शिक्षकको आचारसंहिता के हो ?

शिक्षकको आचारसंहिता के हो ?


babita basnet 15

– बबिता बस्नेत

शिक्षक पेसालाई जागिरका रूपमा मात्रै लिनेहरूको सङ्ख्या यहाँ ठूलो छ । शिक्षक हुनु भनेको जागिर खानु मात्र होइन, मुलुकका लागि होनहार, दक्ष, अनुशासित र उत्तरदायी नागरिक निर्माण गर्नु हो ।

काभ्रेमा स्कुल पढाउने शिक्षकले एक महिलाको हत्या गरे । कुटेर हत्या गरिएकी लक्ष्मी परियार दलित समुदायकी थिइन् । कतिले यो घटनालाई दलित भएका कारणले भनी सीमित परिधिभित्र राखेर चर्चा गरिरहेका छन् । तर, जब स्कुल पढाउने शिक्षक नै कुटपिटमा उत्रिन्छ भने गैरदलित नै भएकी भए पनि उनीमाथि अत्याचार हुने नै थियो भन्न सकिन्छ । हाम्रा गाउँघरमा मात्र होइन, शिक्षकलाई विश्वमै सचेत पेसाकर्मीका रूपमा लिइन्छ । शिक्षकले भनेपछि ‘ठीक हो’ भन्ने मान्यता राखिन्छ । विश्वमा प्राध्यापकहरूको सम्मान गुरुका रूपमा अहिले पनि परापूर्वकालका गुरुकुलका ऋषिमुनीहरूको भन्दा कम छैन । नाम चलेका कलेजहरूमा केही समय गुरुको सामीप्यता पाउनु विद्यार्थीका लागि अहिले पनि धेरै ठूलो कुरा हो । स्कुलका शिक्षकको त झन् कुरै भएन । कलिला बालबालिकाको भविष्य कोरिरहेका शिक्षकप्रति मानिसको सम्मान नै फरक प्रकारको हुन्छ । स्कुलमा शिक्षक÷शिक्षिकाले बोलेका कुराका आधारमा बच्चाले कुनै पनि विषयमा आफ्नो धारणा बनाउने हुँदा शिक्षक अति नै उत्तरदायी पेसाकर्मीभित्र पर्छन् । हुनत, हरेक पेसा र व्यवसायमा उत्तरदायित्व हुन्छ नै, तर बालबालिका र किशोरकिशोरीको मानसिकता निर्माणसँग जोडिएको हुनाले शिक्षक हुनुका दायित्वहरू अन्य पेसाकर्मीका भन्दा फरक र बढी नै सचेतता अपनाउनुपर्ने एवम् संवेदनशील हुनुपर्ने प्रकारका हुन्छन् ।

काभ्रेका शिक्षक हीरा लामाले आफ्नै विद्यार्थी सुमन नेपालीकी आमालाई उनकै अगाडि कुटेर हत्या गरेका छन् । आफ्नै विद्यार्थीका अगाडि शिक्षक अपराध कार्यमा संलग्न हुन्छन् भने त्यस्ता शिक्षकबाट विद्यार्थीले के सिक्छन् ? सुमनले आफ्नी आमालाई कुटपिट गर्ने शिक्षक भएका कारण गाउँले गुहार्न सकेनन् भनेर अन्दाज गर्न सकिन्छ । आफ्नै शिक्षक भएकाले उनी डराए नत्र समाजका अन्य जोकोही भएका भए उनले वरिपरि सहायता पक्कै खोज्ने थिए । हीराले आफू पुरुष या तथाकथित उपल्लो जातको भएकाले भन्दा पनि शिक्षक हुनुको फाइदा उठाए । बोक्सीजस्ता अन्धविश्वास हटाउनमा शिक्षकको भूमिका हुनुपर्नेमा उनले भैँसी काटिएको नाममा बोक्सीको आरोप लगाए र कुटपिट गरे । यदि उनको भैँसी काटिएकै रहेछ भने त्यसको कानुनी उपचार या दण्डसजायको व्यवस्था थियो, उनी त्यतातिर नगई सीधै कुटपिटमा उत्रिए । यो घटनालाई अहिले दलित र गैरदलितबीचको बिभेदको मुद्दाका रूपमा उठाइँदै छ । तर, उठाउनुपर्ने कुराचाहिँ अब शिक्षकहरूको आचारसंहिताको हो । एउटा शिक्षकले के गर्न हुन्छ, के गर्न हँुदैन, के बोल्न हुन्छ, के बोल्न हुँदैन, उनीहरूको मर्यादाको सीमाबारे बहस र छलफल गर्नु आवश्यक छ ।

