-सुमल कुमार गुरुङ
रञ्जना आज बिहानको कलिलो घामको किरणमा मीठो न्यानोपनको अनुभूति गर्छिन्् अनि ऊ आकाशतिर टाउको उठाउदै हेर्छिन्, सफा आकाश देखेर मन प्रफुल्ल हुन्छिन् । हिजो पानी परेकोले आज वातावरण सफा थियो । बाहिर प्लास्टिकमा मैला पोका पारेर राख्छिन् अनि फेरि घरभित्र पस्छिन् । रञ्जना हतार हतार सिरकमा मुण्टो लुकाएर सुतेको कमलको निधार छाम्छिन् । कमललाई राति अलि अलि जरो थियो, तर, अहिले ठिकै छ । ऊ ढुक्क हुन्छिन । कमल आज अलि सञ्चो नभएकोले रञ्जनासित अफिस जाँदैनन् । कमललाई एक नजर हेर्दै, “कमल म गएँ ल” भनेर कोठाको ढोका ढ्यप्प बन्द गरेर बस स्टपतिर हुइँकेर लाग्छिन् ।
रञ्जना सौच्दैछिन्… हन कति हतार हुन्छ मलाई…। काठमाडौको व्यस्त जीवन, बिहानदेखि बेलुकिसम्मको ट्राफिक, धुँवाधुलो र आफ्नो भाग्य आजमाउन देशका कुना कुनाबाट आएका जनलहर सडकभरि हिंडिरहेका सधैं देख्छिन् । अशान्त राजनीतिक वातवरण, प्राय सधैजसो बन्द हुने यो शहर र दैनिक लोडशेडिङको जिन्दगी रञ्जना दिक्क मान्छिन् । उनी सम्झन्छिन् काठमाण्डौ आएको पनि ३ वर्ष बितिसकेछ । समय कति छिट्टो बित्दै छ । समय त्रि्र गतिमा दौडिरहेको झै लाग्छ रञ्जनालाई । तीन वर्ष पहिलेका रमाइलो अतीत सम्झन्छिन् । केही पाउँदा धेरै गुमाएझै लाग्छ रञ्जनालाई, तर, ऊ कमलको अँगालोमा पुग्दा सबै भुल्छिन् । केही दिनदेखि बुवाआमा र घरको मायाले तानिरहेझैं लाग्छ रञ्जनालाई अनि ऊ बेलाबेलामा विचलित बन्न पुग्छिन् । जीवनको भोगाइहरु सम्झँदा यी तीन वर्षभित्र निकै परिपक्व भएझैं लाग्छ उनलाई । आफैले आफ्नै प्राप्तिका लागि केही गुमाएझै लाग्छ अहिले आफन्तको अभावको अनुभूतिले कहिलेकाहिँ छट्पटिन्छे रञ्जना । अतीतको सम्झनालाई हृदयको स्पन्दनले तरंगित गर्दा स्मृतिभित्र बेलाबखत हराउँछिन् ।
भाइटीकाको दिन भाइलाई उसको भरिलो चाकलो निधारमा टीका लगाउँदा ऊ कति खुशी थिईन् । भाइलाई पानीले पर्रि्रमा गरी पूजा गरेपछि कान, टाउकोमा तेल लगाएर टीका लगाइसकेपछि सयपत्री फूलको माला र एउटा ढाकाटोपी टाउकोमा लगाइदिएकी थिईन् । सम्झँदै आँखाबाट आँशुका थोपाहरु बरर खसेको थाहा नै पाईनन् । अरुले नदेख्ने गरी आँशु पुछिन् । खचाखच भरिएको माइक्रोबसभित्र एककुनामा बसिरहँदा पनि ऊ सम्झिन्छिन्, त्यो पारिवारिक मायाबाट टाढिएकी ३ वर्ष बितिसकेको छ । अहिले ऊ सम्झन्छिन् ३ वर्ष पहिलेका भाइटीकाको दिन । आमा भन्दै थिईन् .. छोरा दिदिलाई ढोग गर …
भाइले ..ल.. हुन्छ ..ढोग्दै छु ..मम्मी कति पैसा दिने दिदिलाई – भन्दै आमातिर खेलाँची गर्दै हेर्छ ।
..मैले दिएकी त्यही हजार रुपैंया देऊ न..आमा भन्छिन् ।
….नाई, यो त धेरै भयो… खोल्टीबाट निकाल्न भ्याएको थिएन रञ्जनाले ट्याप्प पैसा टिपिहाल्छिन् ।
