हामी जिनेभा तालको वरिपरि घुमेर दिनको खाना त्यही तालछेउको बेन्चमा बसेर खायौं । हामीजस्ता सयौं पर्यकहरु फोटो खिंच्दै घुमिरहेका थिए । तालको वरिपरिको सुन्दर शहरमा धेरै महँगा होटलहरु र रेस्टुरेन्टहरु छन् । तालमा बोटिङ अर्थात् नौकायानको राम्रो ब्यवस्था रहेछ । ससाना पानी जहाज र स्पीड बोटहरुको लाम तालको किनारामा देखिन्थे । एउटा रेस्टुरेन्ट तालको मध्यतिर, निकैपरसम्म पुल बनाएर लगेको तालको केही भित्री भागभित्र रहेछ । धेरैजसो मानिसहरु त्यही रेस्टुरेन्टमा तालको दृश्य अवलोकन गर्दै खाना खाइरहेका देखे । हामी आफ्नो खाना खाइसकेपछि केही समय रहेको हुनाले तालको केही माथिपट्टिको भागसम्म किनारै किनार हिंड्दै गयौं, केही फोटोहरु खिंच्यौं र कोच खडा गरेर राखेको ठाउँतर्फ फर्केर आयौं । स्विट्जरल्याण्डका बाह्रैमास हिउँले भरिएको अल्पस हिम श्रृंखलाबाट हिउँ पग्लिएर जम्मा भएका नीलो पानीको सुन्दर सरोवरहरुले पर्यकहरुलाई आकर्षित नगर्ने सवाल नै थिएन । हिउँदमा भने प्राय सबैतालहरु जम्न पुग्दछ । जिनेभा शहरको ताल र शहरको सुन्दरताले मनभित्र नयाँ अनुभूतिको छाप छोडेको थियो । हामी सबै कोच भएको ठाउँमा आइपुग्दा प्रायसबै भ्रमण टोलीका साथीहरु आइसकेका रहेछन् । केहीबेरपछि सबै जम्मा भए । हामी यतिबेला जिनेभा शहरबाट स्विट्जरल्याण्डको दक्षिणपूर्वतिर गइरहेका थियौं । स्विट्जरल्याण्डको भूभाग जिनेभादेखि अल्पस् पर्वतको फेदी लाउटर ब्रुनेनतर्फ जाँदा हामी दुईतिर पहाड, त्यसको मध्यभागमा अवस्थित उपत्यका हुँदै गइरहेका थियौं । स्विट्जरल्याण्डको यही भुभाग समथल रहेको अनुभूति मलाई भएको थियो । स्विट्जरल्याण्डको भवनहरुको निर्माण, बाटोहरु, पहराहरुलाई पहिरो नजाने गरी कंक्रिटद्वारा अड्याइएका सुरुंगहरुको मजबुत निर्माणहरु देख्दा स्विट्जरल्याण्डको विकास र वैभवको आभास दिलाइरहेको थियो । डाँडाकाँडामा एकनासे सुन्दर घरहरु, हरियाली पर्वतमाला, हिमश्रृंखलाहरु, नदी, झरना र तालहरुको सुन्दरताले भरिएका स्विट्जरल्याण्ड मानौ भूस्वर्ग झै लागि रहेको थियो ।
हामी झण्डै तीन घण्टाको सफर तय गरेपछि इन्टरलाकेन भन्ने सुन्दर सानो शहरमा आइपुग्यौं । इन्टरलाकेनको अर्थ दुइटा ताल बुझाउँदो रहेछ । यो शहरको दुबैतिर दुइटा विशाल तालहरु अवस्थित थिए । हामीले साँझको ढल्दै गरेको घामको पहेंलपुरमाथि अल्पसको सेताम्मे हिमश्रृंखलाहरुमा सर्लक्कै स्वर्णरंगको ब्रशले रंग पोते जस्तै देख्यौं । समीले … अब हामी १०, १५ मिनटपछि अल्पस्को फेदी लाउटर ब्रुनेनमा पुग्छौ…. भनिन् । तालहरुमा हिमश्रृंखलाको स्वर्णिम छाँया टल्किरहेको थियो । उत्सुक र रोमाञ्चित बन्दै चल्दै गरेको गाडीभित्रबाट नै भ्रमणकारी साथीहरुले फोटो खिंच्दै थिए । इन्टरलाकेन काटेपछि बाटो साँगुरो बन्दै हामी अलि अलि उकालोहुँदै गाडीमा गइरहेका