पात्र भरतशमशेर

पात्र भरतशमशेर


sn-karki

■ स्वयम्भूनाथ कार्की

बीपीले किताबमा भरतशमशेरको उल्लेख निकै कम स्थानमा गरेका छन् । तर, बीपीको सम्पूर्ण जीवनमा निकै ठूलो परिवर्तन गर्ने मोड ल्याउने पात्र हुन् भरतशमशेर । यसको प्रस्ट छाप यो किताबमा पनि छ । राजनीतिमा हिजोको शत्रु आजको निकटतम् मित्र हुन सक्छ भन्ने कुराको बलियो प्रमाण भरतशमशेर हुन् । चन्द्रशमशेरको नाति, मोहनशमशेरको भतिजा भरतशमशेरको किताबमा पहिलो उल्लेख बीपी राणा–काङ्ग्रेस संयुक्त सरकारको गृहमन्त्री हुँदाको बेलामा आएको छ । श्री ३ खोसिएका राणाहरूले दल खोल्ने प्रयत्न गर्नु कुनै अस्वाभाविक कुरा थिएन न अवैध थियो । त्यही भएर त भरतशमशेरको गिरफ्तारीपछि प्रधानमन्त्री मोहनशमशेर र गृहमन्त्री बीपीको कडाकडी बहस भयो । परिच्छेद ३४ अनुसार मोहनशमशेरले भरतलाई किन गिरफ्तार गरेको भनेर सोधे । बीपीले उसको बारेमा धेरै रिपोेर्ट आएकोले गिरफ्तार गरिएको भनेपछि मोहनशमशेरले नियमको कुरो निकाले, सङ्गठनको अध्यक्ष म नै हुँ पनि भने । बीपीले पनि मोहनशमशेरलाई गिरफ्तार गर्न सक्ने बताए । त्यसको लगत्तैजस्तो पछि ‘खुकुरी दल’ आक्रमण भयो ।

हुन पनि भरतशमशेरलाई गिरफ्तार गर्ने कारणमा प्रमुख तत्व राणापट्टि हतोत्साह ल्याउनु थियो । यो कुरा त्यही परिच्छेदमा बीपीले स्वीकार गरेका छन् । ‘मैले किन समात्न भनेको भने त्यसलाई समातेको खण्डमा एउटा हतोत्साह आउँथ्यो उतापट्टि । नत्र उनीहरूलाई कसले समात्न सक्छ यो रोलवाला राणाहरूलाई भन्ने थियो । त्यसो हुनाले पनि समात्न जरुरी थियो ।’ बीपीको यो कदमले उनको ज्यान पनि लिन सक्थ्यो भन्ने कुरा त्यतिखेर उनलाई थाहा थिएन । खरीको बोटमा केशरशमशेरले पल्टन संयमित राख्ने र जेल तोडेर ल्याइएको भरतशमशेरले अरूलाई नियन्त्रण नगरेको भए शायद के हुन्थ्यो भन्न सकिन्न । ‘भन्थ्यो ऊ (भरतशमशेर)पछि या तपाईं रहने या म रहने प्रश्न थियो,’ ‘मलाई के लाग्यो भने, म पल्टनलाई अपिल गरूँ । तर, त्यो गरेको भए तपाईंलाई मार्नुपथ्र्यो ।’

Bharat Shumser 2

श्री ३ र उनका रोलक्रमवाला बीपीलाई समाप्त गर्न चाहँदैन थिए जस्तो बुझिन्छ । उनीहरूको देखाइमा राजाका कारणले उनीहरूको यो स्थिति भएको थियो र नेपाली काङ्ग्रेस राजाको टिममा थियो । यो टिम फुटाउनु थियो, भविष्यमा राजा र बीपीलाई एक–अर्काको सामुन्ने उभ्याउनु थियो, त्यसैले बीपीको ज्यान उनीहरूको निमित्त महत्वपूर्ण थियो । आवेशमा आफ्ना समर्थकले बीपीको जति क्षति पु¥याए त्योभन्दा ज्यादा क्षति नहोस् भनेर रोके पनि । त्यसैले विजयशमशेरले तुरुन्तै फोन गरेर आफ्नो बिजुली गारद बीपीको सुरक्षालाई पठाउने कुरा गरे । सोचेका हुन सक्छन् यो हमलाबाट तर्सेर आपूmले पढाएको सहायताको हात बीपीले थाम्लान् र राजा काङ्ग्रेसको टिमको साटो राणा काङ्ग्रेसको टिम बन्ला । तर, महाराजाधिराजकहाँबाट योगविक्रम निरक्षणमा आए र बीपी दरबारमा बस्न गए । यसले उनी राजाका विशेष नजिक आउन पाए । यस अगाडिसम्म राजपरिवार र बीपीबीच रहेको औपचारिकतायुक्त सम्बन्ध पारिवारिकभैmँ बन्यो । परोक्ष रूपमा यसको कारण भरतशमशेर नै बने ।

