२५ प्रतिशत नागरिकमा मानसिक समस्या

२५ प्रतिशत नागरिकमा मानसिक समस्या


मानसिक समस्यालाई गम्भीर रूपमा लिन मनोचिकित्सकहरूले सुझाएका छन् । विश्वमा हरेक चारमध्ये एकजनामा यो समस्या भएको विज्ञहरूको कथन छ । जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देही .र युनाइटेड मिसन टु नेपालको सहयोगमा रूपन्देहीको सुनगाभा सामुदायिक विकास केन्द्रले मणिग्राममा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मनोचिकित्सकहरूले सामान्य लक्षणले नै जटिल मानसिक समस्यामा पु¥याउन सक्ने खुलासा गरे । उनीहरूले ५० मध्ये ३० महिला र २० पुरुषमा यो समस्या हुने गरेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुङ्गानाले नेपालका २५ प्रतिशत नागरिकमा मानसिक समस्या रहेको भन्दै उनीहरूलाई चिकित्सकसम्म पु¥याउन चुनौती भएको गुनासो गरे । नेपालमा यससम्बन्धी मूलतः ८६ जना चिकित्सक रहेको पनि उनले बताए । उनका अनुसार यस हिसाबमा मनोचिकित्सकको पनि नेपालमा अभाव छ ।

डा. मनोजका अनुसार सरकारले कानुन बनाए पनि तीनपटकसम्म अनुमोदन गराउन नसक्दा नीतिको अभावमा झन् समस्या भएको बताए । उनले वैदेशिक रोजगारीमा जाने परिवारमा सबैभन्दा बढी मानसिक समस्या भेटिएको जानकारी दिँदै नियमित औषधि सेवनबाट समस्या समाधान हुने बताए । औषधिभन्दा बढी जनचेतनाबाट यो समस्या प्रभावकारी किसिमले ठीक हुने डा. ढुङ्गानाको सुझाव छ ।

कार्यक्रममा डा. विक्रम काफ्लेले मानसिक समस्याबारे विद्यालय तहमै पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिए भने साइकोलोजिस्ट यशोदा बगालेले बालबालिकालाई सानै उमेरदेखि हरेक परिस्थितिबारे मानसिक रूपमा तयार पार्नुपर्ने सुझाव दिइन् । उनीहरूको असीमित इच्छा, चाहना या मागलाई पूरा गर्दै जाँदा पछि दुर्घटनाको अवस्था आउन सक्ने भएकोले सानै उमेरदेखि उनीहरूलाई मानसिक रूपमा तयार पार्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा मन्तव्य दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीले मानसिक समस्याको उपचारमा प्रभावकारी काम हुन नसकेको स्वीकार गरे ।

– चन्द्रकान्त खनाल