(कथा) म र निर्जा -प्रदीप कन्दङ्वा

(कथा) म र निर्जा -प्रदीप कन्दङ्वा


उनी सदाझैं त्यसदिन पनि इमिली चपाउँदै उताबाट आईन्, आएर उसैगरी एकनजर मतिर फ्याँकिन् । उसैगरी मुस्कुराईन् र उसैगरी आफ्नो बाटो लागिन् । तर त्यसदिन उनले एउटा नयाँ चाल चलिन् । त्यो चाल के थियो त्यो यहाँ भनिरहन आवश्यक देखिएन, जसले बाघलाई खोरमा थुनेरै छाड्यो । अन्ततः हामी सगैं मर्ने बाँच्ने कसम खाँदै प्रणय सूत्रमा आबद्ध भयौं । जीवन रमाइलो थियो । दिनहरु प्रेममय भएर बितिरहेका थिए । एक अर्कालाई अनन्य माया गर्थ्यौं हामी । प्रेमको अजस्र स्रोत बनेको थियो हाम्रा निस्वार्थ भावना । एकदिन यस्तो आयो, उनी भन्न लागिन्, माया मात्रै संसारमा केही चीज होइन रहेछ । एकाएक मनमा एउटा नजानिदो शंका टुसायो, साथै मनमा एउटा प्रश्न उम्रिएर आखाँमा अड्किरहेको हुँदो हो, उनले त्यो बुझिन होला । माया मात्रै संसारमा केही चीज नभए अरु के होला त – प्रश्न यस्तो थियो । उनको त्यो भनाइले यस्तो निरन्तरता पायो, मान्छे दिन रात केही नभनेर पैसा कमाउन लागेका छन् । सुख वैभव विलासिता मोजमस्ती मान्छेको जीवनमा कति आवशयक होला, यो बुझाउन दुःखको अनुभव पर्याप्त हुँदो रहेछ । सम्झौताको आडमा कति बाँच्न सकिन्छ – त्यो भनेर उनी कही क्षण टोलाएकी थिईन् अथवा उनी झयालबाट बाहिरको दृश्य हेरिरहेकी थिईन् । यसरी कि मानौ उनको आँखाअगाडि सदा नाच्ने सपना त्यही घर हो जुन अहिले उनी देखिरहेकी थिईन् । त्यो दृश्यमा घर मात्र थिएन, सगंै त्यसको भव्यता त्यो घरको ताज बनेर रहेको थियो । त्यसदिनदेखि उनमा एउटा नयाँ बानी परेको देखियो, मेरो नजरमा । उनी संधै उसैगरी झयालबाट बाहिर हेर्थिन्, त्यससमय उनको अनुहारमा सपानाका रगींन छालहरु उर्लिरहको भान हुन्थ्यो । पलभरमा उनी पुनः निस्तज देखिन्थिईन् । त्यो क्रम धेरै समय चलिरहन पाएन, त्यसले एउटा नयाँ खुड्किला पार गर्‍यो । त्यो थियो, त्यस घरमा एउटा नवयवकको उपस्थिति, सायद बिदेशतिर मूद्रा आर्जन गर्न गएको हुँदो हो, सो ग्रहण गरेर र्फकेको हुनुपर्दछ, उसलाई हेरेर सबैलाई यस्तै लाग्दछ ।

युवक स्मार्ट थियो, हेर्दा हट्टाकट्टा बलिष्ठ हात पाखुरा भएको, अग्लो कदको । बाल्यकालमा पौष्टिक आहारको पूर्ण सेवन गरेको हुनुपर्दछ यसले । कसै युवतीले देखिहाले एकपटक आफ्नो सुहागरातको कल्पना नगर्राई नछाड्ने किसिमको थियो त्यो युवक । हो त्यो त्यही दिन थियो जुन दिन उनी घुमि-घुमी नाचेकिथिईन् । कस्तरी भने, उनी नाच्दैनाच्दै भान्छामा प्रवेष गरिन् । त्यसरी नै नाच्दैनाच्दै बाथरुममा गईन्, पुनः फर्केर कोठामा आईन् र फन्फनी घुमेर ताली पड्काउन थालिन् । यसो गर्दा उनी भनिरहेकी थिईन्-हा ! क्या मीठो सपना !

