(कविता) वधाइ छ वधाइ -दाजु गुरुङ

(कविता) वधाइ छ वधाइ -दाजु गुरुङ


भर्खरै सुनेँ, गतिलो निर्णय लिनु भएछ-
अनिकालमा राशन पाएजस्तो
काकाकुललाई पानीको वर्षा­­ भएजस्तो
गाईजात्रे नाटकमा नयाँ श्रृंखलाहरु थप्नलाई
मध्य रात नै किन पर्खन नपरोस्
आखिरमा गरेरै छाड्नु भो’
लोभी-पापीमा पुन मिलाएर बाँड्नु भो’
चलिआएको परम्परालाई कायमै राख्नु भो’
धन्य छ, धन्य यहाको लगनशीलतालाई ।

भन्छन्-एकलै नखानू, बाँडेर खानू,
चोरेर नखानू, बरु मागेर खानू
क्याबात ! आपसमा बाँडेर खाने बुद्धिलाई
दिनमा नै तारा देखाउन खाने सुद्धिलाई
नाटकेलाई वधाइ छ, लोभी-पापीलाई स्वागत छ
काले-काले मिलेर खाऊ भालेको वधाइ छ ।

भर्खरै छापाहरुमा पढेँ, गतिलो स्मरणीय वाणी बोल्नु भएछ-
कतै पोलपोट पो हो कि जस्तो,
हतियारको सिरानीमा मस्त निदाउने तालिवानजस्तो
ज्यानहरुमा फलाम साट्ने
रगतसँग वारुद साट्ने
हिजो पनि मात्नु भो’
आज पनि मात्नु भो’
यो वन्दुके नशाको धङधङीले कहिले नछाड्ने भो’
धन्य छ, धन्य यहाँको आदर्शलाई ।

उखानै छ -हण्डीमा सातु छ भने मूसा नाच्छन् रे
भदौमा आँखा फुटेको डिङ्गो सधैँ हरियो देख्छन् रे
के बोलौं र फलामे बुद्धिलाई
के भनौं र रगतसँग वारुद साटने सुद्धिलाई
फलामे सलाम छ ,वारुदे सलाम छ ।
फलामजस्तै, वारुदजस्तै कालो सलाम छ ।

भर्खरै देखेँ, प्रशन्न मुद्रामा छाती खोलेर साक्षी बस्नु भएछ
कतै रोटी जोख्ने तराजु बोकेको बाँदर पो हो कि जस्तो
पशुपतिको साँढेलाई श्यालले पो पछ्याइ रा’छ कि जस्तो
लड्डू पाए नाइटो फर्केको थाहा नपाउने
सिन्को नभाँच्ने अरुलाई पनि गरी खान नदिने
हिजो पनि डाँट्नु भो’
आज पनि डाट्नु भो’
यो जनतालाई ठगी खाने प्रवृति कहिले नहट्ने भो’
धन्य छ, धन्य यहाँको परम्परालाई ।

भन्ने गर्छन् -अल्छे तिघ्रो स्वादे जिव्रो काम लाग्दैन रे
अरुको शिकारमा पल्केकाले आफू शिकार गर्दैन रे
के बोलौं र बाँदरे बुद्धिलाई !
के भनौं र छेपारे सुद्धिलाई !
बाँदरे दर्शन छ, छेपारै जदौ छ ।
बाँदरे जस्तै छेपारेजस्तै दर्शन जदौ, ‘राम राम’ छ ।

भन्न मन लागेको छ, यहाँलाई पनि क्यावात छ,
भन्न कर लागेको छ, उहाँलाई पनि धन्यवाद छ ।
के गर्ने ? लोभी-पापी आए पनि नमस्ते छ ।
व्बन्दुके आए पनि सलाम छ ।
छेपारे आए पनि जय राम छ ।
किनकि, हामी दिन मात्र जान्दछौं
त्यसैले हामीलाई पनि वधाइ छ, वधाइ ।
[email protected]