अमेरिकामा नेपालीहरूको बेग्लै कलह

अमेरिकामा नेपालीहरूको बेग्लै कलह


मातृभूमि नेपालमा स्थानीय निर्वाचनको रन्को बढिरहेको बेला अमेरिकामा बस्ने नेपाली भने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचनले तातेका छन् । झन्डै आधा दर्जन उम्मेदवारहरू मैदानमा देखिए पनि नेपाली जनसम्पर्क समिति अमेरिका समर्थक टेक्सासका व्यवसायी गौरी जोशी र झापाका कृष्ण सिटौलानिकट विष्णु सुवेदीको मान्छेका रूपमा परिचित केशव पौडेलको ओजिलो उपस्थिति रहेको आसन्न एनआरएनए अमेरिकाको निर्वाचनमा वर्तमान अध्यक्ष भने सम्भावित पराजयको आशङ्काले उम्मेदवारी त्यागेर सहज अवतरणको लागि खगेन्द्र जीसीको शरणमा पुगेको चर्चा यतिबेला अमेरिकामा रहेको नेपाली समुदाय माझ चर्चाको विषय बनेको छ ।

यद्यपि पौडेललाई उम्मेदवारी नत्याग्न माओवादीनिकट सङ्घका क्षेत्रीय संयोजक सोनाम लामा, सङ्घका उपाध्यक्ष राम सी पोखरेल र अमेरिकामा ‘नेपाली भूत’ भनेर परिचित यादव पण्डितको तीव्र दबाबका कारण पौडेल अन्योलग्रस्त रहेको पौडेलनिकटका प्रमोद सिटौलाले बताएका छन् । स्मरण रहोस्, वर्तमान अध्यक्ष पौडेललाई यसअघिको निर्वाचनमा भोटर फ्रडको आरोपसहित अदालतमा मुद्दासमेत परेको थियो । उता नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी समितिको आधिकारिक उम्मेदवार गौरी जोशीलाई हराउन बाल्टिमोरका रविना थापालाई बागी उम्मेदवार उठाउने तयारीमा जुटेका छन् । यता समितिनिकट अध्यक्षका प्रत्याशी कृष्ण पोखरेल र डिल्ली भट्टराई भने समितिका आधिकारिक उम्मेदवार गौरी जोशीलाई आसन्न सङ्घको केन्द्रीय निर्वाचनमा क्षेत्रीय संयोजक र उपसंयोजकमा सघाउने सर्तमा उम्मेदवारी फिर्ता लिन तयार रहेको चर्चा चलिरहेको छ ।

Gauri

यता एमालेको प्रवासी सङ्गठनका उम्मेदवार पुरुषोत्तम बोहरालगायतका माधव नेपाल समूहचाहिँ पौडेल नउठेमा समितिको बागी उम्मेदवार रविना थापालाई मत दिने रणनीतिमा जुटेका छन् भने केपी ओली समूह जनसम्पर्क समितिको आधिकारिक समूहमार्फत मोलमोलाइ गर्दै आफ्नो उम्मेदवारहरू जिताउने अभियानमा जुटेको छ । स्मरण रहोस्, यसअघि माओवादीनिकट सङ्घका क्षेत्रीय संयोजक सोनाम लामाको निर्देशनमा अध्यक्ष केशव पौडेलले नेपाली जनसम्पर्क समिति अमेरिकाको आधारक्षेत्र टेक्सासका झन्डै २ हजार सदस्यको नाम छानबिनका लागि भन्दै हटाइदिएका कारण अध्यक्ष केशव पौडेल नेपाली–अमेरिकनमाझ आलोचित बन्दै गएकोले एनआरएनए अमेरिकाको अध्यक्षमा नेपाली जनसम्पर्क समिति अमेरिकासमर्थक टेक्सासका व्यवसायी गौरी जोशीले जित्ने अनुमान र चर्चा नेपाली अमेरिकनमाझ चलेको छ ।