बेलायतमा नेपाली भाषा शिक्षण सन्दर्भ

बेलायतमा नेपाली भाषा शिक्षण सन्दर्भ


-मुकेश राई
“अंकल मनिष छ ?”
मनोज आइपुग्छ, साथी अर्थात् मेरो छोरा मनिषलाई सोद्धै म उसलाई मनिषको कोठामा पठठाइदिन्छु जहाँ अघिदेखि नै २/३ जना मिलेर ल्यापटपमा कुनै सिरियल या फिल्म हेरिरहेका हुन्छन् । उनीहरु छुट्टीको बेला राम्रो दिन भए बास्केटबल खेल्छन् अनि पानी परे या जाडो मौसममा भेला भएर कुनै मूभी या यसरी नै सिरियल हेर्छन् । मेरो कौतुहलता बढ्छ, यसरी उनीहरु के हेर्दैछन् ? म पनि उनीहरुले हेरिरहेको सिरियल हेर्न पुग्छु । उनीहरु एउटा कोरियन धारावाहिक Boys Before Flowers कोरियन भाषाकै अडियो तर इङ्लिश sub-title मा हेरेर रममाइरहेका हुन्छन् । मलाई झनै चाख लाग्छ, नेपालबाट बेलायतमा आएर उनीहरु किन यति साह्रो यसरी अन्य देशका कुराहरु प्रति यति मोहित हुँदैछन् ।

म उनीहरुलाई नै प्रश्न गर्छु, मेरो प्रश्नहरुको जवाफ पालैपालो दिन्छन् –
१, कथावस्तु राम्रो हुनु ।
२, फैशन उनीहरुको मागनुसार हुनु ।
३, दैनिक जीवनमा घट्ने घटनाहरुसगँ संघर्ष गर्ने कुराहरुको आइडिया र नौलो पन ।
४, सरल अनि नेचुरल्ली हास्यास्पद दृष्‍य हुनु ।
५ नेपाली टेली ऋंखलाहरु भन्दा व्यवस्थित, सुन्दर अनि सहज हुनु ।

उनीहरुको भनाइअनुसार यस्ता टेली ऋंखलाहरु केटाहरुले भन्दा अझ बढी केटीहरुले हेर्ने गर्छन् । यहाँ उनीहरुले मनोरन्जनको निम्ति हेर्छन्, ठीकै हो तर मेरो सोचको साँघुरिएको होइन केवल कौतुहलता बढेको मात्रै हो । हुन त हामी अघि अनि हाम्रो पुस्ता पनि बिदेशी बिशेष भारतीय धारावहिक र चलचित्रतर्फ आकर्षित नभएका होइनौ, यहाँ बेलायतमा आएर पनि हेर्नु बाध्यता नै त होइन तर हेर्छौ किनकि भारतीय टीभी च्यानलहरु यथेष्ट उपलब्ध छन्, जसद्वारा नयाँ चलचित्र अनि धारावहिक मनग्ये प्रशारण हुन्छन् जसको तुलनामा एउटै मात्रै यूरोपको निम्ति संचालित नेपाली टीभी च्यानल उपल्ब्ध छ जसको निम्ति फाल्टै सेट राख्नुपर्ने हुन्छ ।

यस्ता कुराहरुलगायत छिमेकी मुलुक भारतको हरेक कुराले प्रभावित भएको नेपालमा स्वाभाविक रुपमै पनि हिन्दी फिल्म र सिरियलहरुले पारेको प्रभावले गर्दा हिन्दी भाषा सजिलै बुझ्नु अनि यहाँ पनि सहजै उपलब्ध हुनुले यस्ता कुराहरुलाई स्वाभाविक रुपमा लिन सकिन्छ तर अहिले बेलायतमा प्रतिस्थापन हुने तरल क्रममा नेपालबाटै अंग्रेजी माध्यममा पठनपाठन गरेर आएका नानीहरुले नेपाली र अंग्रेजी भाषा छाडेर अन्य भाषाहरुका धारवाहिक, फिल्म अनि विविध कुराहरुतर्फ आकर्षित हुनुलाई हामीले कुन रुपमा लिने रु उनीहरुले दिएका जवाफबाट यति अनुमान त अवश्यै लगाउन सकिन्छ कि हाम्रो आफ्नै स्वदेशी मनोरन्जन सामाग्रीहरु नयाँ पुस्ताहरुको चाहनाअनुरुप नहुनु, स्तरीयताको कमी, बिदेशी कै नक्कलमा कार्यक्रमहरुको कपी गरिनुले मौलिकता नहुनु, समय अनुरुपका प्रविधिक कुराहरुबाट पिछडिनु या यस्ता कुराहरुलाई आर्थिक रुपले पच्छ्याउनु नसक्नु अनि चाहेको बेलामा उपलब्ध हुन नसक्नु आदि ईत्यादि । यसको मुख्य कारण नेपाली कला र साहित्य क्षेत्रका बजार ब्यवस्थापन राम्रो नहुनु, सीमित मात्रै हुनु पनि एक हुनुसक्छ ।

