सधैँका निर्णायक यिनै !

सधैँका निर्णायक यिनै !


Kanak Group

०६३ को परिवर्तनपछि राजनीतिलाई आफ्नो चाहनाबमोजिम अगाडि बढाउन विभिन्न स्वार्थ–समूहहरू सक्रिय भएका छन् । जाति, भाषा, क्षेत्र आदि नाममा खुलेका स्वार्थ–समूहहरू आ–आफ्ना कार्यक्षेत्रमा खटिएका भए पनि राजधानी काठमाडौंमा बेलाबखत सक्रिय हुने एउटा भूमिगत सञ्जाल भने सर्वाधिक खतरनाक देखिएको छ । अनशनकारी गोविन्द केसी, कनकमणि दीक्षित र विवेकशील पार्टीका नाममा खुलेको एउटा रहस्यमयी समूह, रवीन्द्र मिश्र, कल्याण श्रेष्ठ, केही मानवअधिकार व्यवसायी, केही गैरसरकारी संस्था र नेपालको सबैभन्दा ठूलो दाबी गर्ने मिडिया कम्पनी निश्चित मुद्दामा सधँै एक ठाउँमा उभिने गरेको पाइएको छ ।

यो समूह संविधान, प्रचलित नियम–कानुन र नैतिकताको बन्धनबाट मुक्त देखिन्छ र अरू समयमा झाडीमा कतै हराए पनि आफ्नो स्वार्थ प्रतिकूल कतै केही हुन लागेमा सुतेको अजिङ्गरझैँ अचानक जाग्ने र गोयबल्स शैलीमा आतङ्क पैदा गरेर काम पट्याउने गर्दछ । यो समूह नियम, कानुन र संविधानको व्याख्या आफूअनुकूल गर्छ र प्रचारको बलमा साधारण जनतालाई समेत ताली बजाउन बाध्य तुल्याउँछ । ‘डलर कनेक्सन’मा देखिने उल्लिखित व्यक्तिहरू आफ्नो नेटवर्कलाई एकैपटक क्रियाशील गराउँछन् र माइतीघर आसपास टी–सर्ट र क्यापधारी दुई चार सय अभिजात वर्गीय ‘फिगर’को भेला गराउँछन् । त्यसैलाई कथित ठूला मिडियाले ‘ब्यानर न्युज’ बनाउने र निर्णायक तहमा रहेकाहरू ‘थर्कमान’ भएर निर्णय बदल्ने क्रम दशकयता रामै्रसँग चलिरहेको छ ।

एनजीओका ठेकेदारहरू जे बोल्छन् ठूलो दाबी गर्ने मिडियाले त्यसैलाई बढाइ–चढाई प्रचार गर्ने, गोविन्द केसीले अनशनको धम्की दिने र निर्णय आफ्नो पक्षमा गराउने जुन काम हुँदै आएको छ यसले नेपालमा प्रजातन्त्र र कानुनी शासन संस्थागत हुन अवरोध पैदा गर्ने खतराको सङ्केत दिएको छ । लोकमानसिंह कार्कीले ठूला गैरसरकारी संस्थाका मालिक र केही मानवअधिकार व्यवसायीलगायतलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन खोज्दा जुन–जुन व्यक्ति र एनजीओ लोकमानविरुद्ध उत्रिएका थिए, सुशीला कार्कीको पक्षमा पनि तिनीहरू नै सडकमा देखिए । ‘संविधान र कानुनलाई समेत तर्साएर’ खान पल्केको उक्त गिरोहका नेताको पहिचान गरी तिनलाई कानुनको दायरामा ल्याउन नसक्ने हो भने अन्ततः राज्य नै असफल हुन सक्ने सम्भावना देखिन्छ ।

कल्याण श्रेष्ठ, गोविन्द केसी, कनकमणि दीक्षित, विवेकशील समूह, रवीन्द्र मिश्र, केही अन्य एनजीओ व्यवसायी र ठूलो दाबी गर्ने एउटा मिडिया हाउसबीचको गठबन्धनलाई बुझ्ने हो भने लोकतन्त्र कसलाई किन आएको रहेछ भन्ने मात्र अनुभूति हुँदैन, समानान्तर सत्ता चलिरहेको तथ्यबोध पनि हुन सक्छ । न्यायालयमा समेत आफ्नो असली प्रतिनिधिहरू घुसाउन सफल भएपछि उक्त गिरोहको मनोबल निकै बढेको पाइएको छ ।