भाइ हाँस्दै … काँ पाँचसय दिएर पाँचसय राख्छु भनेको.. खोसिहाली दिदिले .. भनेको सम्झन्छिन् अहिले ऊ । अहो कति मीठो खुशी थियो त्यो मायाको संसार, त्यो सम्झना रमाइलो लाग्छ अनि एक्लै मुस्काईन् फिस्स्, तर, त्यसैबेला सम्झनाको मीठो आभास भंग हुन्छ । ए …..ठमेल ठमेल लौ कोही छ झर्ने ? भनेर हेल्पर केटा कराएको सुन्दा झस्केर रञ्जना गाडीबाट ओर्लन्छिन् । कोचाकोच भएको माइक्रोभित्र रञ्जना झर्न नपाउँदै तीनजना गाडीमा पस्न खोज्छन् ।
हेल्परकेटा कराउँछ …. पहिले मान्छेलाई ओर्लन दिनुहोस् … । मीठो सम्झनाको धुरीबाट जीवनको तीतो यथार्थको धरातलमा खसेजस्तै लाग्छ रञ्जनालाई ।
अहिले रञ्जनाकालागि आमा, भाइबहिनी र बुवा सबै बिरानो बनेका छन् । मेरो संसार किन बिरानो भयो यसरी, यी कुराहरु सोच्दै गाडीबाट ओर्लेर अमृत साइन्स क्याम्पसबाट भित्रपट्टि नजिकै रहेको ठमेलको एभरेष्ट एडभेन्चर ट्राभल्स एण्ड टूर्स एजेन्सीको कार्यालयतिर लाग्छिन् । आफ्नै जीवनसँग जुझ्दैछिन् रञ्जना अनि एक्लै तर्क गर्छिन् । बुवाआमाको मर्जीबिना अन्तरजातीय प्रेम विवाह गरेकी रञ्जनालाई अहिले माइततिरका परिवार र इष्टमित्रहरुको बेस्सरी सम्झना आउँछ, । आफूलाई उनीहरुले वास्ता नराखेको अनुभूति रञ्जनालाई सधै वोध भइरहन्छ । उनले अरुबाट सुन्छिन्, बुवा इराकतिर काम गर्न गएका छन् र भाइले टेन प्लस टू गरेर मणिपाल अस्पतालमा एमबीबीएस पढ्दैछ । बहिनी अञ्जना मामाको छोरा, दीपकसँग विवाह गरेर बेलायत गइसकेकी छिन् ।
रञ्जनाभन्दा अञ्जना तीनवर्ष सानी हुन् । घरपरिवारले आफ्नो परम्पराअनुसार मामाको जेठो छोरा दीपकसँग रञ्जनाको विवाह गरिदिनलाई अन्तिम तयारी भइसकेको बेलामा रञ्जना भागेर कमलसँग काठमाडौ आएकी थिईन् । यो हिजो जस्तै लाग्छ रञ्जनालाई । पछि त्यसै लहनामा बहिनीलाई दीपकसँग विवाह गरिदिन्छन् । बहिनीले छोरा पाएको खबर छ्यामाबाट थाहा पाएकी थिईन् । खबर सुनेर एक किसिमको आनन्द र खुशीको अनुभूति भएको थियो रञ्जनालाई, तर, कोसँग बाँड्ने खुशी ? ३ वर्षदेखि रञ्जनाको सम्पर्क परिवारसँग भएको छैन ।
शिलाँङबाट पाँचवर्ष पहिले पोखरा आएकी रञ्जनाको पहिलो माया कमल थियो । दुई युवाहृदयहरु पहिलो भेटमा नै आँखाको बाटो हुँदै मुटुमा समाहित भएका थिए । पहिलो पटक फेवातालको बराही मन्दिर जाने बाटोमा उनीहरु एउटै डुँगामा चढेका थिए । त्यही प्रथम भेटमा कमल र रञ्जना मन्दिर परिसरभित्रसम्म पुग्दा नपुग्दा एकअर्कामा आकर्षित भएर हृदय तरंगित भएको थियो । त्यसपछि विस्तारै मायाको अंकुर पलाएको थियो । अनि त शान्तिवन, सेती नदीको तीर, फेवाताल र वेगनासतालको सेरोफेरोमा उनीहरुका माया मौलाएको थियो । यसरी मायाको सप्तरंगी सपनामा एउटा मीठो संसार बुनेका यी दुई प्रेमीप्रेमिकाको अन्तरंगबारे परिवारजनलाई अन्तिम समयसम्म केही थाहा थिएन । घरपरिवारले दुबैजनाको विवाह आफ्नै खानदानभित्र उनीहरुलाई थाहा नै नदिई बन्दोबस्त गरिसकेका कुरा जब उनीहरुलाई थाहा लाग्छ, त्यतिबेला समय हातबाट उम्किसकेको थियो ।
