लण्डन । विगत ६० वर्षदेखिको सबैभन्दा भयंकर सुक्खाको कारणले गर्दा अफ्रिकाको पूर्वी क्षेत्रमा एक करोडभन्दा बढी मानिसहरु खाना नपाएर महामारी र रोगको चपेटमा ग्रस्त भएको समाचारहरु सहयोगमा गएका दातृसंस्थाका कर्मचारीहरुबाट थाहा हुनआएको छ । भीषण सुक्खाको कारणले गर्दा केन्या, सोमालिया, इथियोपिया, जिबुटी र उगाण्डाका अन्न बालीहरु सबै नष्ट भएर गएका छन् । च्यारिटीमार्फत मद्दत गर्न गएका कर्मचारीहरुले यसलाई एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो खाद्यान्न संकट भनेका छन् र यसबाट सुक्खाका कारण चपेटमा परेकाहरुका राहतका लागि कैयौं मिलियन पाउण्ड रकमको मद्दत चाहिएको कुरा जाहेर गरेका छन् ।
सेभ द चिल्ड्रेन नामक संस्थाले आज चालीस मिलियन पाउण्ड हजारौ बच्चाहरुलाई मर्नबाट बचाउनकालागि सहयोग अपिल गरेको छ । त्यस्तै अक्सफामले ५० मिलियन पाउण्डको सहयोग रकमका लागि अपील गरेको छ । पानीको कमीले गर्दा खाद्य वस्तुहरुमा हाहाकार मच्चिएर मूल्य बृद्धि २४० प्रतिशतसम्म पुगेको छ । बाँच्नकालागि संघर्ष गरिरहेका मानिसहरुको सोचनीय अवस्था छ । आधाभन्दा बढी सहयोग बच्चाहरुलाई बचाउनका लागि माग राखेको छ । खाद्य संकटको कारणले गर्दा प्रत्येक घरका गाई वस्तुहरुलाई खुवाउने चारा नभएकोले घरको छानाको खर थुत्दै खिलाउन बाध्य हुन परेका छन् । राष्ट्र संघको प्रतिवेदनअनुसार यस क्षेत्रमा सन् १९५०-५१मा भीषण सुक्खा परेको थियो । त्यसपछि बेलाबेलामा सुक्खाको कारण संकटग्रस्त हुँदै आएको छ । सोमालिया र केन्याका केही क्षेत्रहरुमा विगत २ वर्षभित्र एक थोपा पानी नपरेको प्रतिवेदन राष्ट्र संघले दिएको छ । ६० प्रतिशतभन्दा बढी गाई वस्तुहरु त्यसै खाना र पानीको अभावले मरेका छन् भने बाँचेका मरणासन्न वस्तुभाउहरु बेच्न सक्दैनन् । यदि समयमा नै सहयोग नपुगे हजारौं बच्चाहरु खानाको अभावले खाना नपाएर मर्ने कुरा प्रत्यक्षदर्शीहरुले बताएका छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया