पात्र विश्वबन्धु थापा

पात्र विश्वबन्धु थापा


sn-karki-5

■ स्वयम्भूनाथ कार्की

किताबमा जति स्थानमा बीपीले विश्वबन्धु थापाको उल्लेख गरेका छन् त्यहाँ उनलाई नकारात्मकताको छिटा परेको सशक्त पात्रको रूपमा देखाएका छन् । विश्वबन्धुको त्यति धेरै उल्लेख पनि छैन जो स्वाभाविक नै लाग्दछ, तर जति उल्लेख छ त्यो टार्न नसकिने भएकाले आएको छनक पाइन्छ । ००७ सालको क्रान्तिमा हतियार उठाउनेहरूमा जस–जसको नाम बीपीले सम्झेका छन् तिनीहरू सबै जसोको पृष्ठभूमि कतै कुनै रूपले उल्लेख गरेका छन् । उनले पृष्ठभूमि उल्लेख नगरेका थोरै पात्रहरूमध्ये विश्वबन्धु एक हुन्, जसको स्वभाव चित्रणमा उरन्ठेउलो, महत्वाकाङ्क्षी भनेका छन् । अवसरवादी पनि भएको छनक दिएका छन् । विराटनगरको पहिलो मुठभेडमा माल अड्डा कब्जाको असफल प्रयास र त्यसमा भएको क्षतिको वर्णनमा ‘विश्वबन्धुको त्यहाँ महत्वपूर्ण भूमिका थियो, त्यसमा शङ्का छैन’ भनेर परिच्छेदमा २४मा भनेका छन् । झलक्क हेर्दा यो विश्वबन्धुको प्रशंसाजस्तो देखिए पनि यसको तुरन्तै पहिले विराटनगरको बडाहाकिम उत्तमविक्रमसँग आउने–जाने र उरन्ठेउलो भनिनाले यो कब्जा असफलताको दोष अप्रत्यक्ष रूपमा बोकाउन खोजेझैँ लाग्छ ।

आमनिर्वाचनमा नेपाली काङ्ग्रेसमा बीपीको निर्णय सर्वोपरि हुने गरेर संसदीय समिति बनेको थियो । यो कुरा परिच्छेद ४३मा उल्लेख छ, यसो हुँदा टिकट वितरणलगायतका चुनावी कार्यहरूमा बीपीकै कुरा अन्तिम हुन्थ्यो । बीपी भन्छन्, ‘अरू मान्छेलाई थाहा पनि थिएन, सुवर्णजीलाईसम्म थाहा थिएन को मान्छे के हुने हो भनेर । त्यसभन्दा पनि जिताउने प्रचारक त म नै थिएँ ।’ किताबमा उल्लेख भएअनुसार बीपीको टिकट वितरणको निर्णयमा कसैको दाबीले असर गरेन । तर, केवल विश्वबन्धु मात्र भए जसले बीपीले नचाहे पनि टिकट लिइछोडे, त्यो पनि तोकिएको होइन रोजेको क्षेत्रमा, अनि जितेर पनि देखाइदिए । गोरखाबाट लड्न भनेकोमा विश्वबन्धुले चितवन दाबी गरेको कुरा परिच्छेद ४५मा यसरी उल्लेख छ, ‘होइन चितवनमा मैले घर बनाएको छु । म चितवनमा लड्छु भन्न थाल्यो । चितवनमा बखान सिंह थिए हाम्रो पुराना मानिस ।’ अगाडि भन्छन्, ‘म भनिरहेको छु उसलाई कि तँ गोरखा जा । यो विश्वबन्धुको के चरित्र छ भने भयानक महत्वकाङ्क्षा, व्यक्तिगत महत्वकाङ्क्षा छ । अरू कुनै कुराको त्यसलाई परहेज छैन । मलाई यसबाट बडो तुच्छता लाग्यो ।’

