कसले चलायो लोकमानको आगमनको हल्ला ?

कसले चलायो लोकमानको आगमनको हल्ला ?


Lok-Man-Singh

आफ्नो ज्यान सुरक्षित हुने नदेखिएपछि देश छोड्न बाध्य भएका तात्कालिक अख्तियार प्रमुख लोकमानसिंह कार्की अझै स्वदेश फर्किन सक्नुभएको छैन । गत पुसमा सर्वोच्च अदालतका केही न्यायाधीशहरूको निर्णयबाट पदमुक्त गरिनुभएका कार्कीको सुरक्षा–व्यवस्था हटाइएपछि उहाँले देश छोड्नुभएको थियो । अख्तियार प्रमुखको जिम्मेवारीमा रहँदा सर्वाधिक सुरक्षा चुनौती रहेको ठहर गरी केपी ओली नेतृत्वको सरकारले कार्कीलाई आजीवन विशेष सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।

तर, जब उहाँलाई साँच्चै सुरक्षा दिनुपर्ने अवस्था आयो त्यसपछि सरकारले सबै सुरक्षा–व्यवस्था हटाइदियो । विप्लव नेतृत्वको माओवादी कार्यकर्ताका रूपमा सर्वोच्च अदालत प्रवेश गरेका केही व्यक्तिले कार्कीलाई अदालतको कार्यकक्षमै मोसो पोत्नेजस्तो निन्दनीय कार्य गरेका थिए भने केही न्यायाधीशको निर्णयबाट पदमुक्त हुनुपरेपछि कार्कीविरुद्ध चौतर्फी आक्रमणको वातावरण बनाइएको थियो । पदमुक्त भएपछि अख्तियार परिसरमा रहेको निवासस्थान छोडेर आफ्नो निजी निवासस्थानतर्फ सर्ने क्रममा पनि माओवादी विप्लवका कार्यकर्ताहरूले लोकमानमाथि आक्रमणको प्रयास गरेका थिए ।

पदमुक्त भएपछि आफ्नो भाइको घरमा शरण लिन पुगेका कार्कीले बारम्बर धम्की र अन्य प्रकारका चुनौतीको सामना गर्नुपरेपछि उहाँँ भारततिर प्रस्थान गर्नुभएको थियो । भारतमा केही दिन रहेर युरोप हुँदै पश्चिमतर्फको यात्रामा जानुभएका कार्कीले सुरक्षाकै कारण अहिलेसम्म स्वदेश फर्कने हिम्मत जुटाउन सक्नुभएको छैन । तर, केही दिनयता काठमाडौंमा लोकमानसिंह कार्की स्वदेश फर्कनुभएको भन्ने हल्ला–चर्चा व्यापक भइरहेको छ ।

लोकमानसिंह काठमाडौं आउनुभएको भन्ने हल्ला–चर्चा कहाँबाट, कसले, किन सुरु गराएको हो बुझ्न सकिएको छैन । कहिले क्यानडा त कहिले अमेरिका गरेर समय बिताइरहनुभएका कार्कीले विभिन्न च्यानलमार्फत सरकारसँग आफूलाई सुरक्षा व्यवस्था गरिदिन माग गरिरहनुभएको छ । तर, उहाँँको मागप्रति सरकारले अहिलेसम्म कुनै सरोकार राखेको छैन । जम्मा एकजना सिपाही निवासस्थानमा खटाइदिएर सरकारले आफ्नो कर्तव्य पूरा भएको ठानिरहेको छ । जब कि कार्कीको सुरक्षा–चुनौतीको विवेचना गर्दा उहाँलाई निकै बलियो सुरक्षा दिनुपर्ने देखिन्छ ।

मानवअधिकार र लोकतन्त्रको गीत गाएर कहिल्यै नथाक्नेहरू सत्तारुढ भएका बेला सरकारकै मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भइसकेका व्यक्तिले समेत यति धेरै असुरक्षित महसुस गरी देश नै छोड्नुपर्छ भने सर्वसाधारण जनताको स्थिति के होला, सहज अनुमान गर्न सकिन्छ । ज्यान सुरक्षाको निश्चितता नरहेसम्म लोकमानसिंह कार्की स्वदेश फर्कन नसक्ने र सरकारले कार्कीलाई कुनै हालतमा पनि सुरक्षा–व्यवस्था नगर्ने जुन स्थिति देखापरेको छ यसले नेपालको राज्यसत्ता लोकतन्त्र र मानवअधिकार प्रतिकूल रहेको स्पष्ट गरेको छ । आफ्नो ज्यान नै जोखिममा राखेर कार्की स्वदेश फर्कनुभयो र फर्किएपछि उहाँमाथि कसैले घातक हमला ग¥यो भने यो सरकारले विश्व समुदायलाई कसरी जवाफ दिन सक्ला भन्ने चिन्ताजनक प्रश्न यतिबेला उठिरहेको छ ।