लम्पसारवाद जिन्दावाद !

लम्पसारवाद जिन्दावाद !


badri-dahal-bhasmasur

– बद्रीप्रसाद दाहाल

सबै वादहरू घात–प्रतिघातको चक्करमा रन्थनिएर अक्करमा पुगेको बेला मेरो खुराफाती मनमगजमा तात्तातो नयाँ वाद स्फुरण हुन पुग्यो । ६ अक्षरे संरचनामा बनेको यो अभिनव वादको नाम ‘लम्पसारवाद’ हो । महान् चिन्तक र विश्लेषकका दीर्घ साधना र चिन्तनलाई थाङ्नामा सुताएर आफ्नै आग्नामा बसी–बसी भर्खरै प्रतिपादन गरेको ‘लम्पसारवाद’ अत्यन्त सामयिक, हावा, पानी र माटो सुहाउँदो नयाँ उपागम (अप्रोज) बन्न पुगेको छ । भौगोलिक रूपले सफल यो वादको पारख गरेमा सत्ताको शिखरबाट चिप्लिएर प्रतिपक्षको कित्ताको भित्तामा ठोक्किन कबै नपर्ने ब्रह्मज्ञान पनि मजैले मिलेको छ मलाई । तत्ववेत्ताहरूले प्रतिपादन गरेका वादहरू जब स्वार्थभन्दा परमार्थतिर, आपूmवादभन्दा अरूवादपट्टि र इहलोककेन्द्री नभई परलोकपट्टि बढी ढल्किए तब त मेरो ‘लम्पसारवाद’ गोल्डेन चान्स पाएर डान्स गर्न सफल हुन थाल्यो । त्यसैले नगदानगदको प्रतिरूप लम्पसारवादमा नलागेर हाताहातीमा नै छाती दर्बिलो बनाउन हिजोका सबै वाद कुँडाकर्कट भएको घोषणा सगौरव प्रस्तुत गर्दछु । वेदव्यासदेखि विनोवा भावे, सुकरातदेखि माक्र्ससम्म, लेनिन पुस्तादेखि माओतकका वाद अब सन्दर्भहीन भइसके । पुँजीवाद, समाजवाद, साम्यवाद, सर्वोदयवाद, नाजीवाद, फासीवाद तथा सामन्तवादका बहसको रौँचिरा भेदसित अनावश्यक बहसको लन्ठामा किन दिमाग रिङ्ग्याउने ?

‘लम्पसारवाद’ तीन पदबाट निर्मित संयुक्त शब्द हो । ‘लामो–पसार–वाद’ यी तीन पदको मिलनबाट ‘लम्पसारवाद’ यस्तो बनेको भेट्टाइन्छ । झर्रो र खस्रो भाषामा भन्नुपर्दा–हातगोडा पसारेर लमतन्न भई सुतिदिएर अनुनयपूर्वक प्रभुसमक्ष बोल्ने, बिन्ती बिसाउने वा आत्मअस्तित्वलाई बलिराजाको देश पु¥याएर ‘ त्वं शरणम्’ को ध्वनि ध्वनित गर्ने व्यवहारवाद नै खासा लम्पसारवाद हो । जसमा साष्टाङ्ग दण्डवत् प्रणामको सत्य युगीन अभिवादन आङ्गिक, वाचिक, मानसिक रूपमा गर्नुपर्छ, जसबाट कलीयुगीन समस्या समाधान हुन्छन् । गहिरिएर हेर्नेे हो भने मेरो आवेगी र विभ्रम चिन्तनले यी तीन शब्द तीन गुण–सत्व, रज, तमका प्रतीक र तीन अवस्था– बाल, युवा, वृद्ध अवस्थाका दीपक हुन् भनेर ठम्याएको छ । अर्को कोणबाट हेर्दा त्रिदेवता अर्थात् ब्रह्मा, विष्णु र महेश्वरका तीनै अवतार देखिनसक्ने स्फटिकजस्तै छ्याङ्ग र सारयुक्त छ लम्पसारवाद । कतिपय सत्तारसबाट च्यूत हुन पुगेका प्राणीका लागि भने यो वाद घाँडो, काँडो, राँडो र भाटगिरीको चर्को एवम् झर्कोलाग्दो खाँडो बनेर दुत्कार्ने विषय पनि बन्न सक्छ । साउनमा आँखा फुटेको गोरु चैतमा हरियो त देखिरहन्छन् नि ? त्यसै भएर त पूmलको आँखामा पूmलै संसार भनेका होलान् । चराको धोती हुँदैन, नकचराको ओखती हुँदैन भन्ने उखान त्यसै बनेको रहेनछ ।

