नेतृत्वको कमजोरीका कारण जितेर पनि हार्दै काङ्ग्रेस

नेतृत्वको कमजोरीका कारण जितेर पनि हार्दै काङ्ग्रेस


NC

विसर्जन र विघटनको पूर्वसन्ध्यामा रहेको माओवादीलाई बोक्ने निर्णयमा काङ्ग्रेस नेतृत्व पुगे पनि चुनाव परिणामले माओवादीसँगको गठबन्धन घातक हुने पुष्टि गरिदिएको छ । संविधान संशोधन गरी मधेसकेन्द्रित समूहहरूलाई समेत सहमतिमा ल्याएर चुनाव गराउने पक्षमा रहेको सत्ता गठबन्धन र संविधान संशोधनमा बाधक बनेको नेकपा एमालेबीच प्रतिस्पर्धामा काङ्ग्रेस र माओवादीबीच चुनावी तालमेल हुँदा एमालेलाई अधिकांश स्थानमा पराजित गराउन सकिने विश्लेषण माओवादी र काङ्ग्रेसका नेताहरूले गरेका थिए । पहिलो चरणको निर्वाचन परिणामले काङ्ग्रेस र माओवादीबीचको चुनावी गठबन्धन गलत भएको पुष्टि गरेको छ ।

प्रभावकारी एजेन्डा नभएको र चुनावको पूर्वसन्ध्यामा पार्टीको मूल नेतृत्व विभिन्न प्रकारका विवादमा परेको पृष्ठभूमि तथा केन्द्रीय तहमै माओवादीसँग चुनावी गठबन्धन घोषणा भएको परिपे्रक्षमा काङ्ग्रेसले जुन प्रकारले परिणाम हासिल गरेको छ, यसले सभापति देउवाप्रति कार्यकर्ताहरूको आक्रोश बढाएको छ । चुनावी गठबन्धन गर्नुपर्ने भए त्यससम्बन्धी निर्णय लिने अधिकार सम्बन्धित वडा, गाउँ या नगरसमितिलाई दिइएको अवस्थामा नेतृत्वप्रति कार्यकर्ताको आक्रोश नहुन सक्थ्यो । कुन गाउँ, नगर र वडामा कुन पार्टीका उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिने कामसमेत केन्द्र र जिल्लाका नेताहरूबाट भएपछि काङ्ग्रेसभित्र त्यसको व्यापक विरोध भयो ।

काङ्ग्रेसका कार्यकर्ताले यसलाई नेतृत्वको दादागिरी ठान्यो र माथिल्लो तहबाट भएको निर्णयको अधिकांश स्थानमा अवज्ञा ग¥यो । खासगरी काठमाडौं, भरतपुर, पोखरा र ललितपुर महानगरपालिकाजस्ता महत्वपूर्ण स्थानमा भएको चुनावी तालमेललाई काङ्ग्रेसका कार्यकर्ताले सहज ढङ्गले लिन सकेनन् । ललितपुरको मेयर माओवादीलाई दिने निर्णयको व्यापक विरोध भएपछि काङ्ग्रेस आफ्नै उम्मेदवार कायम राख्न सफल भयो भने ललितपुरमा तालमेल नहुने भएपछि काठमाडौंका काङ्ग्रेसजनले पनि ‘नाक’ जोगाउने मौका पाए । तर, भरतपुर र पोखरामा भने काङ्ग्रेस र माओवादीबीच गठबन्धन कायम भए पनि परस्पर शङ्का र अविश्वास कायम रहेका कारण निर्वाचन परिणाम चुनावी तालमेल गर्नुको उद्देश्य पूरा हुने किसिमको आउने विश्वास गर्न सकिएको छैन । नेकपा एमालेको चुनावी वेगलाई शिथिल तुल्याउन सत्तारुढ काङ्ग्रेस र माओवादी पूर्णतः असफल रहे ।

तीनवटा प्रदेशमा एमालेले हासिल गरेकोे अग्रताले उसलाई देशको सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित गर्ने सङ्केत दिएको छ । काङ्ग्रेसले दोस्रो हैसियत प्राप्त गर्न सफल भए पनि माओवादीसँगको गठबन्धनका कारण काङ्ग्रेसलाई ठूलै क्षति पुगेकोे देखिन्छ । स्थानीय निर्वाचन गराएर एमालेको पक्षमा बन्दै गरेको माहोललाई तितरवितर बनाएर मात्र संसदीय निर्वाचनमा जानु उचित र फाइदाजनक ठान्ने काङ्ग्रेस र माओवादीका नेताहरूले एमालेलाई यस निर्वाचनमा प्राप्त सफलताबाट पाठ सिक्न र आफ्नो सोचमा पुनर्विचार गर्नु उपयुक्त हुने देखिएको छ ।