नेपाली काङ्ग्रेसभित्र यसरी विश्वबन्धुको एक सशक्त उपस्थिति देखिन्छ । उनले जे प्राप्त गरे त्यो कुनै नेता वा अन्यको दया वा कृपाबाट होइन सङ्घर्षबाट प्राप्त गरे । किताबमा उल्लेख भएअनुसार सामान्यतया बीपीको स्वभाव आफ्नो कुरा माथि पार्न सक्ने बलियो नेताको देखापर्दछ । विश्वबन्धुले बीपीको चाहानाविपरीत क्षेत्र हासिल गरे, टिकट हासिल गरे अनि चुनाव पनि जिते । यतिमा मात्र सीमित भएनन्, संसद्मा मुख्य सचेतकको पद पनि लिन सफल भए । बीपी सचेतकको कामबाट सन्तुष्ट थिएनन् तैपनि विश्वबन्धुले या त मन्त्री बनाउन वा मन्त्रीसरह सुविधा दिन मागसमेत गरे । बीपी विश्वबन्धुको कामबारे आफ्नो धारणा परिच्छेद ४७मा यसरी बताउँछन्, ‘मुख्य सचेतकले जो काम बिगार्न सक्छ, त्यो उसले बिगा¥यो ठीक उसले आपूmले गर्नुपर्ने कामको उल्टो गथ्र्यो ।’

पार्टी अध्यक्ष, संसदीय दलको अध्यक्ष दुवैको अधिकार हातमा भएका बीपीलाई मुख्य सचेतक फेर्न केले रोकेको थियो, त्यो भने अनुत्तरित नै छ । मुख्य सचेतकको हैसियतमा विश्वबन्धुले माग गरेको एउटा कार, दुई–तीनजना सेक्रेटरी, एउटा घर इत्यादिको माग भने बीपीले पूरा नगरेको अनुमान हुन्छ । बीपीको सोचमा मुख्य सचेतक हुँदा अलिकति लेखापढीको काम मात्र थपिने हो, त्यसैले जे माग्यो दिएर पुलपुल्याउनु ठीक होइन भन्ने थियो । किताबमा उल्लेख गरिएका अन्य घटनाहरूलगायत नेपाली काङ्ग्रेसले विरासतमा प्राप्त गरेको पार्टी सभापतिको अवशिष्ट अधिकार जो अहिले पनि सङ्गठनमा देखिन्छ, आदिको सन्दर्भ हेर्दा विश्वबन्धुको सचेतक पदले नै निरन्तरता पाउन कठिन हुनुपर्ने थियो । तर, त्यो भएन, उल्टै विश्वबन्धुको मन्त्री पदमा दाबी रह्यो । उनको बीपीको आदेशको विपरीत गएर पनि दाबी गर्न सक्ने व्यक्तित्वको अन्तरतलमा कुन टेवा थियो त्यो भने यस किताबमा भेटिँदैन ।
अझ नेपाली काङ्ग्रेसको सातौँ अधिवेशनमा त विश्वबन्धुले नेतृत्वलाई कठघरामा नै उभ्याइदिए । परिच्छेद ५४मा बीपीको भनाइ छ, ‘त्यसमा विश्वबन्धुले सरकारलाई पूरा च्यालेन्ज दिएजस्तो लाग्यो ।’ करिबकरिब हरेक नीति तथा कार्यक्रमको आलोचना भयो । बीपी भन्छन्, ‘पूरा विघठनकारी भूमिका उसको रह्यो । र, एकपटक त बडो सङ्कट पनि उसले सिर्जना ग¥यो । आधिकारिक लाइन नै परास्त हुन्छ जस्तो लाग्यो ।’ उनले उठाएका कुराको बीपीले जवाफ दिइसकेपछि भने प्रस्ताव फिर्ता लिए । यो कुरा किताबमा यसरी उल्लेख छ, ‘अनि मनेर आएर माफी माग्छ र भन्छ, त्यो कुरा मैले फिर्ता लिएँ, उहाँले अनुरोध गरेको हुनाले । बडो उदार भएर मलाई बचाउनका निम्ति जस्तो हामीले उहाँको हात बलियो गर्नुपरेको छ भनेर प्रस्ताव फिर्ता लिएको छ ।’ यसरी किताबमा विश्वबन्धुको पात्रता केही नकारात्मक लिएर पनि सशक्त अनि बेवास्ता गर्न नमिल्ने देखिन्छ ।