रञ्जनाको विवाहको कुरा मामाको छोरासित पक्का थियो भन्नेबारे बुवाआमाले उनलाई भनेकै थिएनन् । दीपक छुट्टी आएको हप्तादिनभित्र नै विवाहको दिन, मिति तोकेर कार्ड छापिसकेको रहेछ । कार्ड छापेर आएपछि मात्र रञ्जनालाई थाहा लागेको थियो । बुवाआमाले अनुशासित र बुझ्ने छोरीले उनीहरुको स्वविचारलाई अपहेलना गर्लान् भन्ने उनीहरुले रत्तिभर चिताएका थिएनन् । हाम्रो संस्कारमा बुवाआमाले छोराछोरीको भविष्य सुरक्षित गर्ने विचारमा सधैं चिन्तित रहन्छन् तथा उनीहरुले बच्चाहरुको अनुभूतिलाई नबुझी इष्टमित्रको दायरा फराकिलो बनाउन आफै बच्चाहरुको भविष्य निर्धारण गर्दछन् । रञ्जना र कमलको पनि परिवारवालाले त्यसरी नै विवाह बन्दोबस्त गरेका थिए । आफ्नो अप्रत्याशित विवाहको बारेमा आफूलाई एकशब्द नसोधी यसरी विवाहको मिति तोकेर कार्ड छापेकोमा रञ्जनाले बुवाआमासँग विरोध गरिन् । तर, बुवाआमाको प्रष्ट कुरा, यो हाम्रो हकको कुरा हो तिम्रो विवाह दीपकसँग नै हुन्छ र एउटा लाहुरे लोग्ने पाउनु भनेको भाग्यमानी हो छोरी भनेर अन्तिम फैसला सुनाएका थिए । प्रेमको गहिरो मन्थनमा रल्लिएकी रञ्जनाको अघि २ वटा कुराहरु ठिङ्ग उभेका थिए, कमलसित परिवार त्यागेर भाग्नु अथवा प्रेमलाई भुलेर बुवाआमाको आदेश पालन गरेर दीपकसँग विवाह गर्नु । कमलको विवाहकालागि पनि त्यस्तै बुवाआमाले अर्कै केटीसँग विवाह गर्ने मिति तोकेर तयार भएका रहेछन् । कमलले बुवाआमालाई रञ्जनाबाहेक अरुलाई विवाह नै नगर्ने जिद लिएर विद्रोह गर्यो । परिवार अहिले उनीहरुका प्रेमको अघि तगारो बनेको थियो । एकातिर प्रेमको उँचाइले आकाश नाघिसकेको थियो भने अर्कोतिर परिवारिक मानमर्यादा तोड्न पनि सजिलो थिएन । तर, अन्तमा उनीहरु समयसँग जुझ्दै आफ्नै संसार बसाउने प्रयासमा परिवारको तगारो नाघेर भागेका थिए । कमलले परिवारको मर्जीबिना रञ्जनालाई काठमाडौ भगाएर ल्याएको थियो । यसरी तीन वर्ष बिताउनु पर्यो । अहिले जीवन उनीहरुलाई असहज हुँदैछ । अहिले परिवारको मायाले दुबैलाई पोलिरहेको अनुभूति भइरहेको छ । परिवारको माया र आवश्यकता महशुस भइरहेको छ, ।
पोखराको मुटु, व्यावसायको केन्द्र, चिप्लेढुंगामा केही घरदुकान भाडामा दिएका कृष्णालालको जेठो छोरा कमललाई पैसाको कमी केही थिएन । करोडौको मालिक कृष्णलालको धेरै व्यवसायमा पैसा लगानी थियो ।
