स्कटल्याण्डमा भानु जयन्ती सम्पन्न

स्कटल्याण्डमा भानु जयन्ती सम्पन्न


एबरडिन, स्कटल्याण्ड, १३ मार्च । १९८ औं भानु जयन्तीको अवसरमा स्कटल्याण्डमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियो । स्कटल्याण्डस्थित अर्गनाइजेशन फर नेप्लिजन कल्चर एण्ड वेलफेयरले आयोजना गरेको सो कार्यक्रममा विश्वका आठ मुलुकबाट कवि कवयित्रीहरुले कविता वाचन गरेकाथिए । सो समारोहमा राष्ट्र गानका रचयिता कवि ब्याकुल माइलाले नेपालबाट प्रत्यक्ष कविता वाचन गरेकाथिए । आधुनिक प्रविधिमार्फत विश्वका विभिन्न मुलुकमा रहेका साहित्यप्रेमीहरुलाई प्रत्यक्ष कविता सुनाउन पाउ“दा निकै खुशी लागेको उनले बताएकाथिए । सो अवसरमा नेपाली साहित्यमा अभिरुचि राख्ने सुप्रसिद्ध आइरिस कवि कायल ओ सर्काइलले भूपि शेरचनको कवितालाई नेपाली, अंग्रेजी र आइरिस गरी तीनवटा भाषामा सुनाएका थिए । आइरिस कवि कायलले भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, पारिजातका कृतिहरुलाई अन्तर्राष्ट्रियस्तरमा पनि प्रवर्द्धन गरिनुपर्ने बताएकाथिए ।
नेपालमा शैक्षिक तथा राजनीतिक ब्यक्तित्वको रुपमा परिचित घनश्याम शर्मा पौडेलले प्रमुख अतिथिको आसनबाट छन्दमा दुईवटा कविता सुनाएकाथिए । कार्यक्रममा स्काइपको माध्यमबाट विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारहरुले कविता पाठ गरेकाथिए । सो समारोहमा बेलायतबाट डा. कविताराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, दुर्गा पोखरेल, अमेरिकाबाट शैलेन्द्र साकार, ज्ञानेन्द्र गदाल, गीता खत्री, पुरानाघरे, रुसबाट डा. मधु माधुर्य, इटालीबाट जगत नवोदित, डेनमार्कबाट वृजेश गौतम र ब्रुनाइबाट विश्वासदीप तिगेला सहभागी थिए । यसैगरी एबरडिनका गणेश चापागाईंले भानुभक्तका केही कविताहरु वाचन गरेकाथिए भने नवीन क्षेत्री, आनन्द अर्याल, सन्तोष गैरेलगायतले पनि मर्मस्पर्शी रचना सुनाएका थिए । करीब तीन घण्टासम्म चलेको सो कार्यक्रमलाई कार्यक्रमस्थलमा भने प्रोजेक्टरको माध्यमबाट ठूलो पर्दामा देखाइएको थियो ।
कार्यक्रमका सहभागी विजय सिग्देलले धेरैपछि स्तरीय कविताहरु सुन्न पाएको प्रतिक्रिया दिएकाथिए । त्यस्तै अर्का सहभागी कवि नवीन क्षेत्रीले सूचना प्रविधिको प्रयोगले यस्ता कार्यक्रमहरु अझ प्रभावकारी हुनसक्छ भनी आफूलाई प्रेरणा मिलेको अनुभव ब्यक्त गरेकाथिए । आनन्द अर्यालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था अर्गनाइजेशन फर नेप्लिजन कल्चर एण्ड वेलफेयरका अध्यक्ष दिपेश रेग्मीले संस्था आगामी दिनहरुमा पनि नेपाली कला, साहित्य, संस्कृतिको क्षेत्रमा क्रियाशील रहिरहने प्रतिबद्धता जनाएकाथिए । – भाष्कर अर्याल, मेस