म आश्चार्यले चकित-चकितझैं मेरा आखाँहरु आकाशतर्फ उचालिरहेका थिए । यसरी उनलाई हरेक मौसम राम्रो लाग्न थालेको थियो । जस्तै, कुनै दिन कुहिरोले सम्पूर्ण शहर ढाकेको बेला झयालबाट बाहिर हेरेर उनी भन्ने गर्थिन्- आहा ! कस्तो राम्रो मौसम ! सारा शहर दूधमय भएको छ ।

अथवा, कुनै दिन बेस्कन पानी परेको मौसम थियो भने उसैगरी बाहिर हेरेर उनी भन्ने गर्थिन्- पानी परेको दृश्य झयालबाट हेरिरहन खूब रमाइलो हुन्छ ।

यस्तै मौसमहरुलाई बिभिन्न उपमा दिंदै उनी बाहिर हेरिरहने किसिमकी भएकिथिईन् । समग्रमा आफ्नो कोठाभित्र जति आकारहरु छन् त्योभन्दा बेशी उनी बाहिरका आकारहरु अवलोकन गर्थिन् । एकदिन उनलाई मौसमले साथ दिएन अथवा मौसम कुनै उपमा दिन लायकको रहेनछ त्यसदिन, उनले भनिन्- झयालबाट बाहिर हेर्दै गीत गुनगुनाइरहन कस्तो रमाइलो हुन्छ ।

तत्काल उनी मुखमा एउटा गीत टाँस्न पुगेकिथिइन् । एकदिन अनायास उनले माइत जाने घोषणा गरिन् । अनुमतिको दरकार ठानिनहोलीन्, जान्छु भनिन्, गई दिईन् । कहिले आउने केही भनिनन् । एक हप्तापश्चात् खबर आयो, बहिनीको बिहे छ, उनी अझै केही दिन माइतै बस्छिन् रे । यसरी दुर्इ हप्तापश्चात् उनी घर भनौं या कोठा भित्रिएकिथिईन् । भित्रिँदा उनी मात्र होइन, दुर्इ चार आश्चर्यहरु पनि भित्रिएका थिए । जस्तै उनी शिरदेखि पाउसम्म गहनाले झकिझकाउ भएकिथिईन् । वस्त्रादिको कुरै छाडौं, शरीरमा पुराना कुनै पनि बस्तुको पत्तासाफ गरिदिएकी थिईन् उनले । तिनको मुहार धपक्क बलेको थियो । पाउमा पाउजुको छमछमाहटसँगै आखाँमा खुशी अड्न नसकेर फर्‍याकफुरुक गर्दै नाचिरहेको भान हुन्थ्यो । अझ आश्चर्यको कुरा त के थियो भने उनले बहुत मिहेनतसाथ सिउँदोमा सिन्दूर रोपेकिथिईन् । जसले मलाई आफ्नो बिहेपछिका केही दिनहरुको सम्झना दिलाइदिएको थियो, उनी यसैगरी सिउँदो काढ्थिईन् अनि यसैगरी सिन्दर रोप्थिईन् र भन्थिन्- यो सिन्दूरले पतिको अभावमा उसको उपस्थितिको आभास दिलाउँछ । त्यसपश्चात यस्ता दृश्यहरु कमै देख्न पाइयो । तर आज अचानक यस्तो दृश्य देख्दा म सपना र बिपनाबीचको दोधारे पल काटिरहको थिएं ।

