यूरोप भ्रमणको रमाइला अनुभूति ….(भाग ७)

यूरोप भ्रमणको रमाइला अनुभूति ….(भाग ७)


यतिबेला बिहानको सफा मौसममा नीलो अकाशमाथि घाम अकाशिँदै थियो । हामी मेकोन शहर हुँदै रोन् नदीको किनाराको चाकलो बाटोमाथि सफर गर्दै थियौ । एकैछिन्मा शहरको भवनहरु छिचोलेर हाम्रो कोच अहिले खुला सडकमाथि वरिपरि फराकिलो खेतहरुनाघ्दै पूर्वदिशातर्फ गुड्दै थियो । बुरिया भन्दै थिईन्… हाम्रो नेपालको तराईतिर गाडीमा अथवा भारतको रेलमार्ग हुँदै सफर गर्दा बिहानपख शौचकालागि मान्छेहरुका लाम देखिन्थ्यो, तर, यहाँ यस्तो केही देखएन त बुरा …. मलाई हाँसो उठ्यो … अरे लाटी यो यूरोप हो यहाँ सबै विकास भइसकेको छ .. देखेनौ यहाँ राजमार्गको छेउछाउ कतै घर छैनन् … बस्तीहरु सबै राजमार्गबाट धेरै टाढा टाढा छन् …. बुरिया हाँस्दै चुप भईन् । मलाई सम्झना छ म भारत वर्षमा जागिर गर्दा धेरैजसो रेलयात्राबाट नै घरजाने आउने गर्थे । एकाधपल्ट श्रीमतिलाई पनि जागिरकालमा भारत लगेको थिएँ । जब हामी रेलयात्रामा समथल भुभागहुँदै बंगाल र बिहारक्षेत्र भएर जान्थ्यौ बिहानपख खेतमा निर्धक्क दिशा गरिरहेका मानिसहरु देख्थ्यौ । मैले यूरोपेली राष्ट्रहरुमा प्राय गाउँहरु राजमार्गबाट निकै टाढा प्रदुषण रहित ठाउँमा बसेको देखे । हाम्रो नेपालमा नयाँ राजमार्ग खुल्न हुँदैन मान्छेहरुले स्वास्थ्य र सुरक्षाका कुराहरु ध्यानै नदिई घरहरु सडकछेउमा सडक मिचेर बनाएर बसेका हुन्छन् । कतिपय ठाउँहरुमा बाटोसित जोडेर अस्थाई घरहरु बनाएर व्यावसाय गर्छन् । बुरियाको कुराको प्रसंगबाट म एकछिनको लागि नेपाल र भारतको वातावरणतर्फ सोच्न पुगेछु । ठीक त्यही समयमा माइकबाट समीले उद्घोष गर्दै भनिन् …. आज हामी लन्च जिनेभामा गर्नेछौ …त्यहाँ तपाईहरुलाई २ घण्टाको समय प्राप्त हुनेछ र २ घण्टासम्म बसेपछि हामी स्वीट्जरल्याण्डको लाउटरब्रुनेन्तर्फ लाग्ने छौ र बेलुकिको वास त्यही हुनेछ … त्यसपछि स्वीटजरल्याण्डको बारेमा संक्षिप्त जानकारी दिंदै केही व्यवहारमा प्रयोग गरिने स्वीस भाषाका शब्दहरु भ्ानीन् । मैले ती शब्दहरुमा विशेष चासो राखिनँ । यो प्रक्रिय फ्रान्सको पेरिस पुग्नुअघिपनि फ्रेन्चभाषाका केही शब्दहरु यसरी नै भनेकी थिईन् । ती शब्दहरु अहिले मैले भुलिसकेको थिएँ । भाषाप्रति चाख बढ्ने एउटा समय हुँदो रहेछ । जतिबेला म किशोर अवस्थामा थिएँ त्यतिबेला मैले निकै भाषाहरु सिकेको थिएँ । अहिले मलाई भाषा सिक्ने उस्तो शौख छैन ।
समीले हिजो पनि दिनको लन्च जिनेभामा गर्ने कुरा भनेकी थिईन् । बिहान कोचभित्र जानुअघि छेउको शपिङ सेन्टरमा गएर लन्चका लागि केही खाने सामग्री किनेका थियौ । गाइडले स्वीट्जरल्याण्डमा टेपको पानी पनि पैसा लाग्छ भनेर तर्साएकिथिईन् भन्नाले स्वीट्जरल्याण्ड विश्वको महँगो राष्ट्रमा पर्दछ भन्ने कुरा भनेकी थिईन् ।