बुवाआमाले आफ्नै जातभित्रको मात्र नभई आफ्नै खानदानकी केटीलाई विवाहको लागि ठिक्क गरेका थिए । कमल बुवाआमाको इच्छाविरुद्ध विद्रोह गरेर रञ्जनालाइ लिएर भागेको थियो । काठमाडौ आएर केही साथीहरुलाई साक्षी बनाएर मन्दिरमा रञ्जनाको सिउँदोमा कमलले सधैभरि, युगयुग साथ दिने प्रण गर्दै सिन्दूर भरिदियो । केही समयपछि परिवारले अपनाउनेछन् भन्ने उनीहरुमा विश्वास थियो । कमल र रञ्जनाले काठमाडौमा आएर केहीदिन यताउती घुमेर मधुमास मनाउँदै समय बिताएका थिए । जीवनमा एकले अर्कालाई प्राप्त गरेकोमा एकदमै खुशी थिए । उनीहरु आफ्नै संसारमा मक्ख थिए । कमलले ल्याएको पैसा सकिँदै गयो । उनीहरु काठमाडौ आएपछि एउटा फ्ल्याट डेरा गरी सामाखुशीमा बस्दै आएका थिए । काम नगरी पैसा आउँदैन, पैसा नभए जीवनको गाडी चल्न मुश्किल हुन्छ । कमलले आफू र रञ्जनाको कामको लागि आफ्नै साथी गोपाललाई काम खोजीदिने अनुरोध गर्यो । गोपालको ट्राभल एजेन्सीमा त्यतिबेला २ जना काम गर्ने भेकेन्सी थियो । गोपालले आफ्नै ट्राभल्स कम्पनीमा दुबैजनालाई काममा लगाएर मित्रताको कर्तव्य निभायो । उनीहरुले शुरुका दिनहरुमा केही दिनपछि सबै ठीक होलान भन्ने आशा गरेका थिए । तर, हप्ता, महिना गरि तीनवर्ष बितिसके दुबैतिरका घरपरिवारले उनीहरुलाई वास्ता गरेनन् । उनीहरुको आशा क्षीण हुँदै गइरहेको थियो । बेला-बेलामा सम्झना आउँदा के मुख लिएर आमाबुवालाई भेट्न जाने भन्ने रञ्जनाको मनमा कुराहरु खेल्दै आन्दोलित हुन थाल्थे । नानाथरिका कुराहरुले कहिलेकाहिँ मन धमिलो बनाउँथ्यो । आफै नाता तोडेर भागेकी, फेरि कहिले सोच्थिन् एक्काइसौं शताब्दीमा आइपुग्दा पनि मानिसहरु कति संकीर्ण हुन्छन्, मैले केही बिगारेको त छैन, प्रेम गरेँ र मनपरेकोसँग आएँ, तर, अर्कोतिर मैले बुवाआमाको मर्जीलाई केही वास्ता गरिनँ यस्तै नाना थरिका विचारले रञ्जनालाई खान्थ्यो । उनीहरु दुबै खुशी थिए, तर, त्यो खुशीमा घरपरिवार सामेल थिएन । आफन्तहरुबाट टाढिएका थिए । रञ्जनाले कहिलेकाँहि छ्यामासँग सम्पर्क गर्ने गर्थिन्, तर, छ्यामा पनि अहिले परिवारसहित बेलायत गइसकेकाले मुश्किलले सम्पर्क हुने थियो । कमल र रञ्जनाको बारेमा घरपरिवारलाई काठमाडौमा छन् भन्नेकुरा थाहा थियो, तर, उनीहरुले बोलाउने र खोजी गर्ने कहिल्यै प्रयास गरेनन् । कमलको भाइ बिमलसँग कमलको लागि कृष्णलालले रोजेको केटीलाई विवाह गराइदिएपछि एकप्रकारले त्यस घरसित कमलको सम्बन्ध नै टुटेको जस्तो थियो । कमलमा अहिले रञ्जनालाई घरमा लगेर भित्र्याउने आँट थिएन । केहीसमय पछि बुवाआमाले स्वीकार गर्लान् भन्ने आशाचाँहि आशामा नै सिमित रहन पुग्यो । आफन्तको माया नपाउँदाको चोट लाग्दा मुटुमा पीडा हुँदा मन कति दुख्छ त्यो पीडा हुनेलाई थाहा हुन्छ । तर, आफन्तको माया मुटुको एउटा भागमा रगतको नाताले गर्दा सदा बल्झिरहन्छ । रगतको नाता नै सबैभन्दा ठूलो नाता हो ।
कमल आज अलि सञ्चो नभएकोले आबेरसम्म सुतेको थियो । तर, ऊ दिउँसोतिर कार्यालय आएको थियो । रञ्जनाले कमल आएको देखेर भन्छिन् … कमल किन आएको – आराम गरे हुन्थ्यो …दवाइ खायौ ?
