रम्घाका भानुभक्त रोम्फोर्डमा

रम्घाका भानुभक्त रोम्फोर्डमा


रोम्फोर्ड, यूके । अनेसास, यू केले गत आइतबार ३ जुलाईका दिन लण्डनको रोम्फोर्डस्थित एसिया एक्सप्रेसमा १९८ औं भानुजयन्ती मनाएको छ । पण्डित निलहरि घिमिरेको गायत्री मन्त्र र बिकल आचार्यको स्वागतसहित जया लक्ष्मी राईको सभापतित्वमा सम्पन्न भएको उक्त
कार्यक्रममा बेलायती राजदूताबासका मिनिस्टर काउन्सिलर झबिन्द्र प्रसाद अर्याल प्रमूख अतिथि थिएभने नेपाली दूताबासका प्रतिनिधि तृतीय सचिब गणेश अधिकारी बिशेष अतिथि,थिए ।
मिनिस्टर काउन्सिलर अर्यालको बेलायतको लागि कार्यकाल समाप्त भएकोले यही भब्य समारोहबीच अनेसास यू केद्वारा उनले अविछिन्न रुपमा संस्थाको प्रगतिको लागि दिएका सल्लाह र सुझाबको लागि आभार प्रकट गर्दै उनको भविष्यको उत्तरोत्तर प्रगतिको कामना गरी मायाको चिनो उपहारसहित बिदाइ कार्यक्रम पनि सम्पन्न गरेको थियो । मन्तव्यको क्रममा मिनिस्टर काउन्सिलर अर्यालले तनहुँको रम्घामा जन्मेका भानुभक्तलाई लण्डनको रोम्फोर्ड सम्म ल्याएकोमा अनेसास यू केप्रति गर्ब लागेको बताए । आफू सदैब साहित्यप्रति आकर्षित रहेको र अनेसास यू केले नेपाली भाषा, साहित्य र संस्कृतिलाई बेलायतमा फैलाउन गरेको कामको सह्राहना गर्दै आफू उपस्थित हुन नसक्ने भए पनि अगस्तमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनको सफलताको लागि शुभकामना दिए । अनेसास यू केलाई आफू जहाँ रहे पनि उत्तिकै माया गरिरहने कुरा राख्दै अनेसासका मित्रहरुलाई नेपालको परराष्ट्र मन्त्रालयमा भेट्न निम्ता दिए ।
सचिब अधिकारीले महामहिम राजदूत डा सुरेशचन्द्र चालिसे (अनेसास यू केका संरक्षक)ले पठाएका संदेश पढेर सुनाउंदै नेपाली राजदूताबास अनेसासको उत्तरोत्तर प्रगतिको कामना गर्दछ र त्यसको लागि सहयोग गर्न सँधै तत्पर छ भने, बेलायतभरिका साहित्यकारहरुका बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा गोपी प्रसाईले आदिकबिको जीवनीमा प्रकाश पारेका थिएभने डा। रुपक श्रेष्ठले भानुभक्तको रामायणमाथि संक्षिप्त समालोचना गरेकाथिए । खगेन्द्र पाठकले बेलायतमा हुर्किंदै गरेका नेपाली नयाँ पुस्तामा नेपाली भाषा र संस्कार हस्तान्तरन गर्नका लागि अनेसास यू केले खेल्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पारे । माया क्यालेन्डर, सुशिला बुढाथोकी, सुमल गुरुङ, अजिता सिम्खडा, शशी सुब्बा थापा, बिजय हितान र रुपक श्रेष्ठले आ-आफ्ना रचनाहरु सुनाएभने समयको अभाबले गर्दा थुप्रै कबि तथा कबयितत्रीहरुले सुनेर मात्र चित्त बुझाउन बाध्य हुनुपरेको थियो । यू के च्याप्टरका अध्यक्ष होम परिबागले नेपाली बांग्मयको श्रीबृद्दिको लागि अनेसासको हरेक कार्यक्रमलाई दूताबासको सहयोगले अझ सशक्त भएर लाग्न प्रेरणा दिएको छ भन्दै अनेसास यू केले अरु थुप्रै योजनाको तयारी गरिरहेको बताए । प्रमूख संयोजक जया लक्ष्मी राईले आगामी अगष्टको २६ र २७ तारिखका दिन हुने अनेसासको अन्तर्राष्ट्रिय सम्मेलनको बारेमा प्रकाश पार्दै सबैलाई उक्त ऐतिहासिक समारोहमा उपस्थित हुन निम्ता दिएर सभाको बिसर्जन गरिन् ।
महासचिव लाराको कलात्मक प्रस्तुतिमा संचालन भएको उक्त सभा बिकल आचार्यको प्रायोजनमा भब्य रात्रिभोजका साथ खूब जमेको थियो ।-रुपक