छुट्टिमा हाम्रो देश नेपाल गएको समयमा कलेज पढ्दाको एक जना साथी रामसँग धरानमा मेरो भेट भयो । गर्मी भएकोले हाम्रो पसिना बगिरहेको थियो, त्यसैले छाप्री होटेलमा पस्यौं अनि कोका कोला र मम खादै गफ गर्न थाल्यौं ।
रामले सोधे “तपाई त लाहुरे भैसक्नु भएको रैछ थाहा थिएन । तपाई किन भर्ती जानु भयो ?”
मैले भनें -“बाध्यता पनि होइन, अनिवार्यता पनि थिएन सायद धेरै पैसा कमाउने रहरले गर्दा लाहुरे भएँ कि ।”
निक्कै गम्भीर भएर उनले मेरो अनुहारमा हेरे । केही समयपछि उनले भन्न थाले -“लाहुरेहरुले देशको निम्ति के नै पो गरेका छन् काङमाङ जी ? पहिला-पहिला पैसा कमाएर देशमा ल्याउथे । राम्रो घर बनाउँथे, अनि छोराछोरीलाई राम्रो बोर्डिङ्ग स्कूलमा पढाउथे । अहिले त उनीहरुले बनाएका ठूला-ठूला घरहरु ओडार जस्तो रित्तो भएको देखिन्छ । यहाँ भएको श्री सम्पति बेचेर वेलायततिर स-परिवार लिएर जान थालेका छन् । मेरो एक जना गाउँको साथी अस्ति माघ महिनामा परिवारसहित छुट्टमिा आएका थिए । छोराछोरीहरु चिल्ला, सेता र खिरिला, हामीले छुदाँ पनि फोहोर लाग्ला जस्ता देखिन्थे तर नेपाली भाषा भनेपछि फिटिक्क नबोल्ने रै’छन्् । मसँगै पढेका हुन् ति साथी । उनी पनि अंग्रेजी नै बेसी बोल्न रुचाउने भएछन् । उनको छोरीले लुगा लगाएको देखेर छक्कै परेँ म त । गाउँ पनि लगेका रहेछन् । उनको छोरीले लगाएको लुगा देखेर गाउँलेहरुले आँखा छोप्दै हिँडे रे । वीर गोर्खाली भन्नु हुन्छ ? लडाइ गर्ने वीर मात्र हो कि भन्ने मलाई त लाग्यो । हामी वीर हौं मात्र भनेर हिँड्नु हुन्छ, तपाईहरुका छोराछोरीहरुलाई पश्चिमी संस्कार, संस्कृतिले खाई सकेछ । अब कसरी वीर गोर्खालीको पहिचानलाई बचाउनु हुन्छ बेलायतमा ? तपाईहरुले अर्काको देशको लागि लड्नु भयो, आफ्नो देशको निम्ति के गर्नु भयो र ? अहिले बेलायतमै बसोबास गर्न थाल्नु भएको छ । हाम्रो भाषा, संस्कार संस्कृतिहरु बेलायतमा काम लाग्दैन भन्ने सोँचेर बेलायततिर जाँदाजाँदै सबै बाटोमै छाडेर रित्तो जानु भयो कि क्या हो ? हाम्रो भाषा संस्कार संस्कृति बहाँ लगेर हाम्रो नेपाल देशलाई अझ धेरै चिनाउनु हुन्छ होला भन्ने लागेको थियो । यसरी नै यो कुरा तपाईलाई जस्तै त्यो साथीलाई पनि भनेको थिएँ । त्यो साथीले त हाम्रा नानीहरु भनेको हामीभन्दा १० गुणा बुद्विमानी छन् । यो ग्लोवलाइजेसनको बेला बेलायतमा बसेर किन चाहियो र नेपाली भाषा ? संसार भरि अंग्रेजी नै बोलिन्छ । मेरा नानीहरु त गोराहरुसँग पनि फरर नअड्की अंग्रेजी बोल्छन् । त्यो पनि गोराको टोनमा नै । हामी कुवाबाट बाहिर निस्केर बाहिरको संसार पनि हेर्नुपर्छ । उनीहरुको मागलाई पनि हामीले मान्नु पर्छ । तिमी नेपलमा नै बसेर पनि दौरा सुरुवाल लगाएको छैनौ ? टोपी मात्र लगाएको छौ । यस्तो कुरा मसँग नगर ननसेन्स, आदि कुराहरु उनले मलाई भने, म त छक्क परेँ ।”
मैले पनि भनेँ -‘तपाईको कुरा सुनेर छक्क परें’।
उनले भने ‘कसरी ?’
“तपाईको कुरा मैले चुपचाप सुनेँ, अब मेरो कुरा पनि चुपचाप सुन्नु पर्छ अनि किन भनी थाहा पाउनु हुन्छ” भनेँ ।
उनले भने -“रसाउनु भयो कि क्या हो काङमाङ जी ?”
मैले भनेँ -“किन रिसाउनु नि !”
त्यसपछि मेरो पालो बोल्न थालेँ- “रामजी ! तपाइले भन्नु भएका कुराहरु कति जायज होलान् कति नजायज होलान्, हामी यो समय बेलायतमा संक्रमण कालमा छौं जस्तो कि हाम्रो देश नेपालको अहिलेको स्थिति जस्तो । त्यसैले धेरै उतारचढावहरु छन् । तपाईले आफ्नो साथीको उदाहरण मलाई सुनाउनु भयो । कति त्यस्ता नेपालीहरु बेलायतमा होलान् तर एकदुई जना तपाईका साथीहरु त्यस्ता छन् भन्दैमा सबै बेलायतवासी नेपालीहरु त्यस्ता भएछन् भन्नु भयो भने गल्ती हुन्छ । तपाईको साथीहरुका छोराछोरीहरु त्यस्ता छन् भन्दैमा सबैका नानीहरु त्यस्ता छैनन् । विभिन्न जातजातिहरुले आफ्नो संस्कार संस्कृतिहरुको जगेर्ना गरिरहेका छन् । साहित्यिक संघसंस्थाहरुले नेपाली भाषा पठनपाठनको लागि सभा समारोहहरु गरिरहेका छन् । कति स्कुलहरुमा नेपाली भाषा पठनपाठन भैइरहेको छ । चारवटा साप्ताहिक नेपाली पत्रिकाहरु घाटानाफा जे सहेर भए पनि प्रकाशन गर्नु भनेको नेपाली भाषालाई बचाउनको लागि गरिएको ठूलो पहल हो । त्यसैले तपाईले भन्नु भएको कति कुराहरु गल्ती छन् ।”
रामले फेरि कुरा थपे- “नेपाली चाडवाडहरुमा हामी त डिस्को नाच्ोर रमाइलो गर्छौं भन्दै थिए मलाई ।”
“बेलायतमा डिस्को नाच्नु सामान्य कुरा हो, उहाँले नेपाली चाडवाडलाई पनि डिस्को मानेर नाच्नु भयो होला, फरक कुरा हो तर हामीले चाँहि नेपाली चाडवाडको नाममा त्यस्तो डिस्को नाच्न दिएका छैनौं र दिँदैनौ पनि, यदि कसैले नेपाली संस्कार संस्कृतिसँग जोडिएका चाडबाडलाई अनुचित तरिकाले प्रयोग गर्छन् भने हामी त्यस्ता विकृतिको विरोध गर्छौं ।”
मैले अझ अगाडि भनेँ -“अर्को तपाईले उठाउनु भएको कुरो हो । लाहुरेहरुले देशको निम्ति के नै पो गरेको छ र ? रामजी, लाहुरेहरुले बेलायतको लागि अथवा तपाईले भने झै अर्काको लागि सम्पूर्ण जीवन अर्पण गर्दै लडेको करीव २०० वर्ष हुन लागेको छ । इष्ट इण्डिया कम्पनिदेखि अहिले इराक र अफ्गानिस्तानसम्म आइपुग्दा ५० वटाभन्दा धेरै देशहरुमा गौरवशाली युद्व लडी धेरै सफलता पाएका छन् । तपाई हामी सबैलाई थाहा भएकै कुरो हो युद्वको भुमरीमा ६० हजारभन्दा धेरैले वीरगति पाए । सयौंको संख्यामा हराए । पहिले-पहिले हाम्रा पुर्खाहरु वाध्याताले भर्ती लागे । त्यो समयमा गाउँ-गाउँमा राणहरुले हुकुमी उर्दी लगाएपछि भर्ती जानै पर्थ्यो । लडाइ हुँदैछ जान्न भन्न सक्ने कसैको आँट र साहास हुँदैन थियो । त्यसपछि लाहुर जाने प्रथा नै बस्यो । एउटै परिवारको तीन, चार पुस्तासम्म भर्ती भई बेलायतको रक्षाको निम्ति लडे । त्यो रहर थिएन, वाध्यता थियो, त्यसपछि लाहुरे भनेको एउटा रोजगारी बन्यो । अहिले आएर राम्रो पैसा कमाउने सक्ने ठाउँ बन्यो लाहुर घर । अहिले सबै जातजातिहरु भर्ती लाग्न थालेका छन् । कतिले राम्रो पैसा कमाएका छन् । कतिले कमाएका पैसा सामाजिक सेवामा आर्थिक सहयोग गरेका छन् । मानवजातिलाई बाँच्नको लागि समाज चाहिन्छ, समाजलाई निश्चित मार्गमा लैजानको लागि त्यस समाजमा रहेको प्रत्येक