…निको हुँदैछ, दवाइ खाएँ, केही छैन मामुली सर्दीको जरो हो … कमल ले भन्यो । साथीको ट्राभल्स राम्रो नै चलेको थियो । जेनतेन काठमाडौमा उनीहरुलाई निर्वाह भइरहेको थियो । केवल उनीहरुलाई परिवारको मायाको कमीको आभास थियो । उनीहरुका मनमा यो शहर छोडेर अन्तै कतै धेरै टाढा जाने विचारहरु पलाउन थाल्यो । एकआपसमा कुरा गरेर विदेश जाने सल्लाह गरिसकेका थिए । पोखरा नजिकै थियो, घरपरिवार नजिक थियो, तर, उनीहरुका अनुभूतिमा अब उनीहरुलाई परिवारले अपनाउँदैनन् भन्ने भइरहेको थियो । मनभित्रको वेदना कसलाई पोखाउने – जुन घर आँगनमा हुर्केर परिवारको माया प्राप्त गरेको थियो त्यो एउटा सपना हुन थालेको थियो । प्रेमको आवेगमा घरपरिवारको मर्जीलाई केही वास्ता नगरेको टीस कहिलेकाहिँ रञ्जनाको मुटुको गहिराइ छिचोल्दै आँखाबाट बग्ने गर्दथ्यो, तर, कमलको न्यानो मायाको अँगालोले मलहमको काम गर्दथ्यो । मनमा एउटा आशा उदाउँथ्यो. र क्षणमा अस्ताउँथ्यो । कहिलेकाहिँ साथीसँगीहरुको माहोलभित्र उनीहरु हराउँथे । यसरी नै जीवन बितिरहेको थियो । आफूले केही गरेर देखाउनुपर्छ भन्ने अनुभूति कमलको मनमा पलाउन थालेको थियो ।
केही दिनदेखि दुबैजना बेलायतमा पढ्न जाने विचार गर्दै थिए । बेलायतमा गए केही गर्न सकिन्छ कि भन्ने दुबैले सोचे । अन्तमा कुनै न कुनै उपाय गरेर यो शहर छोडेर बेलायत छिर्ने कुरामा छलफल गरे दुबैले । उता बेलायतमा रञ्जनाले छ्यामालाई फोन गर्दा … अँ हुन्छ नी, तिमीहरुको इच्छा भए आऊ न त… धेरै विद्यार्थीहरु आ’का छन्…। तर, पैसाको कमी थियो दुबैजनालाई सात आठलाख चाहिएको छ । यति ठूलो रकम कहाँबाट ल्याउने – एजेन्सीमार्फत जाँदा झनै बढी लाग्ने थियो । युनिभर्सिटीको फिस, ब्याङक ब्यालेन्स र जहाजभाडा जुटाउन निकै गाह्रो थियो । चाहिएको रकम बन्दोबस्त हुन असम्भव देखियो । आखिरमा पहिलोचोटि कमलले विवश भएर घरमा आमालाई फोन गर्यो । बुवाले फोन उठाउँछन् कि भन्ने डर थियो । तर आज भाग्यवश आमाले नै फोन उठाएकी थिईन् ।
कमल फोन्मा अनुयय गर्ने मूद्रामा …. आमा ! आमा ! ढोग !… धेरैदिनपछि आमालाई फोन गर्दा कमलको आँखाका घेराहरुमा आँशु टिलबिलाइसकेको थियो ।
आमाले छोराको अवाज फोनमा सुनेपछि …बाबु छोरा …. आशीर्वाद पुगोस्, मेरो राजालाई …. भनेर मनभित्रको गाँठो रोक्न सकिनन् आमाले ।
आमाको ममता पग्लेर आँखाबाट बलिन्द्र धारा बग्छन्, आमा रुँदै भन्छिन् …. मेरो बाबु तँ कस्तो छस् … आमाको माया छैन तँलाई…. घर आऊ…बुवालाई म मनाउँछु… भनिन् अनि ग्वाँ ग्वाँ रुन थालिन् ।
कमललाई पनि आमाको ममतामयी आँशुले मनभित्रैबाट छिचोल्दै आमाको वात्सल्यले लुथ्रुुक्क भिज्यायो । ऊ पनि बेस्सरी रोयो … आमा आमा नरोऊ … म आउछु आमा, तर, केही समयपछि, म ठीकै छु आमा !
