पात्र राममनोहर लोहिया

पात्र राममनोहर लोहिया


sn-karki-5

■ स्वयम्भूनाथ कार्की

भारतीय राजनीतिक अखडामा महत्वपूर्ण स्थान भएकाहरूमध्ये निकैको बीपीलाई बीपी बनाउन योगदान छ । गान्धीजीजस्ता नामहरू बीपीको व्यक्तित्व निर्माणमा महत्वपूर्ण स्थान राख्ने भए पनि प्रत्यक्ष भेटघाट, कुराकानी भएको नाम होइन । तर, तत्कालीन भारतको स्वतन्त्रता आन्दोलनको एक सिपाही पनि भएको नाताले स्वतन्त्रता सेनानीहरूसँग कुनै न कुनै किसिमको पहुँच भने थियो । जेलमा सँगै भएको बेला होस् वा बाहिर सङ्घर्षको बेला बीपीले हमेसा कान्तिनायकहरूबाट अतिरिक्त स्नेह पाउने गरेका थिए । विदशीले साथ दिएकोमा कृतज्ञता हो वा अय कुनै कारण थियो त्यो खोतल्ने काम अनुसन्धाताहरूको हो । यो आलेख किताबमा आएका एक अर्का भारतीय स्वतन्त्रता आन्दोलन, सोसलिस्ट आन्दोलन अनि स्वतन्त्र भारतमा पनि असरदार स्थान भएका पात्र राममनोहर लोहियाबारे हो ।

जर्मनबाट फर्केका राममनोहर लोहियालाई नेहरूले कङ्ग्रेस पार्टीको विदेश विभाग जिम्मा दिए । तर, गान्धीजीको रामराज्यको कल्पना र कम्युनिस्टहरूको वर्गविहीन साम्यवादको कल्पनाबीच कुनै अर्को धारको आवश्यकता महसुस भइरहेको थियो । यसलाई पूरा गर्न जयप्रकाश नारायणले कङ्ग्रेस सोसलिस्ट पार्टी गठन गरे । लोहिया कङ्ग्रेसको विदेश विभाग छोडेर यसै पार्टीमा केन्द्रीय जिम्मेवारीमा आए । बीपी पनि यसैमा आबद्ध भए शायद जयप्रकाशजीको पार्टी भएकाले । लेखनको महत्वपूर्ण जिम्मेवारी पनि पाए । राममनोहर लोहियासँग उनको दौंतेरीजस्तो सम्बन्ध हुन गएको छ । यस किताबमा एक स्थानमा बाहेक लोहियाको उल्लेख आत्मीय सहयोगी दौंतेरीको रूपमा नै गरेका छन् । सही सल्लाह, उचित मौका अनि आत्मीय सहयोग बीपीले लोहियाबाट पाई नै रहे । जयप्रकाश नारायणको स्नेह र लोहियाकोआत्मीय व्यवहार नै हुनुपर्छ बीपीले भारतको आमनिर्वाचनमा सोसलिस्ट पार्टीको निमित्त एक लाख पठाए, यति मात्र होइन, सीमा क्षेत्रबाट काङ्ग्रेस कार्यकर्ताले पनि मनग्ये आर्थिक सहयोग गरे ।

परिच्छेद १० अनुसार भारतमा स्वतन्त्रताको आन्दोलन टुङ्गिसकेको थियो । केवल स्वतन्त्रतापछिको स्वरूप, संरचना आदिको बारेमा इस्टइन्डिया कम्पनी सरकार र स्वतन्त्रता आन्दोलनका नेतृत्वबीचको छलफल जारी थियो । परोक्ष रूपमा बीपीजस्ता नेपालीको भारतीय आन्दोलनमा काम सकिइसकेका अवस्था थियो । तर, लोहियाले बीपीको उपयोग सोसलिस्ट इन्टरनेसनलमा देखेका थिए । त्यसैले दोस्रो विश्वयुद्धपछिको परिस्थितिको लाभ नेपालीले पनि उठाउनुपर्छ भन्ने भावनालाई मूर्तरूप दिन ‘सर्चलाइट’ र अन्य पत्रिकामा पनि बीपीको वक्तव्य छापियो । यो लोहियाको सल्लाहमा भएको काम थियो । त्यही परिच्छेदमा बीपी भन्छन्, ‘…राममनोहर लोहिया आदि । यिनीहरूसँग एक–दुईवटा कुरामा मैले छलफल पनि गरेको थिएँ ।’ सोसलिस्टहरूको आफूलाई सहयोग हुने कुरामा बीपी ढुक्कजस्तै थिए । बीपीको यो भरोसा कायम पनि रह्यो । प्रचारको निमित्त राममनोहर लोहियाले मद्दत गरे । सम्मेलनमा पनि परोक्ष रूपले उनको उल्लेख्य भूमिका रह्यो ।

