मन बिझाउने कुराहरू

मन बिझाउने कुराहरू


babita-basnet-1

– बबिता बस्नेत

जीवनको उत्तराद्र्धमा पुगेका आमाहरूले जीवन धान्नका लागि सडकमा गिटी कुटिरहेको दृश्यले आँखा जति बिझाए पनि हेर्नैपर्ने बाध्यता पार गर्दै हिँड्दै गर्दा जब सडककै छेउमा युवाहरू क्यारेमबोर्डका गोटी समाइरहेका भेटिन्छन्, अनि मुखबाट अनायासै शब्दहरू निस्कन्छन्– यो मुलुकमा यस्ता दृश्यहरू कहिलेसम्म हेर्नुपर्ने होला ? श्रम गर्नुपर्ने उमेर समूहका मानिस वर्तिरपर्तिर हल्लिएर उमेर बढाइरहेका छन्, उत्तराद्र्धमा पुगेका वृद्धवृद्धाहरू जीवन बाँच्न बाँकी रहेको अलिकति समय कठोर श्रम गरेर बिताइरहेका छन् । विकसित मुलुकमा हुँदो हो त उक्त उमेरका बाबुआमाहरू पार्कमा टहलिएर आफ्नै उमेरका साथी–सङ्गीसँग आफ्नो जीवनमा विगतका अनुभव र भोगाइबारे कुरा गरिरहेका हुने थिए होला । सुदूरपश्चिमको डोटी पुग्नै लाग्दा यस्ता दृश्यहरू देखिए, तर यस्ता कुरा हेर्नका लागि हाम्रो मुलुकमा सुदूरपश्चिम नै पुगिरहनु भने पर्दैन । अन्य स्थानमा पनि आँखा बिझाउने यस्ता अनेक दृश्य हेर्नुपर्ने हुन्छ । यसपटक डोटी जिल्ला पुगेर त्यहाँ विभिन्न मानिसहरूसँगको कुराकानीपछि यस्तो लाग्यो कि महिला भएर जन्मिनुको अभिशाप अहिले पनि धेरैले भोगिरहेकै छन् । सदरमुकामबाहिर गएपछि अलि मोटोघाटो महिला तपाईंले देख्नुहुन्न । हुनत, हिजोआज सकेसम्म स्लिम हुने नै होडबाजी छ, तर स्लिम र दुब्लोपनबीचको फरक के हो भनेर थाहा पाउनका लागि दुर्गम पहाडहरू पुग्नुपर्छ । रातदिनको कामको बोझ र आवश्यक खानपिनको अभावले सुकेको शरीरले कुटाइसमेत खानुपरेपछि के होला ? तर, कतिपय महिलाको दिनचर्याभित्र पिटाइ र दुव्र्यवहार शब्द पनि पर्ने गरेको छ । श्रीमती भनेको जीवनसाथी हो भनेर बुझ्नेहरूको अनुपातमा श्रीमती त कामका लागि हो भन्ने मान्यता राख्नेहरूको सङ्ख्या ठूलो छ । यो सुदूपश्चिमको मात्र समस्या भने होइन ।

