यस्ता छन् कर्मलालका चुनावी प्रतिबद्धता

यस्ता छन् कर्मलालका चुनावी प्रतिबद्धता


Karmalal byenjankar 2

स्थानीय तहको निर्वाचनमा विभिन्न दल र स्वतन्त्रसहित मुलुकभर हजारौँ आकाङ्क्षीले नगरप्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्य पदमा उम्मेदवारी दिएका छन् । दलीय घोषणापत्रका अलावा यतिबेला उम्मेदवारहरू आ–आफ्नै प्रतिबद्धतापत्र बोकेर मतदाताका घरदैलो गरिरहेका छन् । यस्तैमध्येका एक हुन्– ललितपुर महानगरपालिका वडा नम्बर १० बाट नेपाली काङ्ग्रेसका अध्यक्ष उम्मेदवार कर्मलाल ब्यञ्जनकार, जसले आफू वडा अध्यक्षमा विजयी बनेपछि पाँच वर्षभित्र आफ्नो वडालाई देशकै नमुना वडा बनाउने दाबी गरेका छन् ।

०३३ सालदेखि काङ्ग्रेस पार्टीमा आबद्ध भई ०५६ यता लगातार इकाइ सभापतिको जिम्मेवारी सम्हाल्दै आएका ब्यञ्जनकारले आफ्नो प्रतिबद्धतापत्रमा स्थानीय स्रोतबाट थप गरी सामाजिक सुरक्षाभत्ता बढाउने, वडाका ढल तथा फोहोरमैलाको समुचित व्यवस्थापन गर्ने, आवश्यकताअनुसार वडाक्षेत्रमा सार्वजनिक शौचालयहरू निर्माण गर्ने, वडाको सुरक्षाका लागि पर्याप्त सार्वजनिक बत्ती तथा ठाउँ–ठाउँमा सीसी क्यामेरा जडान गर्ने, वडाभित्रका सडक मर्मत–सुधार, यूएन पार्कभित्र खेलमैदान तथा विपद् व्यवस्थापन स्थल निर्माण, स्थानीय मठ–मन्दिर तथा ऐतिहासिक सम्पदाको संरक्षण, समुदायिक विद्यालयको भौतिक सुधार, व्यवस्थित बजारको व्यवस्था, आकस्मिक सेवाको लागि एम्बुलेन्स र शववाहनको व्यवस्था गर्ने, खानेपानी, बिजुलीको नियमित आपूर्ति व्यवस्थान, वडाभित्र समुचित पार्किङस्थलजस्ता कार्य गरी सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी, सोही वडा अर्थात् कुपण्डोल (ज्वागल) क्षेत्रका अत्यन्त लोकप्रिय व्यक्तित्व एवम् पुराना समाजसेवी नर्सिङ ब्यञ्जनकार पनि स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा होमिएका छन् । वडावासीका घर–घर पुगेर सुख–दुःख तथा समस्याबारे बुझ्ने र समस्या समाधानका लागि सक्दो प्रयास गर्ने स्वभावका कारण नर्सिङले विगतमा पनि पटक–पटक वडाको नेतृत्व गर्ने अवसर पाएका छन् । कुनैबेला काङ्ग्रेसकै टिकटबाट चुनाव जितेका उनले स्वतन्त्र उठ्दा पनि जित हासिल गर्ने गरेको इतिहास छ । सबै पक्षको प्रियपात्र भएकाले स्वतन्त्र उठेर पनि आफू विजयी बन्ने दाबी उनले गरेका छन् । यस्तै, ज्वागलनिवासी समाजसेवी कुलबहादुर आचार्य नेकपा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका छन् । टोलवासीबीच भिजेका आचार्यले पनि निर्वाचन परिणाम आफ्नै पक्षमा हुने दाबी गरेका छन्, तर विगतको निर्वाचन परिणामका आधारमा भन्नुपर्दा यसपटक स्वतन्त्र उम्मेद्वारी दिएका नरसिंह ब्यञ्जनकार र काङ्ग्रेस उम्मेदवार कर्मलालबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।