, शपिङ सेन्टरमा लेट्युस साग, ब्रेड, फलफुल, जूस, बटर र जाम किनेका थियौ । मेकोनबाट जिनेभा २ घण्टामा पुग्दो रहेछ । सफल यात्राको शुभकामना साटासाट गरेर हामीसबै मेकोनदेखि जिनेभातर्फ लागेका थियौ । केही समय रोन् नदीको किनारा हुँदै समथल भुभागहरु पार गरेर गएपछि हामीले फ्रान्स र स्वीट्जरल्याण्डका सीमाक्षेत्रका पहाडी भुभागहरु पार गर्दै गईरहेका थियौ । आज समीले बाटोमा रमाइलो गर्नकालागि तम्बोला (बिङ्गो) खेल खेलाईन् । सबैलाई नम्बर भएको टिकट दिएर जसको सबै नम्बर पहिले मिल्छ त्यसलाई पुरस्कारस्वरुप एकबोतल वाइन अथवा एक प्याकेट चक्लेट जुन मनपर्छ त्यहीदिने शर्त राखीन् । हामीलाई रमाइलो भईरहेको थियो । निकैबेरसम्म नम्बर निकाल्दा पनि कसैको नम्बर मिलेको थिएन । बिङ्गो खेलमा अन्तिम नम्बर रहँदाको अवस्थामा निकै उत्तेजित र रमाइलो हुन्छ । आजको बिङ्गो जित्ने भाग्यमानी सिंगापुरबाट आएकी युवती, जेसिका थिईन् । एक प्याकेट चकलेट् तिनले जितिन्, तर, त्यो चाकलेट तिनले सबैलाई बाँडेर खुवाइन् । यात्रा रमाइलो भइरहेको थियो । जिनेभा आउनु अघि हामीले धेरै टनलहरु पार गरेर आएका थियौ । सीमा क्षेत्र हुँदै आउँदा हामी एउटा यस्तो घाटीजस्तो ठाउँमा आयौ जहाँ निकै उँचाइमथि पुल, तल निकै गहिरो खोंच र वरिपरि जंगलबीचमा एउटा सानो गाउँ थियो । यो दृष्या मैले धेरै पटक अंग्रेजी फिल्ममा देखेको जस्तो लाग्यो । गाडी पुलको माथि भएर जाँदा तलतिरको दृष्या हेर्दा अंग नै सिरिङ्ग बनाउने खालको थियो ।
हामी त्यो घाटी नाघेको केहीबेर पछि दुबैतिर पहाड हुँदै बीचको समथल भुभागतिर ओर्ल्यौं र फ्रान्स स्वीट्जरल्याण्डको सिमानामा आइपुग्यौ । गाइडको भनाई अनुसार स्वीट्जरल्याण्डको प्रशासनिक व्यवस्था राम्रो छ र यहाँ सबै विषयमा नागरिकहरु कानूनी कुरामा सचेत छन् भनेकी थिईन् । स्वीट्जरल्याण्डमा प्रत्येक नागरिक १८ वर्ष पुगेपछि सैन्य तालीम लिएर देशको लागि भइपरि आएको बेलामा सैनिक सेवा गर्नु पर्ने प्रावधान रहेछ । देशलाई सेवा गर्नका लागि हरेक समयमा २० हजार सेना तयार रहनुपर्ने नियम रहेछ । स्वीसवासीहरुलाई आफ्नो देशको लागि गौरवगर्ने धेरै कुराहरु छन् । भौगोलिक हिसाबमा भूपरिवेष्टित भएतापनि युरोप तथा संसारभरिमा यस्को आफ्नै बेग्लै पहिचान छ । र संसारको सबैभन्दा धनी राष्ट्रको गणनामा यो राष्ट्र पर्दछ । भनिन्छ विश्वयुद्धताका बाहृय आक्रमणबाट बच्नका लागि हजारौ टन् विष्फोटक् पदार्थहरु यहाँका हजारौ सुरुङ्रहरुको नाकाहरुमा राखिएका थिए । यदि आवश्यक परे ती विष्फोटक पदार्थहरु विष्फोटन गरी सुरुङ ध्वंस गरेर देश बचाउने योजना तत्कालीन स्वीस सरकारले बनाएको थियो । स्वीट्जरल्याण्ड पहाड, तालहरु र सुरुङहरुको देश हो । यस राष्ट्रलाई हजारौ सुरुङको राष्ट्र हो भन्दा अत्युक्ति नहोला । हाम्रो देश नेपालमा बाटोका लागि एउटा सुरुङ खन्ने क्षमता छैन । तर, यहाँ हजारौ सुरुङहरु उहिले नै निर्माण गरिसकेका छन् । यहाँको यातायात सुरुङहरुको कारणले गर्दा