महिलाले गरेको काम राष्ट्रिय आयमा गणना हुनुपर्छ भनी आवाज उठाउनेहरू भन्छन्– घर–व्यवस्थापन गरिरहेका महिलालाई तलब दिने हो भने कम्तीमा महिनाको १५ देखि २५ हजारसम्म नगद दिनुपर्ने हुन्छ । बिहान जुरुक्क उठेर कुचो–कसिँगर, सफासिफीलगायतका कुराहरू गर्न सहयोगी राख्दा कति पैसा दिनुपर्छ ? छुट्याएर राखौँ, त्यसपछि बच्चाको स्याहारसुसार गर्न बेबीसिटर राख्नुभयो भने कति दिनुपर्ला ? अनि चिया–खाना पकाउने बेला हुन्छ, एउटा कुकको तलब कति होला ? त्यसपछिको काम सुरुको सहयोगीले नै गर्ला । यता स्कुलबाट बच्चा आएपछि उसलाई पढाउन ट्युसन राख्नुपरे शिक्षकले कति पैसा लेलान् ? परिवारका सदस्यलाई दिएको माया–ममता त मूल्यरहित भयो, प्राइस लेस… पैसामा त्यसको कुनै गणना नै हुँदैन । परिवारका कोही सदस्यहरू बिरामी पर्दा चिसोतातोको हेरविचार, चाडबाडमा खटिँदाको समयको त कुरै भएन । यी सबै काम हाम्रो समाजमा महिलरूले धानिरहेका छन् । यी सबै कामको पैसा नै देऊ भन्ने होइन, कम्तीमा धन्यवाद त भनिदेऊ, आभार त व्यक्त गर भन्ने हो । तर, हाम्रो घरपरिवारमा महिलाले गरेका यी कामका लागि आभारी हुने त के कुरा, यति धेरै काम गर्दा तिमी कति थाक्यौ होला हगि भन्ने चलनसमेत छैन ।

युद्धले भत्काएका तमाम मनहरूको पुनर्संरचना हुन सक्ने कुनै आधारहरू देखिँदैन । द्वन्द्वका घटना हेर्नका लागि ढिलो गरी सत्य निरूपण आयोग त बन्यो, तर आफ्नो छोरा या पतिलाई किन मारियो भनी प्रश्न गर्नै नपाई कतिको मृत्यु भइसक्यो, कतिको प्रश्न मनमै रहिरहेको छ । सशस्त्र युद्ध त युद्ध भइहाल्यो । त्यो सकिएपछि पनि डोटी अन्य धेरै जिल्लाहरूजस्तै अहिले पनि युद्धमै छ, गरिबी र विभेदसँगको युद्ध । सर्वसाधारणले यो युद्धबाट कहिले छुटकारा पाउने हुन् यसै भन्न सक्ने अवस्था छैन ।

रक्सी अहिले धेरै ठाउँमा हिंसाको प्रमुख स्रोत बन्दै आएको छ । पहाड, तराई कुनै पनि ठाउँ यसबाट टाढा छैन । सुदूरपश्चिमका पहाडी जिल्लामा महिलाले भोग्दै आएका दुःखमा पनि मदिराकै ठूलो भूमिका छ । गाउँमा पुरुष प्रायः काम कमै गर्छन् । दिनभरि काममा खटिएका महिलामध्ये कतिपयले साँझ परेपछि नियमित कामबाहेक दुईवटा अतिरिक्त कुरा सहनुपर्छ, श्रीमान्ले गर्ने कुटपिट र शारीरिक सम्बन्ध । सबैमा यो कुरा लागू हुँदैन, तर मदिरा सेवन गर्ने पतिका पत्नीहरूका लागि शारीरिक सम्बन्ध प्रायः पीडादायी नै हुने गरेको छ । गाउँमा रोजगारीका अभावमा भारत जाने पुरुषहरूको सङ्ख्या ठूलो छ । कमाउन गएका पतिले एचआईभी पनि साथमै लिएर आएपछि तिनका पत्नीलाई नखाएको विष लाग्ने गरेको छ । फलतः अछाम, डोटीलगायतका जिल्लाका कतिपय महिला एचआईभीग्रस्त भएर आफूले कुनै गल्ती नगरे पनि गल्ती गर्ने पतिकी पत्नी हुनुको दुःख भोगिरहेका छन् । धर्म परिवर्तनको रोग पनि डाटीमा त्यत्तिकै फैलिएको रहेछ । यस विषयलाई लिएर बुढेसकालमा श्रीमान्–श्रीमतीको सम्बन्ध बिच्छेदसमेत हुँदै आएको छ ।