ललितपुर– ५ का बलिया उम्मेदवार सानुलाल
Sanulal Shrestha

नेपाली काङ्ग्रेस ललितपुर ५ नम्बर इकाइ महानगर समितिले नववर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा वडाभित्रका सबै तहका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो । स्थानीय निर्वाचनको सङ्घारमा वडावासीको उल्लेखनीय उपस्थिति देखेपछि ५ नम्बर वडामा विगतको निर्वाचनमा झैँ यसपटक पनि काङ्ग्रेसको वडाध्यक्षको उम्मेदवार सानुलाल श्रेष्ठसहित उनको समूहले विजय हासिल गर्न सक्ने बलियो सम्भावना देखिएको कुरा स्थानीय बुद्धिजीवी नेत्रप्रसाद उपाध्याय बताउँछन् । उपाध्यायका अनुसार यस वडामा विगतमा पनि काङ्ग्रेसले जितेको र यसपटक पनि जित्न सक्ने प्रबल सम्भावना रहेको बताए ।
कार्यक्रममा ललितपुर महानगरपालिकामा काङ्ग्रेसबाट प्रत्याशी प्रमुख र उपप्रमुखको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा ललितपुर क्षेत्र नं. २ र ३ का सांसद चन्द्र महर्जन र मदनबहादुर अमात्यले पनि निर्वाचनसम्बन्धी आ–आफ्ना धारणा राख्नुभयो । नेपाली काङ्ग्रेस ५ नम्बर इकाइका कार्यबाहक सभापति अर्जुन गिरीले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा ५ नम्बर वडाबाट वडाध्यक्षका प्रत्याशी सानुलाल श्रेष्ठले आफू ५ नम्बरलाई महानगरकै अब्बल वडा बनाउन कुनै कसर नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

विगतको तुलनामा यस वडामा एमालेले आफ्नो सङ्गठन सुदृढीकरण गरे पनि अन्तिम प्रतिस्पर्धा काङ्ग्रेस र एमालेबीच नै हुने देखिन्छ । विगतमा काङ्ग्रेसको तुलनामा एमालेले फितलो उम्मेदवार दिएकै कारण काङ्ग्रेसले सहज तरिकाले बाजी मार्दै आएको थियो । यसपटकचाहिँ एमालेले उम्मेदवार चयनमा खास ध्यान दिएको सुइँको पाएपछि काङ्ग्रेसले सक्षम र सशक्त उम्मेदवार दिएकाले पुनः एकपटक वडाध्यक्षसहित सम्पूर्ण पद काङ्ग्रेसको पोल्टामा जाने कुरा स्थानीय सञ्जीव पाण्डे बताउँछन् ।
ललितपुर महानगरपालिकाको २९ वडामध्ये सबैभन्दा सानो वडाको रूपमा परिचित ५ नम्बर वडालाई काङ्ग्रेसले २०४८ को आमनिर्वाचनदेखि नै आफ्नो भोटबैंकको रूपमा मान्दै आएको देखिन्छ । काङ्ग्रेस यसपटक पनि आफ्नो इतिहास कायम राख्ने पक्षमा रहेको छ भने उता एमाले पनि इतिहास रच्न आतुर भएको देखिन्छ । एमालेले विगतको तुलनामा आफ्नो सङ्गठन सुधारे पनि अन्ततः काङ्ग्रेसको प्रभावशाली उम्मेदवारका कारण केही नलाग्ने स्थानीय सुनिल राणा बताउँछन् ।

कार्यक्रम समापनपश्चात् काङ्ग्रेसले आफ्नो प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यसहित आफ्नो प्रचार आरम्भ गरेको थियो । उक्त वडामा केही समयमा देशका ठूला दुई पार्टीले एकैपटक चुनावी कार्यक्रम आरम्भ गरेपश्चात् ५ नम्बर वडावासीचाहिँ यसपटक कस्तो नतिजा आउला भनेर व्यग्र प्रतीक्षारत छन् ।
– सुधाकर ढुङ्गाना