ब्यक्तिहरु सचेत हुन आवश्यक हुन्छ अनि मात्र समाजले मान्छेलाई उचित मार्गमा हिँडाउन सक्छ । सम्पूर्ण उर्वर समय लाहुर घरलाई दिए छि ठूलो आशा लाहुरहरुसँग गर्नु पनि उचित नहोला । तर पनि रामजी, लाहुरेहरु अवकाश भएपछि देशलागि धेरै गरिमामय कामहरु गरेका छन् । तपाई बस्नु भएको यो धरान शहर पहिला कस्तो थियो भनेर तपाईको बाजेलाई सोध्नुहोस्, त कस्तो उत्तर पाउनु हुन्छ ? त्यस्तै पोखरा, बुटवल काठमाण्डौका नख्खीबोट आदि ठाउँरहरु हेर्नुहोस् त कति सफा छन् । ती सबै लाहुरेहरुले बनाएका शहरहरु हुन् ।
म बोल्दा-बोल्दै रामले भने- “मैले लाहुरेहरुलाई त्यस्तो नकारात्मक भन्न खोजेको हैन ।”
मैले थमथमाउँदै भन्न थालेँ -रामजी, राणा शाशनको समयमा लाहुरेहरुले गाउँ गाउँमा स्कूलको स्थापना गरेका छन् । जुन समयमा नेपालीहरुले घरमा पनि पढ्न पाउने अधिकार थिएन । मलाई थाहा छ, कसरी लाहुरेहरुले गाउँगाउँमा स्कूलहरुको स्थापना गरे भनेर सोध्नु हुन्छ तपाईले मलाई जब, १९४७ मा भारत स्वतन्त्र भयो त्यो समयमा ब्रिटिसले भारत छाडेर जादाँ गोर्खाहरुको कटौति गरेर राखेको तलव फिर्ता दिने भए । कटौति गरेर राखेको पैसा के गर्छन् ? धेरैजसो अवकाश भैसकेका छन् त्यसैले नेपालको प्रधान सेनापतिसँग सम्पर्क गरी जसरी पनि जम्मा भएको यो रकम ति अवकाश पाएका गोर्खालीहरुलाई फिर्ता दिनु भनी इण्डियाको तत्कालीन प्राधान सेनापतिलाई छाडेका थिए र इण्डियाको तत्कालीन प्राधानले नेपालको तत्कालीन प्रधान सेनापति बबर शम्सेरलाई दिएका थिए । नेपालको तत्कालीन प्रधान सेनापति बबर शम्सेरले भू.पू. गोर्खा अफिसरहरुलाई वि.सं. २००५ साल कार्तिकमा बोलाई पौष महिनासम्म बैठक बसेका थिए । उक्त बैठकमा बबर शम्सेरले यो पैसा तिमीहरुले के गर्छौ भनी सोध्दा भू.पू. लाहुरेहरुले त्यो रकमलाई गाउँ गाउँमा शिक्षाको लागि स्कूलको स्थापना गर्ने र औषधालय/स्वास्थ चौकीको निर्माणमा खर्च गर्ने भनी उक्त बैठकले निर्णय गरेका थिए । त्यसैको आधारमा जिल्ला जिल्लामा डिस्ट्रिक सोल्जर बोर्डको स्थापना गरेर नेपाल सारकारले एक एक जना कर्मचारी खटाएका थिए । त्यस बोर्डको अध्यक्ष र उपध्याक्षमा भू.पू. लाहुरेहरुलाई नियुक्ति गरिएका थिए । उक्त बैठकमा पूर्वी नेपालबाट भू.पू.क्याप्टेन कमान सिंह, सरदार बहादुर लिम्बू, चैनपुरबाट जगत बहादुर याख्खा, भोजपुर निवासी सरदारबहादुर हर्क राज राई उनले पहिलो विश्व युद्वमा सरदारबहादुर पदक पाएका थिए । सरदार बहादरु मान सेर र्राई थिए भने नेपालको पश्चिम भागबाट धेरै जना सहभागी भएका थिए जसमा ६ गोर्खा राइफलका हेनरी क्याप्टेन रडक सिंह गुरुङ्ग, ४ गोर्खा राइफलका हनेरी क्याप्टेन नर बहादुर गुरुङ्ग, (उनी पछि मन्त्री पनि भएका थिए ) । ९ गोर्खा राइफलको तर्फबाट अगन्धर क्षेत्री आदि लगायतका भू.पू. लाहुरेहरु उपस्थित भई उक्त कटौति फिर्ताबाट आएको पैसा स्कूल र औषधी उपचारमा लगाउने वैठकले निर्णय गरेका थिए, त्यसपछि गाउँ गाउँमा एकएक जना प्रतिनिधि तोकी स्कूलहरुको स्थापना गरेका थिए । जस्तै भोजपुरको तिम्मा गा.वि.स. मा चहक मान राईलाई खटाएका थिए भने भोजपुरकै सानो दुङ्गमामा भू.पू. सुबेदार जीत वीर राईलाई खटाएका थिए । यसरी भू.पू. लाहुरेहरुको पसिना, रगत जीवनसँग साटेको पैसाले नेपालमा शिक्षाको ज्योति छर्ने काम गरेका छन् रामजी, सायद तपाईलाई थाहा थिएन होला ।”