थियौं । बाटोको बाँयातिर सानो हिमनदी कलकल बग्दै इन्टरलाकेनको तालतिर बग्दै थिईन् । मलाई पहिलोचोटि घान्द्रुकजाँदा नाकैमा ठोकिएला जस्तो अन्नपुर्णलाई देख्दा रोमञ्चित भएझै अहिलेपनि मलाई अल्पसलाई आफ्नै आँगालोमा पाउँदा साह्रै रमाइलो लागिरहेका थियो । त्यो नदी सानो बिरेठाँटीमाथिको भुरुङदीखोला जस्तो लागिरहेको थियो । हामी जिनेभाबाट हिडेको डेढघण्टापछि समीले युरोटूर नामको फिल्म लगाएकी थिईन् । त्यो फिल्म पनि सिद्धियो । अहिले हामी ठूलठूला हिमशिखरहरुका बीचको खोंच हुँदै गइरहेका थियौं । फेदीदेखि अलिअलि माथि हिउँहरु सेताम्मे देखिन थालेको थियो । चिसो हावाको सिरेटोले हिउँको आभास दिईरहेको थियो । धुपीका रुखहरुमाझ ससाना काठ र कंक्रिटले बनेका घरहरु नदीपारी हामीले देख्यौं र सानो रेल पहाडको खोंच हुँदै गुड्दै गरेको पनि देख्यौं । हामी अहिले लाउटर ब्रुनेनको हाताभित्र आइपुगेका थियौं । सानो रेल र केबलकारको स्टेशन भएको सानो पर्यकीय शहरभित्र हाम्रो कोचले प्रवेश गयो । धेरै होटल र रेस्टुरेन्ट भएको यो सानो शहर अल्पस पर्वतमालाको सबैभन्दा अग्लो शिखर याङफ्राउको फेदीमा अवस्थित छ । हाम्रो होटल बाहिरबाट हेर्दा सामान्य देखियो, तर, भित्र प्रवेश गरेपछि होटलको स्तर राम्रो नै लाग्यो । स्विट्जरल्याण्डमा -लाउटर ब्रुनेनमा) हामीलाई महँगाइको कारणले गर्दा होटलको लागि छुट्टै कोठामा बस्न चाहनेले पहिले तिरेको पैसामाथि पचास पाउण्डजति तिरेर बस्ने कुरा ट्राभल कम्पनीले भनेको थियो । हामीले यसबारे कम्प्लेन गरेका थियौं किनभने अग्रिम बुकिङगर्दा सबै ठाउँमा होटलको व्यवस्था राम्रो र छुट्टैकोठा पाउने प्रचार प्रसार गरेका थिए । यदि थप पैसा नतिरेमा दुई जोडीलाई एउटा कोठामा रहने व्यवस्था गर्ने कुरा भ्रमण अघि नै इमेलमार्फत अवगत गरेको थियो ।
हामीलाई स्विट्जरल्याण्डमा केवल २ रात बिताउने भएको हुनाले पैसा थप नगरी व्यवस्था गरिएको कोठामा अर्को जोडीसँग नै मिलेर बस्ने विचार गर्यौं । हामीसित आएका भ्रमणका साथीहरुले कसैले पनि एजेन्सीलाई थप पैसा दिएका रहेनछन् । त्यसकारण हामी सबैलाई लाउटर ब्रुनेनमा दुई दुईजोडीको हिसाबमा कोठा मिलाइएको पाएँ । कोठाहरु ठूलठूला चारवटा बिस्तरा मिलाएर राखिएका निकै खुला र राम्रो पाएँ । हामीसित सँगै बस्न मिलाइएका भ्रमणका साथीहरु मलयसियाबाट आएका इन्जिनियर दम्पती थियो । पतिपत्नी एउटै आयल र ग्याँस कम्पनीमा फरक फरक विभागमा काम गर्दा रहेछन् । झण्डै हाम्रै छोराछोरीका उमेरको शिक्षित दम्पती पाउँदा हामीलाई पनि खुशी लाग्यो । हामीलाई अत्यन्त आदर गर्ने यी जोडीलाई अहिले पनि हामी सम्झिरहन्छौ । तिनीहरुका नाम याउ, पत्नी र पतिको नाम चाँहि विकित थियो । याउ प्रोसेसिङ इन्जिनियर र विकित चाँहि निर्माणको स्ट्रक्चरल इन्जिनियर रहेका उनीहरुले