बीपीले भरतशमशेरलाई गिरफ्तार गर्नु, गोेर्खा दलकाले जेलबाट भरतशमशेरलाई छुटाएर बीपीमाथि हमला गर्नु एक–अर्काको विरुद्धका घटना भए पनि त्यसपछि भने भरतशमशेर हमेसा बीपीका सहयोगी बने । जुन बेला संसद्मा नेपाली काङ्ग्रेसको प्रमुख विपक्षी दलको नेता भरतशमशेर थिए उनले बीपीलाई बल दिइरहे । परिच्छेद ५४ मा बीपी भन्छन्, ‘विरोधी पक्षको नेता भरतशमशेर आएर मलाई के प्रतिज्ञा ग¥यो भने– यस संसद्लाई तपाईंलाई बिथोल्ने कोसिस भयो भने मेरो पार्टीका १८ जना सदस्यले तपाईंलाई समर्थन गर्नेछन् ।’ यो बीपीको निमित्त यति ठूलो सहारा भयो कि उनले यसैको मद्दतले नेपाली काङ्ग्रेसभित्र टाउको उठाउन लागेको आफ्नो विरोध बेलैमा दबाउन पाए । पछि त गोर्खादल नै नेपाली काङ्ग्रेसमा विलय नै भइहाल्यो । एक–अर्काको विरुद्ध उत्रेका भन्ने ठानिएकाहरू यसरी एक नै भए एक–अर्काको सहयोगी मात्र भएनन्, बरु एकाकार नै भए । अब यो सहकार्य थियो, सहयात्रा थियो, सैद्धान्तिक एकरूपता थियो वा स्वार्थको मिलन त्यो सबैको आ–आफ्नो परिभाषा होला ।

०१७ सालको कदम चालिँदै छ भन्ने जानकारी भरतशमशेरले पनि बीपीलाई दिएका थिए । पुस १ कै दिन बिहान सबेरै बीपीलाई ओछ्यानमै भेट्न भरतशमशेर आए । उनले राजाले कदम चाल्दै छन् भन्ने सङ्केत गरे । राजाले आफूलाई दर्शनभेटको निमित्त बोलाएको कुरो पनि बताए । यो घटनाको वर्णन परिच्छेद ५६मा छ । शायद राजाले बीपी अपदस्त गरेर भरतशमशेरलाई प्रयोग गर्न खोजेका थिए कि भन्ने छनक यहाँ पाइन्छ । तर, त्यसो भएन, तीन बजेतिर भरतशमशेर नारायणहिटी ढोकामै समातिए । यता बीपीहरू एक बजेको आसपास नै समातिएका थिए । सम्भवतः बिहानै भरतशमशेर बीपीसँग ओछ्यानमै भेट्न गएको राजाले थाहा पाइसकेका थिए वा उनलाई त्यहीँ पक्राउ गर्ने योजना थियो त्यो अनुमान कठिन छ । एक बजे बीपी पक्राउको खबर भरतशमशेरले पाएका थिएनन् होला भन्ने कुरा अलि अपच हुन्छ, तर बीपीपछि म नै शक्तिमा हुन्छु भनेर गएको पनि हुन सक्छ । जेसुकै होस्, भरतशमशेर एक अद्भूत पात्र हुन् यस किताबको जसले सम्भवतः आफ्नो ‘श्री ३’ ओहोदा खोसिएको मोल बीपीलाई आफ्नोतर्पm पारेर राजाहरूसँग असुल गर्न खोजे ।