उनी लाटाले पापा हेरेझै मलाई हेर्दै मेरो कुरा सुनिरहेका थिए ।
“अझै पनि ब्रिटिस वेयलफेयर सोसाइटीमार्फत गाउँहरुमा स्कूलहरुको स्थापना भइरहेका छन् । जुन रकम नोकरीमा सेवारत मजस्ता लाहुहरुले एक दिनको तलव काटेर दिने गरेका छन् । अर्को कुरा, नेपालमा रेडियो स्टुडियोको स्थापना भोजपुरमा भू.पू. लाहुरे नारादमुनि थुलुङ्गको नेतृवमा भएको हो । पछि नेपाली काँग्रेसले विराटनगरमा सारेका हुन् । अहिले हाजिर जवाफ प्रतियोगताहरुमा सोध्ने गरिन्छ -‘नेपालमा सबैभन्दा पहिले रेडियो स्टुडियोको स्थापना कहाँ भएको हो ?’ उत्तर आउँछ -‘विराटनगर’ । ठीक भनी ताली बजाइन्छ । २००७ सालमा राणा शासनको विरुद्वमा भोजपुर जिल्लाबाट भू.पू. लाहुरेहरु नारदमुनि थुलुङ्ग, राम प्रसाद राई आदिले हतियार उठाएका थिए । उनीहरुले भोजपुर, खोटाङ्ग, ओखलढुङ्गा, संखुवासभा, धनकुटा आदि ठाउँहरुमा राणाहरुलाई परास्त पारेका थिए । त्यति मात्र हैन, विरगंज, विराटनगर जस्ता ठाउँहरुमा भोपुरबाट किराती सेनाहरु पठाई सहयोग गरेका थिए ।”
मैले यी कुराहरु भन्दाभन्दै उनी झस्किए । म थाहा नपाएजस्तो गरेर सरासर बोलिरहेँ ।
नेपाली भाषामा पहिलो फोन-इन कार्यक्रम चलाउने भू.पू. लाहुरे किशोर गुरुङ्ग हुन् । पहिलो नेपाली गायक मास्टर मित्र सेन ती सबै भू.पू. लाहुरेहरु हुन् ।”
मेरो कुरा सुनेपछि -काङमाङजी, लाहुरेहरुले देशका लागि उल्लेखनीय कामहरु गरेका रै’छन् । मैले धेरै भू.पू. लाहुरे अफिसरदेखि तल्लो ओदाहाकाहरुसँग काम गरेँ । कुनै सभा समारोहहरुमा उनीहरुसँग बस्दा आफै मात्र सही, आफ्नै कुराहरु मात्र साँचो भनी धेरै ढिपी गर्ने र उनीहरुको विरुद्वमा बोल्यो भने त सतुर नै भन्ने । उनीहरुले बोलेका कुराहरु सही होस् या गलत, मान्नै पर्ने नत्र निर्देशन दिन पनि पछि नपर्ने खालकाहरुसँग उठबस भए, त्यसैले मैले लाहुरेहरु भन्न पुगेँ माफी पाऊँ” भनी उनले शिर झुकाए ।
मैले भनेँ -“तपाईले माफी माग्नु पर्दैन, हामीहरुमा पनि केही विकृतिहरु छन् होला त्यसलाई सुधार्न जरुरी छ । सबै मानवजातिमा राम्रो र नराम्रो पक्षहरु हुन्छन्, यी कुराहरुलाई विचार पुर्याएर खण्डन गर्न आवश्यक हुन्छ जस्तो लाग्छ रामजी ।”
लाहुर घरमाझै बाहिर सिभिल समाजमा पनि शासन लाद्न खोज्ने तिनीहरु मुर्ख हुन् कि होइनन् भनी उनी बच्चैमा बोली निस्के । साँचो कुरालाई साँचो भन्न मलाई कर लाग्यो । हात मिलाउँदै ‘म हतारमा छु काङमाङजी, भेट गर्दै गरौँ’ भनी उनले विदा मागे, त्यसपछि हामी छुटियौं । आर्मीबाट अवकाश पाएपछि पनि सिभिल समाजमा आर्मीमा हुँदाझै आर्मीकै जस्तो गर्ने को होलान् ? आज मैले तीनका कारण भनाइ खानुपर्यो सोंच्दै घरतिर लागे ।
-बेलायत,
प्रतिक्रिया