लन्डनमा आरजुको यस्तो प्रतिबद्धता

लन्डनमा आरजुको यस्तो प्रतिबद्धता


aarjul1

गैरआवासीय नेपाली संघ यूकेले बेलायत भ्रमणमा रहेकी कांग्रेस नेतृ आरजु देउवासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । पश्चिम लन्डनको नर्थ होल्टस्थित ब्लु अर्किड रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेतृ आरजुले पूर्व गोर्खाजहरुको समान हक र पेन्सन सुविधानका लागि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको पालामा विशेष पहल गरेको जानकारी दिइन् । उनले विदेशमा बसेका नेपालीहरुलाई मताधिकार दिने व्यवस्था छलफलकै क्रममा रहेको उल्लेख गर्दै एनआरएनलाई सामूहिक लगानी गर्न, सीप, ज्ञान, प्रविधि र अनुभवलाई स्थानान्तरण गर्नुपर्ने बताइन् । देउवाले नयाँ संविधानले जनतालाई धेरै अधिकार दिएको उल्लेख गर्दै तराईको समस्या समाधान गर्न, संविधान संशोधन प्रस्ताव कांग्रेस कै पहलमा ल्याएकाले सहमतिबाटै पारित गर्ने दाबी आरजुले गरिन् । एनआरएनका समस्या समाधानका लागि तथा भाषा, कला, संस्कृतिको विकासका लागि पहल गर्ने प्रतिबद्धता अन्तरक्रियाका दौडानमा उनले जनाइन् । सभापति देउवाले एमालेले संविधान संशोधनमा असहमति जाहेर गर्दा राजनीतिक निकास निस्कन नसकेको आरजुको कथन थियो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले एनआरएन यूकेलाई नीति, मुद्धा र एजेन्डा लिएर आउन आग्रह गरे । उनले दूतावासले नेपालीका लागि अप्ठ्यारो अवस्थामा सहयोग गर्ने प्रतिबद्धता जनाए । कुटनीतिज्ञको रुपमा २० वर्ष आफू पनि विदेशमा बसेकाले एनआरएनका समस्याहरु राम्ररी बुझेको सुवेदीले बताए । एनआरएन यूरोप संयोजक कुल आचार्यले एनआरएनलाई सामूहिक लगानी गर्न अपिल गरे । एनआरएन आईसीसी सल्लाहकार विश्व आदर्श पण्डितले नेपालको राजनीतिक अवस्थामा सुधार आए लगानीको वातावरण बन्ने बताए । एनआरएन यूकेका उपाध्यक्ष हिराधन राईको स्वागत मन्तव्यमा भएको कार्यक्रममा उपाध्यक्ष शान्ति थापा मगरले खादा तथा पुष्पगुच्छाले स्वागत गरेकी थिइन् । पूर्व महासचवि राजकुमार त्रिपाठीले लिखित रुपमै एनआरएन मन्त्रालयको माग गरेका थिए । उनले गोर्खाको समस्या समाधान, एनआरएन मतदान, ज्ञान, सीप, दक्षता र प्रविधि नेपालमा प्रयोग गर्न नेपाल सरकारले आह्वान गर्नुपर्नेलगायतका माग राखे ।

कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष मुक्षेत्र गुरुङले कार्यक्रममा उपस्थितलाई धन्यवाद दिंदै एनआरएनहरुलाई एकजुट हुन अपिल गरे । प्रवक्ता खुसी लिम्बूले सञ्चालन गरेको कार्यक्रममा जनसम्पर्क समितिका सभापति लोक गुरुङ, सञ्चारकर्मीहरु चिरन शर्मा, वीरेन्द्र श्रेष्ठ, सूर्य नेम्वाङ, डा. राजेन्द्र थापा, डा. मिन रानाभाट, सुवर्ण श्रेष्ठलगायतले नेतृ देउवासँग जिज्ञासा राखेका थिए भने शेर सुनार, चिरञ्जीवी ढकाल, कृष्ण भट्ट, कृष्ण तिमिल्सिना, राष्ट्र राई, रिचर्ड गुरुङ, सुवाससिंह गुरुङ, शान्ति थापा, सनत गुरुङ, कृष्ण गुरुङ लगायतको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता एनआरएन यूकेका अध्यक्ष मुक्षेत्र गुरुङले गरेका थिए ।
aarjul