‘बाहुबली प्रचण्ड’को चक्रब्यूहमा नेपाली राजनीति

‘बाहुबली प्रचण्ड’को चक्रब्यूहमा नेपाली राजनीति


amardeep-moktan

– अमरदीप मोक्तान

स्थानीय चुनाव नजिकिँदै जाँदा प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बसेको प्रमुख दलहरूको बैठकमा वैशाख ३१ मा चुनाव सम्भव नहुने सङ्केत दिए भने अर्कोतर्फ संविधान संशोधनको निमित्त आवश्यक दुईतिहाइ मत पु¥याउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छुट्टाछुट्टै संवादको तयारी गरेको पनि दर्शाए । कहिले एमालेसँग मिलेर मधेसी दललाई उग्र बनाइदिने त कहिले काङ्ग्रेस, मधेसी दल मिलाएर एमालेलाई उग्र तुल्याइदिने प्रचण्डको रणनीति कारगर सिद्ध भइरहेको छ र जसरी भए पनि सत्ता लम्ब्याउने खेलमा उनी क्रमशः सफल हुँदै गइरहेका छन् ।

कसैले पत्याउन् वा नपत्याउन्, वर्तमान नेपाली राजनीतिमा नेपालको ‘बाहुबली नेता’ कोही छन् भने त्यो प्रचण्ड नै देखिएका छन् । यसमा शङ्का रहेन, किनकि एमाले, काङ्ग्रेस, मधेसी दललाई उनले तीन त्रिलोक चौध भुवन देखाइदिएका छन् । प्रचण्डको दोहोरो खेलबारे आभाष हुँदाहुँदै पनि प्रचण्डविरुद्ध केही गर्ने साहस कसैमा देखिएन । चतुर प्रचण्ड प्रख्यात माछा सिकारी बनेका छन् । वर्तमान राजनीतिको सन्दर्भमा कुरा गर्दा माछा सिकारी प्रचण्डको बल्छीमा नेपाली राजनीतिका धुरन्धर खेलाडी एमाले, काङ्ग्रेस, मधेसी दलहरू माछाको रूपमा फसेका छन् । यी माछाहरू उग्र पनि छन्, जुझारु पनि छन्, समय–समयमा बल्छीबाट उम्किने प्रयास पनि गर्छन्, तर त्यस समय मन्द–मन्द मुस्कानसाथ प्रचण्डले बल्छीको डोरी खुकुलो बनाइदिन्छन् अनि ती आरामका साथ बसिरहन्छन् । धेरै प्रयास गर्दा पनि उन्मुक्ति पाउन नसक्दा एमाले–काङ्ग्रेस–मधेसवादी दलरूपी माछाहरू स्याँ–स्याँ र फ्याँ–फ्याँ गर्दै थाकी हारेर पुनः प्रचण्डनजिक पुग्छन् । यही दृश्य बारम्बार दोहोरिरहेको छ र यस्ता दृश्यले नेपाली जनता वाक्कदिक्क बनिसकेका छन् ।

गणितीय समीकरण यस्तो छ कि न त काङ्ग्रेस न त एमाले न त मधेसी दल कोही चाहेर पनि प्रचण्डविरुद्ध जान सक्दैनन् । त्यसकारण प्रचण्डले एमाले–काङ्ग्रेस, एमाले–मधेसी दललाई फनफनी घुमाइरहेका छन् । नेपाली काङ्ग्रेससँग गरिएको भद्र सहमतिअनुसार शेरबहादुर देउवाको प्रधानमन्त्री हुने पालो नजिँकिदै छ, तर प्रचण्डले भद्र सहमतिको पालना गर्लान् भन्नेमा सन्देह छ । एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति पालना नगरेको भनी प्रचण्ड सजिलै सत्तासीन भए, तर शेरबहादुरका लागि त्यो सम्भव छैन, किनभने शेरबहादुरले एमालेको साथ लिँदैनन् तसर्थ प्रचण्डको दुवै हातमा लड्डु रहिरहनेछ ।

निर्धारत समयमा चुनाव हुने कि नहुने सवालमा भन्नुपर्दा चुनाव जुनसुकै हालतमा हुनुपर्छ, प्रचण्डले चुनाव गराउनैपर्छ । व्यक्तिगत महत्वाकाङ्क्षामा सत्ता लम्ब्याउनका लागि राष्ट्रलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन, बनाउन पाइँदैन । संशोधनका निमित्त प्रस्तुत बुँदा हुबहु दुईतिहाइले संशोधन गरिनुपर्ने, तब मात्र चुनाव हुन दिने, त्यस्तो नभएमा चुनाव हुन नदिने मधेसी दलहरूको कुरा हठधर्मिताको पराकाष्ठा हो, संविधानलाई संस्थागत हुन नदिने बदनियतपूर्ण षड्यन्त्र हो ।

प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपश्चात् एक अन्तर्वार्तामा भनेका थिए, प्रथमपटक प्रधानमन्त्री हुँदा वास्तवमा मैले राजनीति बुझेको थिइनँ, तसर्थ दोस्रोपटक विगतको जस्तो भूल दोहरिनेछैन । प्रचण्डको बहुरुपी चरित्र एवम् दोहोरो खेलको राजनीति देख्दा उनले राम्रो राजनीतिभन्दा पनि नेपाललाई अनिर्णयको बन्दी बनाउने फोहोरी खेलमा पारङ्गत हासिल गरेका रहेछन् भन्ने प्रमाणित भएको छ । नेपाली राजनीतिक इतिहासमा जननायक बन्ने कि खलनायक बन्ने प्रचण्डको हातमा छ । संविधान असंशोधनीय होइन, संविधानमा रहेका त्रुटि सच्याउन संविधान संशोधन हुनुपर्छ, तर यसो भन्दैमा संविधान संस्थागत गर्न अति आवश्यक प्राथमिकताको सूचीमा रहेको चुनाव हुन नदिने प्रपञ्च नेपाली जनतालाई कुनै हालतमा स्वीकार्य हुनेछैन ।

यदि प्रचण्डले निर्धारित समयमा स्थानीय तहको चुनाव सम्पन्न गराउन सके भने निश्चित रूपमा जननायको रूपमा स्थापित हुनेछन्, तर यदि व्यक्तिगत महत्वाकाङ्क्षामा सत्ता लम्ब्याउने खेलमा लागेर चुनावमा पूर्णविराम लगाउने अनि नेपालमा अस्थिरता निम्त्याउने कर्म गरे भने इतिहासमा उनको नाम कलङ्कित बनेर रहनेछ । जनताको अदालतले प्रचण्डलाई कहिल्यै माफी दिनेछैन ।
Prachanda Ghatana