एमालेको ‘रमाइलो’ प्रस्ताव

एमालेको ‘रमाइलो’ प्रस्ताव


uml-party-office

काङ्ग्रेस–माओवादी गठबन्धन टुटाएर प्रचण्डकै नेतृत्वको सरकारमा सामेल हुन प्रयत्नशील नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डसमक्ष एक नयाँ प्रस्ताव प्रस्तुत गरेको समाचार प्राप्त भएको छ । स्थानीय निर्वाचन आगामी असोजदेखि मङ्सिरभित्र सम्पन्न गराउने र त्यसबेलासम्म सरकारको नेतृत्व प्रचण्डले नै गर्ने, त्यसपछि एमाले नेता वामदेव गौतम नेतृत्वमा काङ्ग्रेस, माओवादी र राप्रपा सम्मिलित सरकार गठन गरेर प्रादेशिक निर्वाचन गराउने, संसद्को कार्यकाल एक वर्ष थप गर्न संविधान संशोधन गर्ने र संसदीय निर्वाचनचाहिँ काङ्ग्रेसको नेतृत्वमा गराउने एमालेको प्रस्तावमा प्रचण्डले पनि सैद्धान्तिक सहमति जनाएको बुझिएको छ । एमाले यतिबेला प्रचण्डलाई फकाएर जसरी भए पनि सत्तामा सामेल हुन प्रयत्नशील छ र त्यसनिम्ति एमालेले वामदेव गौतमलाई विशेष जिम्मेवारी सुम्पिएको छ । अचेल वामदेव गौतम निरन्तर प्रचण्डको सम्पर्कमा रहेका छन् र उनलाई कहिलेकाहीँ अर्का नेता विष्णु पौडेलले साथ दिने गरेका छन् । प्रचण्डपछिको प्रधानमन्त्री बन्न पार्टीका साथीहरूले हौस्याएपछि वामदेव प्रचण्डलाई आफ्नो प्रस्तावमा मनाउन निरन्तर प्रयत्नशील छन् । तर, प्रचण्डले भने अहिलेसम्म काङ्ग्रेसलाई तर्साउने र भारतलाई फकाउने हदसम्मको व्यवहार एमाले नेताहरूसँग गरिरहेका छन् । शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न दबाब नदिएसम्म सम्भवतः प्रचण्डले एमालेसँग ठोस सम्झौता गर्ने छैनन् । देउवाको दबाब बढ्न थालेमा भने एमालेसँग गठबन्धन बनाउन प्रचण्डले एक मिनेट पनि ढिलाइ नगर्ने सम्भावना छ ।