बताएका थिए । हामीलाई आफ्नै बच्चाहरु जस्तै लागिरहेको थियो । बुरियाले खाने र पिउने कुराहरु दिईन्, तर, केहीबेरपछि हाम्रो साँझको डिनर होटलको रेस्टुरेन्टमा रहेकोले उनीहरुले अलिअलिमात्र लिएर पालैपालो नुहाइसकेपछि खानाको लागि तयार भयौं । मैले कोठामा नै इमेलको सुविधा रहेकोले छिटो छिटो बच्चाहरुलाई हामी स्विट्जरल्याण्ड आइपुगेको इमेल पठाएँ । हामीले २ रात बिताएको होटलको नाम शुजेन अन्डि्रज थियो । चिटिक्क परेको खोलाको तिरमा अवस्थित होटल मलाई बिरेठाँटीको जस्तै मोदी नदीको तिरमा चारैतिर अग्लो पहाडहरुको फेदीको होटल जस्तो लागीरहेको थियो । हामी युरोपको अल्पस पर्वतमालाको सबैभन्दा अग्लो शिखर, याङफ्राउको फेदीमा थियौं । हामी साँझको डिनरका लागि भुँइतल्लामा झर्यौं । हाम्रो कोठा २ तल्लामा थियो । रिसेप्सन्को अघिल्तिरको रेस्टुरेन्टमा सबै साथीहरु आइसकेका रहेछन् । जीवनको रमाइला पाटाहरु आफू निष्फिक्री भएर आफूले नै प्राप्ति गर्नु हो । संसार त्यतिबेला झनै रमाइलो हुन्छ जतिबेला अपरिचित व्यक्तिहरु मित्रताको अंगालोमा आबद्ध भएर जीवनको खुशी केही समय भए पनि बाँड्ने अवसर प्राप्त गरिन्छ । हामी हाम्रो भ्रमणटोलीसित चारदिनदेखि सँगैछौ । एकै परिवारका समूहसरह सँगै हिँडिरहेका छौ । डिनर हाँसो गर्दै लियौं । सबै भरपेट खाना खाएपछि शुभरात्रिको शुभकामना अदानप्रदान गरी भोलि बिहानसम्मलाई आ-आफ्नो कोठातर्फ लाग्यौं । भोलि हामी अल्पस् पर्वतमाला ब्रेकफास्ट लिएपछि आफ्नै पाराले घुम्ने कुरा समीले भनेकी थिईन् । याङफ्राउ जाने समुहचाँहि समीले लैजाने भनेकी थिईन् ।
न्यानो हिटरले तातिएको कोठाभित्र विस्तरामा हामी आनन्दको नींदबाट बिउँझ्यौं । सातबजे सबैभन्दा पहिले म उठेको थिएँ । बाथरुमबाट म निस्केपछि बुरिया उठिन् । याउ उठिन् त्यसपछि विकित उठे । न्यानो कपडाहरु लगाएर सबै तयार भइसकेपछि क्यामेराहरु भिरेर पहिले ब्रेकफास्ट हलतिर लाग्यौं । ब्रेकफास्ट लिएपछि हामी समूह समुहमा विभाजित भयौं । आधाजति याङफ्राउतर्फ समीसँग लागे, तर, हामीचाँहि लाउटर ब्रुनेनमाथि नजिकैको मुरेनतर्फ जाने विचार गर्यौं । हामी ठीक साढे नौबजेतिर क्याबलकार भएर अल्पस् शिखरतर्फ उकालो लाग्यौं । सेताम्मे हिउँले भरिएको पर्वतमालाको तल्लो भागहरुमा धुपीका रुखहरु थिए । ती धुपीका रुखहरुको फेदतिरका अर्धभागजति हिउँले भरिएका देखिन्थे । जति माथि गयो उति नै हिउँका रासहरु थिए । सफा मौसम, निलो आकाशमा घाम थियो, तर, घामको रापको अनुभूति थिएन । चारैतिर हिउँले ढाकिएका भए तापनि त्यहाँ एकप्रकारको न्यानो वातावरण थियो । मुरेनसम्म जानको लागि क्याबलकार र सानो रेलको भाडा दुईजनाको हामीले चौसठी फ्रयाङ्क तिरेका थियौं । क्याबलकारमा जाँदा स्किइङ गर्ने जमातहरु पनि हामीसँगै थिए । क्याबलकार क्राजेव भन्ने ठाउँमा