धेरै कुरामा पछाडि परेको भए पनि बाटोघाटोमा भने पूर्वभन्दा सुदूरपश्चिम अगाडि छ । खोटाङ, भोजपुर, ओखलढुङ्गा, सोलुलगायतका जिल्लामा मोटरबाटो पुग्नुभन्दा धेरै अगाडि डडेल्धुरा, डोटी, अछामलगायतका जिल्लामा चिल्लो बाटो पुगेको थियो । अहिले पनि मोटरबाटोको सुविधा सुदूरपश्चिममा छ, मोटरबाटो गाउँगाउँ पुग्न त पहाडमा जहाँ पनि गाह्रै छ, तर सदरमुकामसम्म बाटोको समस्या छैन । सुदूरपश्चिमका पहाडी जिल्ला भनंपछि छाउपडी (महिनावारी) लाई जोड्छन् मानिसहरू । छाउपडीसँग सम्बन्धित किम्बदन्तीझैँ लाग्ने अनेक प्रसङ्गहरू त्यता सुन्न पाइन्छ । हुँदैहुँदै बझाङमा राज्यले छुट्याएको जेन्डर बजेट छाउपडी हिँड्नका लागि बाटो बनाएको प्रसङ्ग एकपल्ट चर्चामा थियो । नछुने भएका महिला नुहाउने धारो त धेरै ठाउँमा अलग्गै छ नै, हिँड्ने बाटोसम्म फरक हुँदा के हुन्थ्यो होला ? मिडियामार्फत विरोध भएपछि उक्त बाटोलाई सार्वजनिक बाटोकै रूप दिइएको थियो । धेरै अर्थमा महिला र दलित त विभेदको अर्को रूपझैँ लाग्छन् ।

दशवर्षे युद्धले अरू धेरै जिल्लामा जस्तै डोटीलाई पनि दुःख नदिई राखेन । माओवादी द्वन्द्वका क्रममा १०२ जनाको मृत्यु भयो, ६० जना अपाङ्ग बने, चारजना बेपत्ता भए । यी सबैका परिवारका चित्त दुख्दा कथाव्यथा बन्ने नै भए । आफू विस्थापित हुँदाको घटना सुनाउँदै उनले भनिन्, ‘हामीलाई घर छोड्न बाध्य पारेपछि सदरमुकाममा एकसरो लुगामा आउनुप¥यो । अरूले दाल, तरकारी सबै कुरा मिलाएर खाएको देख्दा हामी पनि घरमा यसैगरी खान्थ्यौँ जस्तो लाग्थ्यो । सबैभन्दा माया त वस्तुभाउको लाग्यो । तिनीहरूले हामी कहाँ गयौँ भने होला ?’ उनी अहिले सरकारी जागिरमा छिन् । तर, विस्थापित हुँदाको पीडा भुल्न सकेकी छैनन् । द्वन्द्वका क्रममा चार सय ४३ जना विस्थापित भएका थिए, तीमध्ये धेरैलाई आफ्नो घर फर्कने वातावरण बन्न निकै समय लाग्यो । त्यतिबेला ध्वस्त भएका भौतिक संरचनाहरू केहीको पुनर्निर्माण भइसक्यो भने केही पुनर्निर्माणको चरणमा छन् । तर, युद्धले भत्काएका तमाम मनहरूको पुनर्संरचना हुन सक्ने कुनै आधारहरू देखिँदैन । द्वन्द्वका घटना हेर्नका लागि ढिलो गरी सत्य निरूपण आयोग त बन्यो, तर आफ्नो छोरा या पतिलाई किन मारियो भनी प्रश्न गर्नै नपाई कतिको मृत्यु भइसक्यो, कतिको प्रश्न मनमै रहिरहेको छ । सशस्त्र युद्ध त युद्ध भइहाल्यो । त्यो सकिएपछि पनि डोटी अन्य धेरै जिल्लाहरूजस्तै अहिले पनि युद्धमै छ, गरिबी र विभेदसँगको युद्ध । सर्वसाधारणले यो युद्धबाट कहिले छुटकारा पाउने हुन् यसै भन्न सक्ने अवस्था छैन ।