पत्नी (महिला)पीडितलाई राहत

पत्नी (महिला)पीडितलाई राहत


kapildev-thapa-2

– कपिलदेव थापा

पत्नीका कारण पति र पत्नीबीच सम्बन्धविच्छेद भए पत्नीले अंश दाबी गर्न नमिल्ने प्रावधानसहितको नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको खबरले समाजमा उकुसमुकुस बनेर रहेका पत्नीपीडित पुरुषमा आशा र खुसीको सञ्चार भएको छ । संसद्को विधान समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकको देवानी संहितामा उल्लेख भएअनुसार पत्नीले आफ्नै इच्छाले अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गर्दा ‘पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको’ प्रमाण नपुगेमा सम्बन्धित महिलाले अंश दाबी गर्न मिल्ने छैन ।

सम्बन्धविच्छेद गर्न चाहने महिलाको हकमा अदालतबाट प्रक्रिया सुरु हुने व्यवस्था छ । प्रस्तावित विधेयक पारित भएमा पुरुषले पनि जिल्ला अदालतबाट प्रक्रिया सुरु गर्न सक्नेछन् । अहिले पुरुषले सम्बन्धविच्छेदका लागि गाविसबाट प्रक्रिया सुरु गर्नुपर्ने नियम छ । यस्तै, सम्बन्धविच्छेदमा पतिपत्नी दुवैले चाहेको अवस्थामा तत्काल प्रक्रिया सुरु हुने पनि नयाँ कानुनमा व्यवस्था गरिएको छ । दुईमध्ये एकको मात्र इच्छा भएमा सहमतिका लागि एक वर्ष अदालतले ‘कुलिङ पिरियड’को समय दिनेछ । एक वर्षसम्म पनि मिल्न नसकेको अवस्थामा भने अदालतले सम्बन्धविच्छेद गराइदिनुपर्नेछ ।

आफ्नो जवानी वा यौनऊर्जाको बलबुता प्रयोग गरी धूत्र्याइँ गर्दै एकपछि अर्को पुरुषसँग देखावटी (नाम मात्रको) बिहे गर्दै हिँड्ने, त्यसमाथि बाहिर गोप्य केटासमेत राख्न पछि नपर्ने र सबैतिरबाट सम्पत्ति हत्याउने, जहाँ गयो त्यहीँ नाबालक सन्तानलाई नयाँ–नयाँ पुरुष देखाउँदै ‘तिम्रो बाबा उहाँ नै हो’ भनी चिनाउने, अनि बिनाबाउको नाम मैले यी–यी नागरिकता बनाइदिएँ, म त नेपालको त्यस्ती महिला हुँ जसलाई बच्चा जन्माउन न लोग्ने चाहिन्छ न त सन्तानको नागरिकता बनाइदिन कुनै बाउ नै अघिसार्नुपर्छ भन्दै सोझासाधा पुरुष ठग्न पल्केका, कृत्रिम मायाको दलदलमा पुरुषलाई फसाएर सम्पत्ति बटुल्ने चरित्र भएका महिला हाम्रो समाजमा देखिन्छन् । माथिको नियम यस्ता धूर्त महिलालाई निरुत्साहित या ठीक पार्नका लागि ल्याएको ठान्दै पङ्क्तिकार यस प्रस्तावको स्वागत गर्दछ ।

हाम्रो पवित्र भूमि नेपालमा हाल त्यस्ता चरित्र बोकेका महिला न्यून नै होलान्, तथापि थोरै महिलाले पनि चाहेमा धेरै पुरूषलाई दुःख दिन सक्दारहेछन्, दिएका उदाहरण भेटिन्छन् । महिलामाथि पुरुषले ज्यादती वा हिंसा गर्ने गरेका सन्दर्भ प्रशस्तै होलान्, तर एक पुरुषले एक महिलामाथि शोषण गरेको समाचार आउँदा एउटै महिलाले दशौँ पुरुषलाई एकसाथ हैरान तुल्याएको घटना देख्न–सुन्न पाइन्छ ।

छिट्टै उच्च तहमा पुग्ने र मोजमज्जाको जीवन बिताउने विकृत सोचले केही महिलाले त्यस्तो गरे पनि पछि गएर त्यस्ता पात्र अवश्य पछुताउँछन् होला ! यहाँनेर यो औँल्याउनु पनि सान्दर्भिक होला कि नयाँ विधेयक पारित भयो भने त्यसको दुरुपयोग गरी कतिपय धूर्त पुरुषले गाउँघरका सीधासोझा महिला दिदी–बहिनीलाई दुःख पनि दिने हुन् कि ? यदि कानुनको गलत प्रयोग गरेमा !

तसर्थ आशा छ, नेपाल सरकारको सोच र प्रस्तावित नयाँ कानुनको मर्मअनुसार हरपुरुषले आफ्नी धर्मपत्नी (जीवनसङ्गिनी)लाई नाताउचित मायाप्रेम प्रदान गर्नेछन्, एकै रथका हामी दुई पाङ्ग्रा हौँ भन्ने सोचका साथ जीवन अगाडि बढाउनेछन् । प्रस्तावित नयाँ कानुनको स्वागत गरौँ, धर्म, संस्कृति र संस्कारलाई बचाऔँ !