रोकियो । त्यसपछि सानो रेलमा चढेर हामी हिमशिखरतर्फ हिमकान्लाहरु (रेल चल्ने बाटो पहाडलाई खोपेर कान्ला जस्तो बनाएको रहेछ) हुँदै गयौं । क्याबलकार ठाडै माथि डाँडामा पुगेको थियो । हामी माथि पहाडको भित्ता हुँदै मुरेन जाँदै थियौं । २ स्टेशनपछि हामी मुरेनमा झर्यौं । मार्च २२ तारिखको दिनमा हामी मुरेनको वरिपरि हिउँका थुप्रोहरुमा र सेतम्मे हिउँले टन्न भरिएका डाँडाकाँडालाई हेदै फोटो खिच्दै थियौं । बुरिया मक्ख थिईन् । भन्दै थिईन … अब छोराछोरीलाई यो ठाउँ घुम्न पठाउने हो …ओहो कति राम्रो हो त्यो टाकुराचाँहि अन्नपूर्णसँग मेलखाने… हेर्नुहोस् त बुरा… भन्दै औलाले देखाउँदै थिईन् । साँच्चै नै एउटा हिमालचाँहि अन्नपूर्ण एक अथवा मानापाथी हिमाल जस्तै देखिन्थ्यो । हामी जस्तै त्यहाँ आएका पर्यकहरुसँग पनि चिनापरिचय गरेर कुराकानी गरेका थियौं । एकजना पोर्चुगिज महिलाले हामीलाई केहीक्षण आफूले ल्याएकी स्लेज गाडीमा अनुभवको लागि चढ्न दिईन् । हामीलाई केही अनुभव थिएन त्यस्ता स्लेजगाडीहरु (हिउँमा चिप्लेटी मारेर गुड्ने) भाडामा पाउँदो रहेछ, तर, अति महँगो । हामी दुबै स्लेज गाडीमा खेल्यौं । अति नै रमाइलो हुँदोरहेछ । क्याबल कार र रेलमा चढेर पहाडको शिखरमा पुग्ने अनि माथिबाट स्लेज अथवा स्किईङ गरेर मानिसहरु फेदीसम्म आउँदा रहेछन् । पैदल हिड्नेहरुपनि माथि पहाडमा जाँदा त्यस्तै स्लेजहरु बोकेर जाँदोरहेछन् अनि माथि पुगेपछि तल झर्दा स्लेजमा सुल्केर झर्दारहेछन् । हामी दिनभरि तिनै मानिसहरुको स्लेज र स्किई खेलेका हेर्यौं, धेरै फोटोहरु खिच्यौं साथै भीडीयोमा पनि धेरै दृश्यहरु रेकर्ड गरेर ल्याएँ । मुरेन सानो पहाडको बीचमा बनेको पर्यकीय गन्तव्य
रहेछ । त्यहाँ थोरै मात्रमा होटल र रेस्टुरेन्ट रहेछ । त्यसभन्दा केही माथिसम्म हामी गयौं, तर, चुचुरोसम्मभने गईएन । माथि टाकुरामा घुम्ने रेस्टुरेन्ट रहेको कुरा भ्रमणमा आएकाहरुले बताएका थिए । त्यहाँसम्म पुग्नलाई फेरि अर्को क्याबलकार चढ्नु पर्दोरहेछ । जुन ठाउँमा हामी पुगेका थियौं त्यहाँबाट रेस्टुरेन्टको केही भाग देख्न सकिन्थ्यो । भ्रमण अत्यन्त रमाइलो भएर बितिरहेको थियो । स्विस अल्पस्का माथिल्लो भागका हिमश्रृंखलाहरुबाहेक बीचभागदेखि मुनिका स्थलहरु जहाँ धुपीका रुखहरु छन् त्यहाँ जुलाई, अगस्त महिनामा हिउँ पग्लिएर हरिया बनस्पतिका रुखहरुमा मीठो फलहरु पाक्ने कुरा एकजना रैथानेले बताएका थिए । त्यसदिन त्यही हिमश्रृंखला वरिपरि पाँच घण्टाजति बिताएर हामी तल लाउटरब्रुनेन ओर्लेका थियौं । हिउँ भएको ठाउँमा कालो चश्मा लाना भुलेकोले पछि आँखालाई असर पार्छहोला भन्ने विचारले पनि हामी छिट्टै फर्केका थियौं । दिनको खाना मुरेनमा खाएका थियौं । आजलाई यहीसम्म …. फेरि अर्को श्रृंखलामा …पढिदिनुभएकोमा धन्यवाद ।
प्रतिक्रिया