अब साँच्चै देशलाई पाँच वर्षभित्रमा विकासशील, दश वर्षमा समृद्ध र बीस वर्षमा महाधनी बनाएर डिटो लिई भिटो प्रयोग गर्ने हैसियतमा पु¥याउन एक मात्र लम्पसारवाद रामवाँण साबित हुन्छ । यसका लागि प्राकृतिक स्रोतलाई दाउमा राखेर माउ बन्दै चल्ला काड्न तयार हुनैपर्छ । प्रतिक्रिया र विरोधको तानाबाना बुन्ने युवा ऊर्जालाई खाडी, मलाया, क्यानडा, कोरिया र अन्य जर्जर राष्ट्रमा धकेलेर बचेखुचेका प्रतिपक्षीलाई कमिसनको भाङ पिलाएर दासानुदासका लर्कोमा चर्को विकासे भाषणले देशमा रहेका बालक, अपाङ्ग, वृद्धवृद्धाका कान अझ बहिरो बनाउनुपर्छ । देशमा भए–बचेका उद्योगधन्दालाई फन्दामा पारेर बन्द गरी उब्जाउयोग्य जमिनमा भीमकाय सहर निर्माण गरेर प्रदूषणलाई संस्थागत गर्नैपर्छ । काठमाडौंलगायतका ठूलाठूला महानगरलाई महा—कहर दिन धुलो, धुँवा र प्रभुकृपाबाट प्राप्त यान्त्रिक साधनमा बढोत्तरी हुनैपर्छ । भाषा, संस्कृति, कला, दर्शन र धर्मका मर्मलाई चर्मरोगकै पर्याय ठम्याएर तलबितल परेमा कोल्याप्स पार्न छलाङ मार्ने सामथ्र्य राख्नैपर्छ ।

लम्पसारवादको मूल चुरो प्रभुभजन, कीर्तन र स्तवन नै हो । कवि कुलशिरोमणि कालिदास कड्केर भन्थे, ‘स्तोत्रं कस्य नतुष्टये’ अर्थात् स्तुतिले कोपो खुसी हुँदैन र ? । यसैले राष्ट्रिय पहिचानका सबै पक्षलाई लम्पसारवादको महायज्ञमा स्वाहा र स्वधा गरेर बहुराष्ट्रिय नाना, खाना र छानामा जनजीवन रूपान्तरण गर्ने हिम्मत कस्नैपर्छ । बसुधैव कुटुम्बकम्को उदात्त मन्त्रलाई सङ्कुचनमा ल्याई ‘सँधियारे कुटुम्बकम्’को अनुदात्त गोरेटोमा राष्ट्रिय हित मार्च हुनु जरुरी छ । प्रभावशाली दलहरूलाई सबै बेला अभावशाली भन्न प्रतिबन्ध लगाउँदै तिनका सर्दारलाई शीर्षस्थ सम्बोधन गरेर तीर्थस्थ छौँ भन्ने उच्च आत्मज्ञान रैतीहरूमा अभेद्य भएर रहनुपर्छ । पत्रकार, टीकाकार, टिप्पणीकार र बुज्रुकहरूलाई दाना र माना भरिदिई ‘गोपी कृष्णको’ सुगा रटाइमा अनुवाद गराउनुपर्छ । यसमा कोही कसैले विवाद गरेमा निशाद ठम्याएर नर्कवासको ढोका खोल्न पनि पछि पर्न हुन्न । देशमा बसेका सबैलाई सुखशान्ति दिलाउन खेतीपाती र उद्योगधन्दाको झन्झटमा नफसी बसीबसी देशदेशावरबाट बटुलेका डेटस्पायर भिक्षा भकुरी नयाँ–नयाँ रोगमार्फत सोझै यमपुरी पुग्ने परिवेश तयार गर्नुपर्छ । यसरी लम्पसारवाद हावापानी र माटोसित घुलमिल हुनसक्ने बनाएर यसको दर्शन विश्वव्यापी पार्ने कसरत आजको आवश्यकता हो । क्रान्तिका विभिन्न मोडलमा यो पनि अति नयाँ नमुना हो । यसैको माध्यमबाट गरुड पुराणको प्रेतकल्पमा देखाइएका नरकहरूलाई चुनौती दिने भीषण पर्यटकीय थल बनाई भूमि, हावा, तेज, आकाश र जलजति प्रदूषित गराएर ढल र मलमा यो वादको आवाद गराउनु लोकप्रिय लम्पसारवादको सार हो, पुकार, उद्गार अनि गुहार हो । त्यसैले त म नयाँ वादको प्रतिपादक चार्वाकको पक्का चेलो नाकका पोरा फुलाई फुलाई आन्द्रै छिन्ने गरी नारा लगाउँदै भन्छु– लम्पसारवाद– जिन्दावाद !