मोर्चाभित्र प्रचण्डको दूत !

मोर्चाभित्र प्रचण्डको दूत !


Dalali

मधेसी मोर्चालाई संवाद र सहमतिमा ल्याउन गरिएको प्रयासमा असमर्थ प्रचण्ड मोर्चालाई सङ्घर्षमा जानबाट रोक्न पनि असफल भएका छन् । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री प्रचण्डले मोर्चामा आबद्ध नेताहरू राजेन्द्र महतो, अनिल झा र महेन्द्र यादवलाई प्रभावमा पारिसकेका थिए । मोर्चालाई चुनावमा ल्याउन र चुनावमा ल्याउन नसके पनि सङ्घर्षमा जानबाट रोक्ने जिम्मेवारी महतो, झा र यादवले प्रचण्डबाट पाएको भन्ने चर्चा मोर्चाकै अन्य नेताहरूबीच चलेको थियो । तीनजना नेतालाई आर्थिक प्रभावमा पारेको सुइँको महन्थ ठाकुरलगायतका नेताहरूले पाएपछि नेताहरू हृदयेश त्रिपाठी र उपेन्द्र यादवको विशेष योजनामा सङ्घर्षको कार्यक्रम घोषणा भएको बुझिएको छ । नेता महन्थ ठाकुरले ‘आफ्नो मूल्य र मान्यता छोडेर मर्ने बेलामा म सम्झौतामा जान्नँ, बरु सङ्घर्षकै मैदानमा जान्छु’ भनेपछि महतो र यादवलगायतका नेताहरू सकसमा परेका थिए । सङ्घर्षको कार्यक्रम घोषणा हुने जानकारी उनीहरूले समयमै प्रचण्डलाई दिन पनि नसकेको बताइन्छ । मोर्चाले सङ्घर्षको कार्यक्रम घोषणा गरेको त छ, तर ‘प्रचण्डका दूत’हरूको भूमिका मैदानमा के हुने हो भनेर मधेसी नेताहरू सशङ्कित बनेका छन् ।