धारणा बन्दैन । तर, भ्रमलाई नै वास्तविकताको एउटा पाटो मान्ने हो भने जगत्का हरेक पक्षसँग बेसरोकार रहन सकिँदैन । भ्रमभित्रको एउटा सत्य समाज हो, देश, भाषा हो, संस्कृति र परम्परा पनि हो ।

नेपाली राजनीतिमा यतिबेला आफ्नो चिन्ता गर्दै जे–जति मानिस सतहमा देखापरेका छन् यिनले नयाँ नेपाल बनाउने कार्यमा कति योगदान दिन सक्लान् सहजै अनुमान गर्न सकिन्छ । जो मानिस आफूभन्दा माथि उठ्नै नसक्ने गरी विकृति र सङ्कीर्ण बनेको छ त्यस्ताहरूबाट देश बन्ने–बनाइने सपना देखिनुहुन्न । आफूभन्दा माथि उठ्न नसक्ने मानिस पति–पत्नी, बाबु–आमा र छोरा–छोरीको त हुन सक्दैन भने त्यस्ताहरूबाट देश बन्ने सपना साँच्नु भनेको बिरालोबाट दूध–रक्षाको आशा राख्नुभन्दा पृथक् हुन सक्दैन, बरु देशको पहिचान जोगाउन तिनको सङ्कीर्ण चिन्तनमा निर्मम प्रहार गर्नु आजको नेपालीको प्रमुख कर्तव्य हुन आएको छ ।

देश पहिचानको तुलना व्यक्ति या समूहको पहिचानसँग हुन सक्दैन । दौरा, सुरुवाल, कोट, टोपी र जुत्ता लगाएर दक्षिण एसियाका कुनै पनि मुलुकमा पुग्दा नेपाली भनेर परिचय दिइरहनुपर्दैन भने धोती, कुर्ता र चप्पल लगाउनेलाई भारतीय भनेर चिनिन पनि थप परिचयको आवश्यकता पर्दैन । देशको पहिचानकै सवाल भएका कारण श्रीलङ्कामा गृष्मकालमा सम्पन्न सार्क सम्मेलनमा भुटानी प्रतिनिधि जाडोमा मात्र लगाउन उपयुक्त हुने बक्खु लगाएर सहभागी हुन पुगेका थिए । राष्ट्रिय समारोह, पर्व र अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रिय पहिचान झल्काउने तत्वहरूको समावेश नहुँदा कता–कता फिक्का र अमर्यादितझैँ हुँदोरहेछ भन्ने यथार्थ विभिन्नस्तरका शपथग्रहण समारोह, विदेश भ्रमण र संविधानसभाको भित्री दृश्यले झल्काएको छ । राष्ट्रिय पोसाकलाई अनिवार्य तुल्याइएको भए त्यसले शपथग्रहणदेखि विदेश भ्रमणसम्मको ओज नै वृद्धि गर्ने थियो भन्न सकिन्छ ।

छिमेकी अभिपे्ररणा र ऊर्जाबाट ह्वात्तै माथि तानिएका कतिपयले आफ्नो पहिचान जोगाउने नाममा धोती, कुर्ता र चप्पललाई कुनै पनि समारोहमा छोड्न सकेनन् । यसबाट उनीहरूको पहिचान स्वदेशी बनेको छ कि हुबहु ‘छिमेकी’को भन्नेबारे बहस गरिरहनुपर्ने स्थिति छैन । राजनीतिमा पहिचान पक्ष गौण र देशहित प्रधान हुन्छ र हुनु पनि पर्छ । तर, संसारमा देशहरूको संरचना कायम रहिन्जेल राष्ट्रिय पहिचान दर्शाउनु जायज र उचित हुन्छ । प्रधानमन्त्रीले शपथग्रहण र विदेश भ्रमणका क्रममा राष्ट्रिय पोसाक लगाउनुभएको भए त्यसले सकारात्मक सन्देश प्रवाहित गर्ने निश्चित थियो । राष्ट्रिय पोसाक पहिरनमा कञ्जुस्याइँ गर्दा नेपाली मनमा ठेस लागेको छ भनी प्रधानमन्त्री प्रचण्डले पनि आत्मसात् गर्नु उचित हुन्छ । राजा, महाराजा र पञ्चहरूले प्रयोग गर्ने गरेकै कारण दौरा, सुरुवालसहितको कोट परित्याग गरिएको हो भने उनीहरूले प्रयोग गरेको ‘दिन र बारको नाम’ पनि किन प्रयोग गर्ने भन्ने प्रश्न उठ्ला र यस्ता प्रश्नको अन्त्यहीन सिलसिला सुरु हुनसक्छ ।

आफ्नो पहिचान जोगाउने नाममा राउटे या चेपाङलाई जङ्गलमा कन्दमूलकै भरमा बाँच्न विवश गराउने हो भने त्योभन्दा अमानवीय, असभ्य, प्रतिगामी र विकासविरोधी सोच सायदै अर्को हुनसक्ला । आफ्नो पहिचान पनि जोगाउनु उचित हुन्छ र कतिपय अवस्थामा पहिचानको आवश्यकता र अर्थ पनि रहन्छ, तर हामी मानिस आफ्नो पहिचान जोगाउने कुरैमा मात्र सीमित हुन खोजेका भए आज हामी रूखका बोक्रामा बेरिएर जङ्गलमा पटपटी फुटेका गोडा र धनुषवाँणसहित घुमन्ते जीवन बिताइरहेका हुने थियौँ । कथित पहिचानका नाममा मुलुकभित्र कतिपय व्यक्ति या व्यक्तिहरूको झुण्डविशेषले आफ्नै जातीय एवम् क्षेत्रीय सङ्कीर्णतालाई राजनीतिमा जसरी घोल्ने प्रयास गरेका छन् त्यसले मुलुकमा आपसी सद्भाव बढाएको छैन, बरु उनीहरूप्रति नै वितृष्णा बढाएको छ ।