ऊ बेस्सरी रोयो बीचबीचमा हिक्का छाड्दै… आमा केही समयपछि आउँछु… नरोऊ आमा… म बेलायत जान्छु एक दुई वर्षको लागि… त्यसपछि आउँछु आमा… बुवाले पछि माफ गर्नेछन् … आमा … अहिले मलाई अलि पैसा चाहिएको छ … भन्यो कमलले । आमाछोरा रोएर मनको वह पोखे, केही मनलाई शान्ति मिल्यो दुबैलाई ।
आमा आफ्नो साडीको सप्कोले आँशु पु्छ्दै … केरे बेलायत – .. छोरा …भो अब घर आऊ … झन टाढा नजाऊ, म आउँछु बाबु.. तँलाई भेट्न.. तुरुन्त काठामाडौ .. भनिन् । मानौ आफ्नो कलेजोको टुकडा नै कतै लोप हुन्छ कि भन्ने आमालाई डर हुन्छ ।
बुवाले आफ्नो खानदानभित्र कमलको कारणले गर्दा आफ्नो प्रतिष्ठामा आँच आएको सम्झन्थे । मनभित्र ठूलो चोट लागेकोले कमलको प्रसँग आउँदा ऊ आवेशमा आउँथे । त्यसैकारण बुवासँग आमाले कमलको कुरा गर्दा डराई-डराई गर्थिन् । एकवचन नसोधी यसरी केटी लिएर भागेकोमा बुवालाई ठूलो चोट लागेको थियो । बुवाले आफ्नै खानदानभित्रको दुलही छोराको लागि बन्दोवस्त गरेर विवाहको तयारी सबै भइसकेको थियो । तर, कमलले त्यो सबै सपनामाथि तूषारापात गरिदिएको थियो । अगाध माया मनभित्र उर्लिए पनि बुवा, छोरा र आमाको तीनवर्षदेखि घरबाट निस्केर गएपछि भेट भएको थिएन । परिवारजनहरुले थुमथुम्याउन प्रयास गरेता पनि बुवाको मनभने फर्केको थिएन । यसैकारणले पनि रञ्जना र कमल सबै नेपालीहरु जस्तै धेरै टाढा केहीबेरको लागि उडेर जाने प्रयासमा थिए । बुवाआमाले अब घरमा बोलाउँछन् कि भन्ने आभाष हराउँदै गईरहेको थियो ।
रञ्जनाले आफ्नो बुवाआमालाई केही भन्ने त के मुख देखाउने साहससम्म थिएन । तिनले सम्झनाबाहेक केही गर्न सक्ने थिईनन् । तिनलाई बुवाआमा र खानदानको इज्जत विचारै नगरी, यसरी थाहौ नदिई भागेकीले मनभित्र कताकता गल्तीवोध भइरहेको थियो । एकदिन सबैले बुझ्लान् भन्ने आशा गरेकी थिईन् कारण कमल राम्रो आचरण र अनुशासित युवा हो । जीवनमा केही गर्छु भन्ने जाँगर लिएर कमलले रञ्जनालाई सधै खुशी बनाउने प्रयास गथ्र्यो । रञ्जनापनि कमललाई पाएकोमा खुशी थिईन् । गएको हप्ता आमासित कुरागरेपछि पैसाको लागि आमा आफै काठमाडौ आउने कुरा गरेकी थिईन् । आमा पर्सि आइतवार दश बजेको जहाजबाट आउँदै थिईन् । कमल र रञ्जनालाई आखिरमा आमालाई भेट्न पाउने भयो भन्ने कुराले खुशी तुल्याएको थियो । उनीहरु धेरै धरै प्रतीक्षापछि आमासित भेट्नपाउने कुरामा खुशी र उत्तेजित थिए ।
अलि विसञ्चो भएपनि कमल कार्यालयमा आएको थियो । उसको साथी, गोपालले कमललाई सहानुभूतिस्वरुप … कमल घर गएर आराम गर यार … काम त भइहाल्छ नि, बिमारमा पनि किन आ’को ?
कमलले ….होइन, ठीकै छ गोपाल अहिले सिजनमा धैरै काम छ … तातोपानी र दवाइ खाँदै छु अहिले विसेक भइसकेको छ ….. भनेर काममा लाग्यो । गोपाल मालिक भए पनि उसको व्यवहरमा त्यही मित्रता थियो । त्यसैकारण राम्रोसँग दिनहरु बितिरहेका थिए । नेपालको पर्यटन व्यवसायमा यतिबेला देशको राजनीतिक उथलपुथलले गर्दा मन्दी आएको थियो । गोपालले कमललाई भन्छ … यार तिमी करोडौको मालिकको छोरा भएर पनि तिमीमा जुन सादापन छ. त्योनै तिम्रो विशेषता हो मित्र… एकपल्ट बुवालाई फोन् गरे हुन्थ्यो नि ..