यता उनको झयालबाहिर हेर्ने क्रम पूनः शुरु भयो । तर त्यो दृश्यमा एउटा नयाँ बिशेषता थपिएको थियो । त्यो थियो, उही युवक । उसले पहिला पहिला पनि यता नहेरेको भने होइन तर ऊ त्यो बेला काक्ताली परेझैं मिलाएर हेर्थ्यो र आजकल ऊ अधिकार-सम्पन्न आखाँले यतापटि्ट हेर्न थालेको छ । कसरी भने, ऊ बिहान उठेर सरासर बरण्डामा आउँथ्यो र मेरो कोठाको झयाल नखुलुन्जेल हेरिरहन्थ्यो, जब झयाल खुल्छ ऊ खुशीले नाच्न थाल्थ्यो, मानौं, एउटा आधुनिक बालक रिमोट कन्ट्रोल कार पाएर खुशीले चार पाउ फालेर नाच्दछ । यो क्रमले यता निकै सघन रुप धारण गरको हँदो हो तर मैले मेरी श्रीमतीको झयाल बाहिरको विभिन्न मौसमी विशेषता हेर्ने तीब्र लगावमा लगाम लगाउन सकिरहेको थिर्इँन । यस्तैमा उनी एकदिन घरबाट बेखबर भर्इ दिईन् । घरमा उनको सबै चीज यथावत् थिए । केवल उनीसँगैं भित्रिएका आश्चार्यहरु मात्र उनीसँगैं बेखबर भएका थिए । सबैतिर खोजी भयो । माइतमा, आफन्तकोमा, साथीकोमा, अथवा खोज्नलाई कुनै ठाउँ बाँकी राखिएन तर उनी फेला परिनन् । मलाई एउटा चिन्ताले भन्दा आश्चार्यले खर्लप्पै निलिरहेको थियो, त्यो के भने, उनको माइतीपटि्टबाट उनलाई खोज्न खासै तदारुकता देखाइरहेका थिएनन् । त्यति मात्र होइन, छोरी हराएकोमा खासै चिन्तासमेत व्यक्त गरेका थिएनन्, जस्तो, छोरी उनीहरुको हराएकै होइन । त्यसपछि मैले उनलाई खोज्न आकाश-जमीन एक गरिदिएँ । एक महिनापश्चात एउटा खबर यस्तो आयो, उनलाई कसैले दार्जीलिँगमा देखेको थियो । देख्नेले के-के देख्यो, त्यो देख्नलेे जान्दछ तर खबर ल्याउनेले त्यो मात्र ल्यायो, कसको के लाग्छ ! मलाई यो सुनेर अचम्भ लागेन भन्दा अलिक नमिल्ला, यस्तो भन्न सकिन्छ, यो घटना कतिबेला मनमा स्वभाविक बनिसकेछ, पत्तै भएन । त्यसपछि दिन मेरा कसरी बितिरहका थिए, यो कुरा यहाँ महत्वपूर्ण ठानिएन, महत्वपूर्ण कुरा अर्कै छ ।

सधैंझैँ उही दिन थियो, दिनको उही रँग थियो । रँगमा उही अभिलाशा थियो, कसरी हुन्छ, यो जगतलाई अँध्यारोभित्र लकाइदिने अनि उही पुनरावृति म र मेरा आँशुका अभीष्टहरु ! मेरा दिन भनौँ या रातचर्याको कल्पना गरेर यसरी म समय काटिरहेको थिएं । सामुन्नेको दृश्यमा केही परिवर्तनको आभास भयो । अथवा, भनौं, त्यो घरमा । घर त उही थियो । युवक पनि । तर किन किन यस्तो लाग्थ्यो, जस्तो, त्यो घर धेरै दिनपश्चात् आज ब्यूँझिएको थियो । ब्युँझिएको मात्र थिएन त्यतिकै फुरुक्क पनि परेको थियो । घरको सभ्रान्त सजावट र मान्छेहरुको हतारो हेर्दा लाग्दथ्यो भोजको आयोजना भइरहेको छ । भोज केको लागि, घरको सजावटले यस्को जवाफ दिने कुरा भएन । अरु कुनै तुल सुल, ध्वजा या ब्यानर पनि कतै झुन्डिएको, लेखिएको पनि देखिएन । तर जति जति दिन बगिरहेको थियो त्यतिनै त्यो घर रन्किएको थियो । मादक यति बनेको थियो कि मान्छे नपिई मदहोस् बन्न सक्थ्यो । साँझ पर्दा त्यो घर नशामा चुर्लुम्म डुबिसकेको थियो ।