जिल्लातिर जाँदा कतिपय स्कुलका शिक्षक हाजिर गरेर दोबाटोमा तास खेलिरहेको भेटिन्छ । काठमाडांैकै पनि स्कुलहरूमा कतिपय शिक्षकबाट त्यसप्रकारका क्रियाकलाप हुँदा हुन् । कतिचाहिँ मादक पदार्थ सेवन गरेर गाउँमा विभिन्न विषयमा बहसमा उत्रिरहेका हुन्छन् । विद्यार्थीलाई अनुशासनको पाठ पढाउने शिक्षकहरू जब जुवातास, जाँडरक्सीजस्ता कुरामा डुबिरहेका भेटिन्छन्, तिनका विद्यार्थीले के सिक्छन् ? शिक्षकले विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने, छेडखानी गर्ने र बलात्कारसम्म गरेका घटना पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । विद्यार्थीका ‘रोल मोडल’को रूपमा रहने हुँदा शिक्षकले विद्यार्थीका अगाडि चुरोट, रक्सीजस्ता कुराहरू खान नहुने भनी कतिपय मुलुकको शिक्षक आचारसंहितामा तोकिएको हुन्छ । हरेक व्यक्तिको निजी जीवन त हुन्छ नै, निजी समयमा उसले जे गरे पनि उसको ब्यक्तिगत कुरा भयो, तर विद्यालय समयमा, विद्यार्थीहरूका अगाडि एउटा शिक्षक÷शिक्षिकाले निर्वाह गर्नुपर्ने भूमिका नागरिक शिक्षासँग जोडिएको हुन्छ । विद्यार्थीका सामु मात्र होइन, समाजका अगाडि पनि शिक्षक अरू पेसागत तथा व्यवसायीभन्दा बढी सचेत हुनुपर्ने हुन्छ । पेसा नै शिक्षक अर्थात् अरूलाई सिकाउने या पढाउने भएका कारण शिक्षकले पलपलमा आफ्नो मर्यादाको ख्याल गर्नुपर्ने हुन्छ । त्यसो त, हरेक पेसा–व्यवसायमा संलग्न व्यक्तिले आफ्नो आचारसंहिताको ख्याल गर्नुपर्छ नै, त्यसमा पनि शिक्षक भनेपछि मान्छेले हेर्ने दृष्टिकोण नै फरक हुने भएकाले शिक्षकको उत्तरदायित्व स्वतः बढी छ । धेरैजसो शिक्षकलाई लाग्छ, हामीले समाजको निगरानी गरिरहेका छौँ, जुन कुरा गलत होइन, तर समाजले पनि उनीहरूमाथि त्यत्तिकै निगरानी गरिरहेको हुन्छ । हाम्रो मुलुकमा आफ्नो मर्यादाको ख्याल गरेर सोहीअनुरूपको भूमिका निर्वाह गर्ने शिक्षकको सङ्ख्या ठूलो छ । तर, केही शिक्षकका कारण सबै नै शिक्षक उस्तै छन् कि भन्ने भएको छ । शिक्षकप्रतिको यो गोलमोटल सोचलाई हटाउन र जनसाधारणमा शिक्षकको गरिमा बढाउन आचारसंहिताको पालना आवश्यक छ ।

हाम्रो देशमा शिक्षकका संस्था धेरै छन् । राजनीतिक दलपिच्छेका शिक्षक सङ्घ–सङ्गठनहरू छन् । शिक्षकको साझा सङ्गठनका रूपमा शिक्षक युनियन छ । जसले शिक्षकको आचारसंहिता पनि बनाएको छ । तर, आचारसंहिताको पालना भने भएको देखिँदैन । हाम्रो मुलुकमा प्रायः सबै पेसा–व्यवसायमा भएका मानिसलाई राजनीतिक भरथेग हुने गरेको छ । जुन देशमा न्यायाधीश राजनीतिक भागबन्डाका आधारमा नियुक्त हुन्छन् त्यो देशमा शिक्षक राजनीतिबाट मुक्त होलान् भन्ने अपेक्षा शायद गर्नुहुँदैन । तर, शिक्षक राजनीतिक कार्यकर्ताभन्दा बढी सक्रिय भइदिँदा यो क्षेत्र बढी नै राजनीतिमय बन्ने गरेको छ । फिलिपिन्सलगायतका कतिपय मुलुकमा शिक्षकले भोट हाल्नेजस्ता सबै संवैधानिक अधिकारको उपभोग गरे पनि प्रत्यक्ष राजनीति गर्न पाउँदैनन् । शिक्षकको आचारसंहिताले नै यो कुरालाई स्पष्ट गरेको छ । शारीरिक र यौनहिंसाको त कुरै भएन मानसिक, भावनात्मक र अन्य कुनै पनि प्रकारका हिंसाबाट शिक्षक टाढा रहनुपर्ने विभिन्न मुलुकका शिक्षक आचारसंहितामा उल्लेख छ । हाम्रो आचारसंहितामा प्रायः ब्यावसायिक कुराहरू उल्लेख भएका छन् । जति उल्लेख छन् तिनको पनि सबैतिर समान कार्यान्वयन भएको देखिएको छैन । हरेक पेसागत आचारसंहिताहरू सबैतिर उस्तैगरी लागू गर्नका लागि निर्माण गरिए पनि समान रूपले लागू भने नभइरहेका हुन सक्छन् । तर, कतिपय शिक्षकलाई त आफ्नो आचारसंहिता छ र त्यसको पालना गर्नुपर्छ भन्ने थाहा नभएको पनि पाइएको छ । शिक्षक पेसालाई जागिरका रूपमा मात्रै लिनेहरूको सङ्ख्या यहाँ ठूलो छ । शिक्षक हुनु भनेको जागिर खानु मात्र होइन, मुलुकका लागि होनहार, दक्ष, अनुशासित र उत्तरदायी नागरिक निर्माण गर्नु हो । त्यसैले शिक्षकजस्तो महत्वपूर्ण र सम्मानित पेसालाई मर्यादित बनाउन शिक्षक युनियन र शिक्षक स्वयम्ले आचारसंहितामा छलफल, बहस र यसको कार्यान्वयनमा पहल गर्नु आवश्यक छ ।