कमल लामो सास फेर्दै …गोपाल धेरैपल्ट फोन गरेको हो, तर, बुवा बोल्नै मान्दैनन्.. खैर आमा आउँदै हुनुहुन्छ र पहिलोचोटि आफ्नी बुहारीलाई भेट्नेछिन् … भनेर रञ्जनातिर हेर्यो । रञ्जना आज हतार र खुशी देखिन्छिन् ।
रञ्जना गोपाललाई भन्छिन् … आमा आउँदैछिन् … हामीलाई आज र भोलि शपिङ गर्नु छ .. पर्सि हामीलाई विदा मिलाई दिनुपर्यो..दाइ
गोपाल हाँस्दै .. त्यो भइहाल्छ बरु आमालाई लिन म पनि गाडी लिएर जान्छु… भनेर दुबैजनालाई भन्छ ।
रञ्जना र कमल घर फर्कन्छन् । कमलको जरो हटिसकेको छ । बाइकमा दुबैजना असनतिर केही खानपिनका समानहरु किन्न गए । उनीहरु आमालाई भेट्न पाउने विचारले मात्र रोमाञ्चित थिए । कमल सोच्दै थियो आखिरमा जन्मदात्री, जननीको वात्सल्य र ममता उर्लेर आयो । रगतको सम्बन्ध त्यति कमजोर हुँदैन जसबाट मैले जीवन पाएँ, संसार पाएँ उनी नै मेरो भगवान सबैकुरा हो भनेर कमल आमाको अगाध स्नेहको आभास गर्दै थियो ।
डेरा सफा गरेर चिटिक्क पारेको थियो । शनिवार बितेर गयो । भोलिको आइतवार प्रतीक्षा गर्दै दुबैजना निदाउने प्रयासमा थियो तर, उनीहरुलाई आजको रात प्रतीक्षाको रात भएर होला निन्द्रा पर्न गाह्रो भइरहेको थियो । मध्यरातितर दुबै निदाएछन् । बिहान साढेसात बजेतिर मोबाइलको घन्टीमा रञ्जना र कमल उठे । गोपालले फोन गरेको रहेछ । उताबाट गोपालले … तिमीहरु क्ति बजे निस्कने हो – भनेको सुनेर हतारिंदै कमल भन्छ अब एकैछिनमा हिँडौला… भनेर चारपाइबाट उफ्रिएर बाथरुमतिर फोन समाउँदै लाग्यो ।
रञ्जना पनि आत्तिँइदै … ओहो कमल साढे सात भइसकेछ … भन्दै हतार हतार तयार हुन थालिन् ।
गोपाल भन्दै थियो .. अहिले साढे सात बजेको छ… फ्लाइट टाइम दशबजेको छ म त्यहाँ साढआठबजेतिर गाडी लिएर आउँछु… । कमलले … हुन्छ गोपाल थैंक्स अ लट… भनेर फोन राख्दै … ओहो गोपालले फोन नगरेको भए अझ कतिबेर सुत्ने रहेछु …भन्दै घडि हेर्छ र रञ्जनालाई भन्छ … समय छ रञ्जना अत्तिँइनु पर्दैन बरु अलि छिटो हिँडौला… काठमाडौको ट्राफिक बिहानपख भन्न सकिन्न… भनेर फटाफट तयार हुन थाल्यो ।
उनीहरु तयार भएर त्रिभुवन विमानस्थलमा तीनजना पुगिसकेका थिए । समय बिहानको साढे नौ बजिरहेको थियो । बुद्ध एअरबाट आमा आउँदै थिईन् त्यसैले कमल काउन्टरमा पुगेर जहाजको अवतरणको समय सोध्न गयो । जहाज ठीक समयमा आउँदै थियो । कमल र रञ्जनाको हृदयभरि असिम खुशी उर्लिरहेको थियो । यतिका दिनपछि आमासँग भेट्ने खुशीमा कमल व्यग्र भएर पर्खिरहेको थियो । घडिको सुइको मिनट मिनट ऊ गनिरहेको थियो । थानकोटबाट बतासिँदै बुद्ध एअर एकफनको मारेर ठीक समयमा त्रिभुवन विमानस्थलमा अवतरण गर्यो । पलपल ममताको अगाध स्नेहको आभास र आमाको हातहरुका मातृत्व स्पर्शहरुको अनुभूति कमललाई भइरहेको थियो । रञ्जनालाई खुशीको साथसाथै संकोच, डर र लाज सबै भित्रैदेखिको नारी शुलभले अचेटिरहेको थियो कारण आज पहिलोचोटि सासुसँग भेट्ने दिन थियो । जहाजबाट ओर्लेर आएका मध्येमा कमलले आमामात्र नभई बुवालाई पनि देख्यो । रञ्जनाले पनि आफ्नै बुवाआमालाई त्यही जहाजबाट आउँदै गरेको देख्दा रञ्जनालाई कता-कता भय लाग्न थाल्यो । कमलले रञ्जनालाई भन्यो … रञ्जना बुवा पनि आउनुभएको रहेछ … हेर हेर टोपी ओढेर आमाको अघि-अघि … ऊ आमा हरियो साडी लगाएकी …। रञ्जना अवाक थिईन् … कमल मेरो बुवा र आमापनि पछिपछि आउँदै छन् … ठीक तिम्रो बुवाको पछि पछि … ।
उनीहरु डर, खुशी दुबै मिश्रित भएर असमञ्जसमा थिए । रञ्जनाले भनिन् .. किन सबै एकैचोटि आएका होलान् कतै . .। कमलले बीचैमा भन्यो ..रञ्जना डराउनु पर्दैन .. यो रगतको शक्तिले तानेर ल्याएको हो … अनि गोपाल मुसुमुसु हाँस्दै भन्यो .. आफ्नो आफ्नै हुन्छ मित्र… सन्तानको माया कसलाई हुँदैन र ?