खलिल जिवान, मिर्जा गालिव विश्वमा परिचित छन्, उनीहरू कुनै भेषभूषा या भाषा र धर्मका कारणले चिनिएका होइनन्, न ग्यालिलियो र जिनज्याक रुसो नै त्यसरी स्थापित भएका हुन् । माक्र्स यहुदी हुन् भन्ने सबैलाई थाहा छ, तर उनी संसारमा चिनिएकाचाहिँ यहुदी भनिएर होइन । उनी यहुदी मात्र भनेर अहिलेका परमानन्दहरूले झैँ चिनिन चाहेका भए माक्र्स भन्ने कुनै मानिस जन्मिएको कुराको हेक्का संसारमा आज कसैलाई किमार्थ हुने थिएन र त्यो पहिचानको मूल्य र अर्थ पनि हुने थिएन । कन्फ्युसियस शताब्दीयौँदेखि ‘जीवित’ छन्, तर उनको पहिचान, भेषभूषा या भाषागत आधारमा बनेको होइन । नेपोलियन, दाँते, देकार्त, हिगल, कान्ट, न्युटन, माओ, लेनिन, होचिमिन्ह, नेहरू, गान्धी लिक्वानयु, देङ सियाओ पिङ, टिटो आदि जो–जसले विश्वमा आफ्नो पहिचान स्थापित गरेका छन् मानिसले यी कसैलाई पनि तिनका आफ्नो भेषभूषा या जातका कारण स्मरण गरेका होइनन् ।

राजनीति आफैँमा देश र विश्वको चिन्ता र चिन्तन गर्ने साधन हो । यो सङ्कुचित हुँदै जाँदा अनगिन्ती समस्याको ओइरो लाग्न थाल्छ । जात, भाषा, धर्म, क्षेत्र, भेषभूषाभन्दा माथिको राजनीतिक चिन्तन राख्न नसक्ने व्यक्ति कहिल्यै राजनीतिकर्मी या राजनीतिज्ञ हुन सक्दैन । राजनीतिक महत्वाकाङ्क्षा भएका तर आफूमा अब्बल दर्जाको कुनै प्रतिभा, क्षमता र सीप नभएका मानिसले मात्र आफ्नो महत्वाकाङ्क्षा परिपूर्तिका लागि सजिलो साधन अर्थात् जात, भाषा, क्षेत्र, धर्म, भेष आदि सम्प्रदायविशेषको सहारा लिन्छन् । एउटा सुयोग्य राजनीतिकर्मी सम्प्रदाय जनिने कुनै पनि पक्षप्रति निस्पृह र निरपेक्ष रहन्छन् । एउटा भनाइ छ– जसको बारम्बार उल्लेख हुँदै आएको पनि हो । जस्तो कि एउटा मानिस जसलाई ब्रह्माण्डको चिन्ता हुन्छ उसलाई पृथ्वीको चिन्ता हुँदैन । जसलाई पृथ्वीकै चिन्ता हुन्छ उसलाई देशको चिन्ता हुँदैन र जसलाई देशको चिन्ता हुन्छ उसलाई जिल्ला वा जातिविशेषको चिन्ता हुँदैन । जो मानिसलाई जिल्लाको चिन्ता हुन्छ उसलाई गाउँको चिन्ता हुँदैन, अनि जसलाई गाउँकै चिन्ता हुन्छ तिनलाई परिवारको चिन्ता रहँदैन । जो परिवारका बारेमा चिन्तित रहन्छ उसलाई आफ्नो चिन्ता हुँदैन, तर जसलाई आफ्नो चिन्ता हुन्छ उसलाई अरू कसैको पनि र केही पनि चिन्ता हुँदैन । यो मनोविज्ञानले प्रमाणित गरेको सत्य हो ।

यस आधारमा भन्नुपर्दा नेपाली राजनीतिमा यतिबेला आफ्नो चिन्ता गर्दै जे–जति मानिस सतहमा देखापरेका छन् यिनले नयाँ नेपाल बनाउने कार्यमा कति योगदान दिन सक्लान् सहजै अनुमान गर्न सकिन्छ । जो मानिस आफूभन्दा माथि उठ्नै नसक्ने गरी विकृति र सङ्कीर्ण बनेको छ त्यस्ताहरूबाट देश बन्ने–बनाइने सपना देखिनुहुन्न । आफूभन्दा माथि उठ्न नसक्ने मानिस पति–पत्नी, बाबु–आमा र छोरा–छोरीको त हुन सक्दैन भने त्यस्ताहरूबाट देश बन्ने सपना साँच्नु भनेको बिरालोबाट दूध–रक्षाको आशा राख्नुभन्दा पृथक् हुन सक्दैन, बरु देशको पहिचान जोगाउन तिनको सङ्कीर्ण चिन्तनमा निर्मम प्रहार गर्नु आजको नेपालीको प्रमुख कर्तव्य हुन आएको छ ।

(११ भदौ ०६५ मा घटना र विचार साप्ताहिकमा प्रकाशित)