बीपी भन्छन्, ‘लोहियाको एकदम सहयोगी व्यवहार हुन्थ्यो ।’ कहिले राति ९ बजेसम्म कफी पिउने भनेर बीपीलाई साथ लिएर बाहिर हिँड्थे । पसलहरू बन्द हुन लाग्दासम्म अनेक किसिमका गफ गरेर दुवै रल्लिइरहन्थे । सुत्न मारवाडीको जस्तो गद्दी भए पुग्ने, किताबभन्दा पत्रपत्रिका धेरै पढ्ने, तर कर्मठ मानिस थिए लोहिया भनेर परिच्छेद १०मा बीपीले उनको शब्दचित्र पेस गरेका छन् । लोहियालाई बीपीले साथी नै भनेर सम्बोधन गरेका छन् । सोसलिस्ट पार्टीका शीर्षस्थ नेता भए पनि बीपीसँग उनको मित्रवत् व्यवहार थियो । नेपालमा केही गर्ने सङ्गठन खोल्न बीपीलाई उत्प्रेरित गर्ने मात्र होइन त्यसको निमित्त भारतीय पक्षबाट सहयोग–समर्थन जुटाइदिने काम पनि लोहियाले गरेको छनक बीपीले परोक्ष रूपमा दिएका छन् ।

बीपीलाई सङ्गठनको खर्चको निमित्त पैसा दिने वचन दिएका महावीरशमशेरले आफूले दिन चाहेको पच्चीस हजार रुपैयाँ लोहियामार्पmत दिनु पनि यस कुराको सङ्केत हो कि बीपीलाई बोलाई–बोलाई भेटेर पैसा दिने कवोल गर्नुमा बीपीको पछाडि काङ्ग्रेस सोसलिस्ट भएको अनुभूति पनि एक कारक हुन सक्छ । अर्थात् बाहिरबाट हेर्नेले सहयोग बीपीलाई गर्नुभन्दा लोहिया या जयप्रकाशलाई गर्नु ज्यादा उपयुक्त देखेका थिए । एसियन सोसलियट कन्फरेन्सको विचार लोहियालाई आयो र त्यसको आतिथ्य गरिदिने अनुरोध गर्न उनले बीपीलाई बर्मा पठाए । नेपाली बीपीलाई बर्मा पठाउन कुनै भारतीयलाई पठाउनुभन्दा गाह्रो थियो । फेरि बर्माको हालत सङ्कटकालीन जस्तै थियो, तैपनि बीपीलाई बर्मा पठाउनुको लोहियाको तात्पर्य कन्फरेन्स होइन, पछि हतियार जोहो गर्ने बाटो खोलिदिनु भएको पनि हुन सक्छ ।

लोहियाले बीपीलाई गान्धीजीसँग भेट गराइदिए । बीपीको आफूलाई मद्दत गर्ने कुरा सकिएपछि गान्धीजीले बीपीको स्वास्थ्यको बारेमा सोधे र भने, ‘म त तिमीलाई कुनै मद्दत गर्न सक्दिनँ । जब मेरा मानिस मेरा कुरा सुन्दैनन् भने राणाले मेरो कुरा सुन्छन् ?’ त्यसपछि बीपीलाई लिएर नेहरूकोमा लोहिया गए । नेहरूसँग त्यतिबेला भेट भएन, पी.सी. जोशीबारे इन्दिरासँग सामान्य मजाक अनि प्रधानमन्त्रीकोमा आउँदा टाँगा पस्न नदिएकोमा रोष प्रकट गरेर फर्के । यो सरल व्यक्तित्व हुँदाहँुदै पनि आफ्नो आत्मसम्मानको विषयमा अडिगताको उदाहरण हो, सरल हुने कुरामा सरल र विरोध जनाउनुपर्ने कुरामा विरोध गर्न सक्ने व्यक्तित्वको परिचायक हो । परिस्थितिको तुरुन्त कसरी उपयोग गर्न सकिन्छ भन्ने उनको क्षमता त्यतिखेर झल्कन्छ जब राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिन पुग्छन् । बीपीलाई लोहिया सल्लाह दिन्छन्– तिमी एक वक्तव्य तुरुन्त देऊ, राजाको समाचारसँगै तिम्रो वक्तव्य पनि एकैपटक आउँछ ।

बर्मामा हतियार लिन थीरबम मल्ल र भोला चटर्जीलाई पठाउँदा बीपी र जेपीको सिफारिस चिठ्ठीको साथमा राममनोहर लोहियाको चिठ्ठी पनि आवश्यक पर्नुले राणाविरोधी क्रान्तिमा काङ्ग्रेस सोसलिस्ट पार्टीको कति गहिरो संलग्नता थियो भन्ने जनाउँछ । बीपीको सम्बन्धमा खुलेर कुरा गर्न सकिने अवस्थामा साथीस्वरूप भएका लोहियाको सामुन्ने आदर गरेर कुरा गर्नुपर्ने जेपी निश्चित रूपले नै कम सहयोगी देखिन्छन् । क्रान्तिको सम्पूर्ण अवधिभरिमा नै नेहरूभन्दा जेपी र लोहिया धेरै सहायक देखिएका छन् । तर, जब यिनै लोहिया बीपीको कार्यशैलीसँग असन्तुष्ट हुन्छन्, परिच्छेद ३८मा बीपी भन्छन्, ‘हिन्दुस्थानमा लोहियाले मेरोविरुद्ध भयानक प्रचार गरिरहेको छ ।’ बीपी आफूले राम्रो बुझेको र आफूलाई राम्रो बुझेका लोहियाको आलोचनालाई बेकारको र विरुद्धको प्रचार ठान्ने भूल गर्न पुग्छन् । जे होस्, लोहिया यो किताबमा एक सकारात्मक पात्रको रूपमा देखा पर्छन् ।