म त्यो अभिशप्त साँझमा आँशु बिरोलेर नशा पिउँदै चूर-चूर बनिरहेकोथिएं। भोलिपल्ट बिहान निन्द्रा खुल्यो । निन्द्रा यस मानेमा खुल्यो कि म बिहान बिस्ताराबाट उठेर झयालको पर्दा हटाएर यसै बसिरहेको थिएं । कारण जीवित रहनुको आभास आफैमा गुम्ने भय थियो, त्यसैले । अन्यथा सुतेको भन्न मिल्दैन तर यो प्रमाणित गर्ने कसरी ? कारण आखाँ त बन्दै थियो । यसरी म झयालबाट बाहिरको दृश्य हेरिरहेको थिर्इँन तर देखिरहेकोथिएं । दृश्यमा के हुन सक्छ ? उही घर, घरको रवाफ, त्यो युवक र भोजको गन्ध । बिहानको समय वातावरण शान्त र सौम्य थियो । घामको स्निग्ध तापले सारा शहर बैँशालु बनिरहेको हुँदो हो त्यो बेला । त्यो घरको बरण्डामा उही युवक मेरो कोठापटि्ट पिठ्युँ फर्काएर अखबार पढ्नमा तल्लीन थियो । अचम्भको जन्तु रहेछ । पहिला-पहिला जब मेरो कोठाको झयाल खुल्छ तब उ खुशीले उन्मुक्त हुन्थ्यो । मानौं, त्यो मेरो घरको झयाल होइन स्वर्गको ढोका हो । जो उसको निम्ति खुलेको छ । तर आज यो के…..? यता हेरेको सम्म छैन । हेर्नुको के कुरा, हेर्नु पाप हो, यसरी बसिरहेको छ । चाहेर नचाहेर या निरुद्देश्य म त्यही दृश्यमा अलमलिरहेको थिएं ।

रँगमञ्चमा हठात् एक महिला पात्रको आगमन भयो । आगमन कस्तो भने जस्तो पछाडिबाट कुकुरको अप्रत्यासित आक्रमण भएको होस् । अथवा उनी केही समयदेखि त्यो रँगमञ्चमा प्रवेष गर्न खोजिरहेकी थिईन् तर केहीले छेकिरहेको थियो । जस्तो केही सँकोच, केही त्रास, अथवा केही बचेखुचेका लाज । अन्ततः उनी प्रवेष गरेरै छाडिन् । अतः स्वभाविक छ, जहाँ महिलाको पाउ पर्‍यो वातावरण पाउजुमय बन्यो । अथवा दृश्य रोमान्टिक बन्न गएको थियो । रँगमञ्चमा नायकको प्रवेष भइसकेको हँदा ती महिला पात्रले आफ्नो मुहार नायकको छातीमा लुकाइदिईन् र केही राहत महशुस गरिन् । सोच्दी हुन्, पुरुषको अगाँलोमा लुकेर महिला जस्तो सुकै जघन्य अपराध गर्न सक्छे ।

ती महिलाको महिलाशुलभ गन्धको अपार आक्रमणबाट मर्माहत भएर नायकले तिनलाई आफूबाट सुस्तरी अलग्याइदियो । आफ्नो दुर्इ हत्केला लगेर तिनको गालामा राखिदियो । र तिनको मुहार आफूतर्फ उचाल्यो र क्रमशः उचालिरहयो । हो, त्यहीबेला ती महिला पात्रको स्पष्ट मुखाकृति रँगमञ्चमा देखिएको थियो । यो देखेर अचानक मेरो मुखबाट एउटा शब्द निक्लियो, थाहै नपाई बन्दुकको गोली जस्तो । नाटक ! नाटक ! नाटक !

यतिबेला त्यो सम्पूर्ण दृश्य घुम्न थाल्यो, त्यो घर, त्यो रँगमञ्च, ती पात्रहरु, सबै-सबै फनफनी रोटेपिँग घुमे जस्तो घुम्न थाले । मैले आखाँ बन्द गरेँ । जतिबेला आखाँ खुल्यो म आफ्नै बिस्तरामा पल्टिरहेको थिएं । अद्यापि दृश्य फनफनी घुमिरहेको थियो । सोँचे, अघिको दृश्य सब आँखाअगाडि आयो । त्यो नाटक रहेनछ, त्यसैले म ढलेको थिएं ।

अब यो भनिरहनु नपर्ला, त्यो रँगमञ्चमा अभिनय गर्ने महिला पात्रको थिइन् भनेर । इमिली चपाउँदै, जिब्रो पड्काउने, सँगसँगैं मर्ने बाँच्ने कसम खाने, झयालबाट बाहिरको बिभिन्न मौसमी बिशेषता हेरिरहन मन पराउने उही मेरी प्रिय पत्नी निर्जा, आज एकमहिना पश्चात् मेरो आखाँमा यसरी उपस्थित भएकी थिइन् ।