उनीहरुका समान केही थिएन सीधै सबै आवागमनबाहिर आए । उनीहरुका धैर्यको बाँध फुट्यो । रञ्जना र कमल आ-आफ्नो आमाहरुतर्फ भाग्दै गए त्यस्तै बच्चाहरुलाई देखेर दुबै आमाहरु दौडँदै आए । एउटा भावनाको आवेग थियो, ममता र स्नेहको बाढ उर्लेर खनियो, कमल र रञ्जनालाई आमाहरुले अँगालो मार्दै गालामा म्वाइ खाँदै खुशीको मिलनमा आँशु खसाउन थाले । कमल र रञ्जना पनि आ-आफ्नो आमाहरुलाई ढोग्दै, बुवाहरुलाई ढोगे । कृष्णलाल र मनबहादुर दुबै हाँस्दै २ जनालाई समातेर अँगालो हाल्दै समाते । रञ्जना र कमल दंग परे । कृष्णलालले भन्यो …. रञ्जना मेरो स्कुले जीवनको अभिन्न मित्र मनबहादुरको छोरी भनेर पछिल्लो सप्ताहमात्र थाहा लाग्यो … बुहारी आज नै हामी २ बजेको जहाजबाट घर फर्कने हो जहाज टिकट भइसकेको छ … हामीलाई छोडेर बेलायत जाने विचार नगर … तिमीहरुलाई घरले पर्खिरहेको छ..
त्यसपछि मनबहादुरले भन्छ … हो छोरी कृष्णलालको छोरा हो भनेर मलाई थाहा थिएन …हामी दुबैजना बालककालदेखिको मित्र हौ … सँगै स्कुल पढेका थियौ, तर, म आर्मीमा गएपछि हाम्रो भेट भएको थिएन … मलाई खुशी छ कमलभन्दा राम्रो ज्वाइँ अरु हुनै सक्दैन …
गोपालले अर्को गाडी मगाएर सबैजना कमल र रञ्जनाको डेरामा आए । डेरामा सबैखानाको तयार भइसकेको रहेछ । गोपालको एभरेष्ट एडभन्चर ट्राभल्सका कर्मचारीहरु सबै खाना बनाएर उनीहरुका प्रतीक्षामा बसेको देख्दा रञ्जना र कमल दंग भए । गोपालले त्यतिबेला कमल र रञ्जनालाई भन्यो … बुवाआमाको माया सधै सन्तानप्रति रहन्छ किनभने रगतको सम्बन्ध कहिल्यै टुट्दैन ..बुवाले जुन दिनदेखि तिमीहरु काठमाडौ आएर मेरो ट्राभल्समा काममा मैले लगाएँ, त्यतिबेलादेखि नै बेलाबेला फोन गरेर सोधिरहन्थे, अनि तिमीहरु बेलायत जाने कुरा सुनेपछि उहाँको धैर्य टुट्यो, तिमीहरुलाई घर बोलाउने उचित अवसर हेरिरहेका थिए । गोपालले अघि भन्दै गयो …. बुवाले मसित जुन दिन तिमीले आमासित फोन सम्पर्क गर्यौ त्यहीदिन मसित कुरा गरेकाथिए उहाँले मलाई आज आउने कुरा गरेका थिए … त्यसैले यो बन्दोबस्त गरेको हुँ … यार अब बेलायतको कुरा छोड … पोखरा फर्केर बुवाआमाको ख्याल गर… आखिरमा आफ्नो आफ्नो नै हुन्छ … ।
सबै खुशी हुँदै फेरि २ बजेको फ्लाइटमा पोखरा फर्केका थिए । पोखरा एअरपोर्टमा बाजागाजासित कमल र रञ्जनालाई स्वागत गरेको थियो । उनीहरुको असली विवाहको कार्यक्रम आज नै बन्दोबस्त गरेको रहेछ ।
प्रतिक्रिया