एनआरएन यूकेको प्रेस विज्ञप्ति

एनआरएन यूकेको प्रेस विज्ञप्ति


लण्डन / एनआरएन यूकेको कार्यसमितिको बैठक यही जुलाई २ मा फार्नवोरोमा सम्पन्न भएको छ । बैठकमा संघले आगामी अगष्ट १४ मा आयोजना गर्ने च्यारिटी डिनर कार्यक्रम, जुलाई २३-२५ मा मस्कोमा आयोजना हुने छैटौं क्षेत्रीय सम्मेलन र सेप्टेम्बर ११ मा सम्पन्न हुने एनआरएन यूकेको साधारण सभा तथा कार्यसमितिको निर्वाचन सम्बन्धमा छलफल गरी निम्नलिखित महत्वपूर्ण निर्णयहरु लिईएको कुरा यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदछु ।

क। मस्कोमा आयोजना हुने छैटौं क्षेत्रीय सम्मेलनमा यूकेबाट २६ जनाको प्रतिनिधि मण्डलले भाग लिने भएको छ । उक्त सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न एनआरएन यूकेको तर्फबाट आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनमा यूकेवासी नेपालीहरुको प्रमुख आवश्यकता र चासोको विषय रहेको दोहोरो नागरिकतालाई प्रमुखताकासाथ उठाउने निर्णय लिईएको छ । एनआरएनको ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई सार्थक बनाउन एनआरएनको केन्द्रिय समितिलाई आवश्यकतानुसार गम्भीर बनी निर्णायक पहल गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

ख। एनआरएन यूकेको आपतकालीन राहत कोषको अभिवृद्धिको लागि संघले आगामी अगष्ट १४ तारिख बेलुकि ६ वजे रेडिङको शेहनाई होटलमा आयोजना गरिने च्यारिटी डिनरलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । जसको लागि उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा थर्क सेन, टुका क्षेत्री, जिवनारायण बेलवासे, प्रेम गुरुङ्, केदार थपलिया, राजकुमार त्रिपाठी र यादव श्रेष्ठ रहेको व्यवस्थापन समिति र रि.मे. डमर घले, विश्वआदर्श पण्डित, महेश गुरुङ, पशुपति भण्डारी, ध्रुव के.सी., आङ कलजङ लामा, मोहन गुरुङ, चन्द्र लक्सम्बा, शेर सुनार, शिवजी श्रेष्ठ र कृष्ण भट्ट रहेको सल्लाहाकार समिति गठन गरेको छ । उक्त डिनर कार्यक्रममा नेपालबाट आमन्त्रित आशीष एण्ड नेख्भाम सांगितिक समूहको विशेष सांगितिक प्रस्तुति गरिने छ । उक्त कार्यक्रममा सहभागी बनी आपतबिपतमा परेका नेपालीहरुलाई राहत दिने काममा सहयोग गरिदिनु हुन यूकेमा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा महानुभावहरुलाई हार्दिक अनुरोध गर्ने निर्णय गरेको छ । उक्त च्यारिटि डिनरको प्रवेश शुल्क ३५ पाउण्ड निर्धारण गरिएको छ ।

ग। एनआरएन यूकेको आगामी सेप्टेम्बर ११ मा अल्पटन कम्युनिटि स्कूलको सभाकक्षामा आयोजना हुने चौथो साधारण सभा तथा कार्यसमितिको निर्वाचनको सम्बन्धमा यहाँका नेपाली समाचार माध्यमहरुमार्फत निर्वाचनसम्वन्धी सूचना सार्वजनिक गर्ने निर्णय लिईएको छ । बैठकले एनआरएन यूकेको सम्पूर्ण सदस्यहरुको समयावधि यही साधारणसभा अगावै समाप्त हुने हुँदा आगामी अगष्ट २० तारिख बेलुीक् ५ वजेसम्ममा आ-आफ्नो सदस्यता नव्करिण गरिसक्न सम्पूर्ण सदस्यहरुलाई सार्वजनिक आव्हान गरिएको छ । साथै नयाँ सदस्यता लिन चाहने व्यक्तिहरुले पनि सोही समयावधिभित्र नयाँ सदस्यता लिईसक्न हुन पनि आब्हान गरिएको छ । सदस्यताको नव्करिण शुल्क तथा नयाँ सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ ।

साथसाथै,
वेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रिय सभापति सुशील कोइरालासंग एनआरएन यूकेको प्रतिनिधिमण्डलले भेट गरी नेपालको नयाँ संविधानमा एनआरएनहरुको दोहोरो नागरिकताको व्यवस्था र देशको समसामयिक राजनीतिको विषयमा गम्भिर छलफल गरेको छ । भेटमा नयाँ संविधानमा ‘एकपटकको नेपाली सधैंको नेपाली’ भई बाँच्न पाउने गैरआवासीय नेपालीहरुको नैसर्गिक अधिकारलाई सुनिश्चित गराउन नेपाली कांग्रेसको तर्फबाट आवश्यक सहयोगको लागि माग गरिएको थियो । भेटमा कोइरालाले एनआरएनले उठाउँदै आएको सबै विषयहरुमा नेपाली कांग्रेस सधैं सकारात्मक र सहयोगी रहँदै आएको कुरा प्रष्टयाए । उनले एकपटक नेपाली नागरिक रहेका नेपालीहरुले विदेशी नागरिकता लिँदा नेपाली नागरिकता नगुम्ने गरी संविधानमा व्यवस्था गर्न आफूले आवश्यक पहल गर्ने विश्वास दिलाए । उनले नेपाली कांग्रेसले यस विषयको गमभ्रति बुझेको र दोहोरो नागरिकताको प्रावधान नेपालको उन्नति प्रगतिको लागि नै रहेकोले यस विषयलाई नेपाली कांग्रेसले सधै सकारात्मक रुपमा लिँदै आएको कुरा बताए । उनले आफू नेपाल पुग्नेवित्तिकै यस विषयमा अन्य दलका नेताहरु र संवैधानिक समितिका सभापतिसंग कुरा गरी आवश्यक काम अगाडि बढाउने विश्वास दिलाए । संघको तर्फबाट कोइरालाको यस सहयोगी अभिव्यक्तिको लागि हार्दिक आभार प्रकट गरिएको छ ।
-भक्त गुरुङ