यसरी म स्पष्ट हुन नसकिरहेको बेलामा नयाँ सन्देश साप्ताहिक बर्ष ३, अंक २२, बिहीवार १९ जेठ २०६८ मा प्रकाशित ‘बेलायतमा नेपाली भाषा शिक्षण व्यवस्थाको सन्दर्भ’ शीर्षकमा रक्ष राईज्युको गम्भीर लेख पढ्न पाउँदा ज्यादै खुशी लाग्यो । मेरो दिमागमा उहाँको लेख सविस्तार पढिसकेपछि सोझै ठोक्किएको कुराचाँहि हामीले अहिलेदेखि नै हाम्रो भाषालाई एक्यबद्ध भएर पहिचान दिनेतर्फ पहल गर्नु अत्यावश्यक भइसकेको छ् । जसको निम्ति हामी सम्पूर्ण नेपाली जातीयताको नारा फुकेर एकल हुनुभन्दा एक भएर राष्ट्रियता र नेपाली हुनुको पहिचानको निम्ति प्रत्येकले उत्तरदायित्व वहन गर्नै पर्ने भएको छ । हुनु त माथि मैले उठाएको सन्दर्भ र यहाँबाट मैले नै शुरु गरेको लेखन मा खासै तालमेल नहोला तर यसमा यी दुइटै सन्दर्भका निचोड कुरो सायद एउटै हुन सक्ला कि ? किनकि भोलि गएर यहाँको पाठ्यक्रममा नेपाली भाषा समावेश भएर अरु भाषा जस्तै एउटा विदेशी भाषा पढ्ने सौभाग्य मिलेमा यी कुराहरुले निक्कै ठूलो असर पार्नेछ भन्ने मेरो धारणा छ ।

अन्य देशतिर स्थापित भएका नेपालीहरुलाई छोडेर बेलायतको मात्रै कुरा गर्ने हो भने विभिन्न पेशा र अध्ययनको सिलसिलामा भित्रिएकाहरुमध्ये सबैभन्दा ठूलो जमात लाहुरे समुदाय कै छ । यस क्रममा करीब २०० बर्षको इतिहासलाई नै केलाएर हेर्ने हो भने पनि अन्तिम एक दशकलाई छोडेर त्यसभन्दा अघिको परिस्थिति र परिवेश कहालीलाग्दो र अन्योलग्रस्त नै देखिन्छ । जुन बेला हाम्रो पिता पुर्खा र हामी आफ्नो बल बैंश र जवानीको जोश भइन्जेल बेलायतीहरुको सेवा ग-यौं, कति युद्ध मैदानमा ज्यान गुमाए कति अङ्गभंग भएर बाँचेका अनि काम नलाग्ने गरी पाको हुँदैँ थलिएपछि २० पाउण्ड पेन्सन (सायद कतिले पाएनन् होला) लाई आफ्नै बाध्यता र नियतिको पाउँदार सम्झेर स्वदेश फिर्ता हुन्थौं, बेलायतीहरुले भीसा बेगरको नेपाली राहदानी र ब्रिटिश आर्मीको आइडेन्टिटी कार्डको भरमा संसारको कुना-कुना आफ्नो स्वार्थको निम्ति घुमाएर अन्त्यमा त्यही ब्रिटिश आर्मीको आइडेन्टिटी कार्ड पनि अवकाश पाएर नेपाल उडान हुने दिन आर्मी ब्यारेक्सकै परिधिभित्र बुझाएर नाटो ट्राभल डक्युमेन्टको भरमा त्रिभुवन बिमानस्थलमा झारिन्थ्यो । त्यसपछि त बेलायतको भूमि टेक्नु भनेको सपनाको स्वर्ग नै बन्थ्योभन्दा अत्युक्ति नहोला कि ? नेपालसँग लामो अवधि नाता टुटेको लाहुरे अर्थात् Bravest of the Brave हरुले विभिन्न कठिनाइसगँ लड्नु त छदैँ थियो, यही तानाबानामा जेलिएकै बेला फेरि गोर्खालीको लोयाल्टी बन्धकी राखेर रोयाल्टी खान पल्केका गोरा साहेबहरुकै पहलमा न्च्ग् ब्रुनाईमा सुल्तानको सुरक्षा गार्ड बन्न वाध्य हुन्थौं ।