पहाडी क्षेत्र भएपनि छिटो छरितो र एकदमै सुगम छ । यस देशको ९५ प्रतिशत भुभाग पहाडी छ । नेपालको जस्तै पहाड र तालको सौन्दर्यले यो देश स्वर्गजस्तो लाग्दछ । यातयातको कुरा गर्दा अल्पस पर्वतको सबैभन्दा अग्लो चुचुरो स्वीट्जरल्याण्डको याङफ्राउसम्म रेल पुर्‍याएको छ । स्वीसवासीहरुले गौरव गर्ने विषय, सबैभन्दा अग्लो शिखर याङफ्राउसम्म मिनी रेल (सानो खाले रेल) पुर्‍याएको देख्दा हामी दंग परेका थियौ । त्यही ससाना रेलका नागबेली लिगहरुहुँदै हिमशिखरहरु चढ्दै मनमोहक हिउँले ढाकिएका पहाडी उपत्यका र टाकुराहरुका दृष्या हेर्ने मज्जा बेग्लै हुन्छ । हालको स्वीट्जरल्याण्डको प्रमुख आयस्रोत पर्यटन र ब्याङकिङ सेवा हो । यहाँ निर्माण हुने स्वीस चक्कु, घडी र यहाँको काठहरु उत्पादनको रुपमा निर्यात हुने उपभोग्य वस्तुहरु हुन् । वास्तवमा युरोपमा पहिलो औधोगिक राष्ट्रको रुपमा स्वीट्जरल्याण्ड उदय भएको थियो । ससाना उद्धोगहरुबाट एउटा धनी राष्ट्रको रुपमा स्थापित भएको राष्ट्रमा क्षेत्रीय हिसाबमा चार क्षेत्रमा बाँडिएको छ र चारवटा राष्ट्रिय भाषाहरु, क्रमशः छिमेकी राष्ट्रहरुका जर्मनी, फ्रेन्च, इटाली र अस्ट्रियाई भाषाहरु बोलिने गर्दछन् । विश्वयुद्धमा यो राष्ट्र तटस्थ रहेको थियो । त्यसबेला लाखौ धनाढ्य यहुदीहरु शरणार्थीको रुपमा पलायन भएर आएका थिए । उनीहरुका सम्पती स्वीस ब्याङ्कहरुमा जम्म्मा गरेका थिए । भनिन्छ स्वीस ब्याङ्कमा पैसा जम्मा गरेका हजारौ मानिसहरु स्वीट्जर्ल्याण्ड कहिल्यै फर्केनन् । विश्वयुद्धताका तिनीहरु लडाइमा मरे वा हिट्लरको नाजी क्याम्पहरुमा मारिए केही थाह नभएकाले ती सबै व्यक्तिहरुको सम्पति स्वीट्जरल्याण्डलाई नाफा भएको भनिन्छ ।
गाइड समीले भने अनुसार स्वीट्जरल्याण्डमा कुनै पनि राष्ट्रको व्यक्तिले जग्गा किन्ने र घर निर्माण गरेर बस्न पाउने अधिकार प्राप्त छ, तर, यसको लागि निवेदन दिएपछि कम्तीमा पाँच, दशवर्ष कुर्नुपर्दो रहेछ । जग्गा आफ्नो नाममा दर्ता भएपछि घर निर्माण गर्नको लागि सरकारले घर निर्माण गर्नका लागि केही सहयोग रकम प्रदान गर्दोरहेछ । स्वीट्जरल्याण्डमा सरकारको नियमअन्तर्गत घरहरु निर्माण गर्नुपर्दो रहेछ । त्यसैकारण हामीले स्वीट्जरल्याण्डमा एकनासे घरहरु देख्छौं । स्वीट्जरल्याण्डमा ब्याङ्क एकाउन्ट खोल्न पनि निकै सरल रहेछ र पैसा जम्मा गरेपछि तपाईलाई केवल स्वीस ब्याङ्कले अकाउन्ट नम्बर मात्र दिन्छ भन्ने कुरा गाइडले भनेकी थिईन् । यसरी स्वीट्जरल्याण्डबारे संक्षिप्त जानकारी समीले दिएकी थिईन् । फ्रान्सको सीमा नाघेर हाम्रो २ घण्टाको यात्रा पूरा भयो । हामी अहिले प्रसिद्ध जिनेभा शहर निकट आई पुगेका थियौं । फ्रान्सबाट स्वीट्जरल्याण्ड आउँदा पासपोर्ट चेक गर्नुपरेन र मैले यसबारे गाइडलाई पनि सोधिनँ । शायद भ्रमण कम्पनीले नै व्यवस्था मिलाएको हुनुपर्छ । अब हामी जिनेभा तालको एकछेउमा आइपुगेका