जबसम्म दुहुना-गाई जस्तो भइन्जेल वीर गोर्खा, बहादुर, ईमान्दार भनेर धाप मार्दै फुर्काएर स्वार्थपूर्तिपछि बेलायती भूमिमा कहिल्यै नफर्कने गरी नेपाल फर्काएका गोर्खालीहरु अहिले लुकाउँदा-लुकाँउदै पनि बाहिर निस्किएका सत्य झै अधिकार प्राप्त गोर्खाली बनेर र उनका परिवारहरु अर्थात् तिनै गोरा साहेबहरुका ईमान्दार, सोझा बहादुरहरु जीर्ण शरीर र झिनामसिना आशा र रहर सँगालेर वृद्ध अवस्थामा आफ्नो प्राणभन्दा प्यारो जन्मभूमि छोड्नुको ब्यथा अनि उस्तै बाध्यताहरु बोकेर बेलायतमा आइपुग्दा ती अल्लारे हुँदा रगत र पसिना बगाएर बेलायतको स्वतन्त्रता, अखण्डता र संसार विजेताको ख्याती दिलाएका गुणगान गरेर नथाक्नेहरुले सानो हार्दिकतासम्म दिन सक्दैनन । बरु कुनै सम्मानित ब्यक्तित्वले उच्च पदमा रहेर पनि उनै गोर्खालीलाई लक्ष्य साँधेर हेय र असम्मान गर्दै विभिन्न आरोपित लेखहरु लेख्छन् भने यसबाट हामीले रिसको आवेश होइन भविष्यको निम्ति सोच्नु र बुझ्नु जरुरी छ भन्ने स्वकीय विचार यहाँहरु समक्षमा पस्कँदै छु ।

यी त भर्खर शुरुवाती प्रतिस्थापनको क्रममा आउन थालेका सानातिना विरोधाभास मात्रै हुन् । भोलि अवश्यै नै हाम्रो संख्यात्मक अनि गुणात्मक वृद्धि हुने छ । नयाँ पुस्ताहरुको जमात बढ्ने छन्, नयाँ सोच आउनेछन् । कस्तो होला त्यसबेला हामी अस्तित्वहीन भएर आफ्नो आफ्नो पहिचान र भाषाका लिपीहरु खोज्दै हिंड्नु पर्दा ? भनिन्छ साहित्य समाजको दर्पण अनि साहित्यलाई उजागर गर्ने सशक्त माध्यम हो भाषा । अहिलेदेखि नै हामीले यो भाषिक अभियानलाई जातीय पृथकता र दिशा भ्रमित नभई एक भएर जुट्दै हामीसगैँ हाम्रो राष्ट्रिय भाषालाई पनि प्रतिस्थापन् गर्न सक्यौं भने यो नै हामी र हाम्रो भावी सन्ततिको निम्ति एउटा सुन्दर भविष्य निर्माणको बाटो बन्ने छ ।

मेरो ठक्करे दिमागमा रक्ष राईज्युको लेखले ठोक्किएर जन्मिएको मेरो सोच अर्थहीन या औचित्यहीन हुनसक्छ, जे भएता पनि अन्यथा नठान्नु होला । धन्यवाद !