थियौ । समीले भन्दै थिईन्… त्यो अलि देख्दै गरेको पानीको फौव्हारा जिनेभा तालको हो.. भनेर उत्तेजित भईन् । हाम्रो कोच ताल नजिकेैको बसपार्कमा रोकेर समीले हामीलाई २ घण्टापछि त्यसै ठाउँमा भेट्ने कुरा गरिन् । २ घण्टा आ-आफ्नै पाराले घुमघाम गरेर र्फकने योजना थियो । हामी सबै जिनेभा तालतिर लाग्यौं । जिनेभा बीचमा ठूलो ताल र तालको वरिपरि पहाडले घेरिएर बसेको शहर रहेछ । मलाई पोखराको सम्झना भयो । पोखराको फेवाताल तथा वरिपरिका पहाडहरुले घेरिएका सुन्दर पोखरा शहरलाई जिनेभासँग तुलना गरे । वरिपरि पहाड बीचमा ताल र जिनेभा शहर बसेको देख्दा पोखराको झझल्को आउनु स्वाभाविक थियो, तर, यहाँको ताल फेवातालभन्दा चारपाँच गुणा ठूलो थियो जसको क्षेत्रफल ५२ किलोमिटर रहेछ । सौन्दर्यको दृष्टिकोणमा पोखरा अतुलनीय छ, तर, वैभवको हिसाबले हेर्दा जिनेभा बन्नको लागि युगौ लाग्छ भन्ने मलाई अनुभूति भयो । ज्युरिखपछि स्वीट्जरल्याण्डको दोश्रो ठूलो शहर जिनेभा हो । जिनेभा विश्वका शहरहरुमध्ये निकै चर्चित शहर हो । यो शहर बाणिज्य व्यापार, कुटनीतिक तथा स्वीट्जरल्याण्डको अर्थव्यवस्थाको लागि प्रमुख शहरमा पर्दछ । जिनेभाको अर्को विशेषता भनेको यो अन्तर्राष्ट्रिय कुटनीतिक केन्द्र हो । हामीले जिनेभा कन्वेन्शनको बारेमा सुनेका छौं । यही शहरमा युद्धबन्दीहरुलाई कस्तो व्यवहार गर्नेजस्ता नीति नियमका लागि अन्तर्राष्ट्रिय जगतले ऐतिहासिक हस्ताक्षर गरेको शहर हो । राष्ट्रसंघका प्रमुख कार्यालयहरु, रेडक्रसको मुख्यालय र धेरै अन्तर्राष्ट्रिय संघसंस्थाहरुको केन्द्र यस शहरमा नै छन् । यो शहर आर्थिक उँचाइमा युरोपभरिमा लण्डन, ज्युरिखपछि तेश्रो स्थानमा आउँछ र विश्वमा आठौ स्थान ओगट्दछ । जिनेभा विश्वको चौथो महँगो शहर हो । यो शहर फ्रान्सेली क्षेत्रको भागमा पर्दछ अतः यहाँ सरकारी विभागहरुमा फ्रेन्चभाषा प्रयोग गरिन्छ । जिनेभा शहर क्षेत्रफल र जनसंख्याको हिसाबमा ठुलो शहर होईन । रोन् नदीको मुहान जिनेभा ताल हो । चारैतिरका हिमशिखरहरुबाट बरफ पग्लिएर तालको रुप लिएको यो जिनेभा ताल विश्व प्रसिद्ध छ । भ्रमण टोलीमा आएका सिंगापुरका साथीहरु युनिस, जेसिका र हेन्री हामीसंग नै थिए । लगभग एकघण्टा जति हामी तालको सेरोफेरो घुमेर धेरै फोटोहरु खिच्यौ । हाम्रो लागि जिनेभा ठूलो सम्झना थियो, तर, समयको पाबन्दीले गर्दा हामी जिनेभा तालबाहेक धेरै टाढा घुम्न सकेनौ । तालको एकछेउमा झण्डै पचासमिटर अग्लो पानीको फौव्हारा तालबाट अकाशतिर र्छर्किएर जान्छ । यो फौव्हारा निकै आकर्षक देखिन्छ । भनिन्छ हिउँदमा जतिबेला वरफ परेपछि असीम जाडो भएको बेलामा यो ५२ किलोमिटर परिधिको जिनेभा तालपनि जम्न पुग्छ तबमाथि र्छर्किदै गरेको फौव्हारा पनि त्यसरि नै आकाशिदै जम्न पुग्छ रे भनेर गाइडले भनेकी थिईन् । आजलाई यहीसम्म …. अब अर्को एपिसोडमा भेटौला… संस्मरण पढिदिनु भएकोमा धन्यवाद ।।।