लण्डन । आगामी जुलाई २९ र ३० तारिखमा जर्मनीको फ्रयाङ्कफर्टमा हुन गैरहेको गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकको तयारी तीव्र गतिमा चलिरहेको छ। बैठकको तयारीका लागि गत साता फ्रयाङ्कफर्टमा युरोप क्षेत्रीय संयोजक कुल आचार्यको तदारुकतामा सम्पन्न छलफलपछि आचार्यकै अध्यक्षतामा ५७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। सो भेलाले आर्थिक, मिडिया लगायत विभिन्न समितिहरु र ११ सदस्यीय सचिवालय पनि गठन गरेको छ।
त्यस्तै, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीबा लामिछाने, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायत ३० जना रहनुभएको सल्लाहकार समिति गठन गरिनुका साथै संघकी महिला संयोजक सपिला राजभण्डारीको संयोजकत्वमा महिला सम्मेलन व्यवस्थापन समिति पनि बनाइएको छ।
युरोप क्षेत्रीय संयोजक कुल आचार्यको अध्यक्षतामा बसेको सो बैठकले “युरोपका नेपालीको एकता ः समृद्ध नेपालको आवश्यकता” भन्ने मूल नारा पनि तय गरेको छ ।
बैठकले मुख्य प्रायोजकसंग कम्तीमा १०,००० युरो, प्लाटिनम प्रायोजकसंग कम्तीमा ५,००० युरो, गोल्ड प्रायोजकसंग कम्तीमा ३,००० युरो, सिल्भर प्रायोजकसंग कम्तीमा २,००० युरो, ब्रन्ज प्रायोजकसंग कम्तीमा १,००० युरो र अन्य प्रायोजकहरुबाट कम्तीमा ५०० युरोकालागि अनुरोध गर्ने निर्णय समेत सो भेलाले गरेको थियो। बैठकको आतिथेय गर्ने एनआरएन राष्ट्रिय समन्वय समिति जर्मनीले बैठकको सबै खर्च सहभागीहरुबाट प्राप्त दर्ता शुल्कबाट चलाउने र प्रायोजन तथा अन्य स्रोतबाट उठेको सबै रकम काठमाडौंमा एनआरएन भवन निर्माण काममा सघाउनका लागि पठाउन निर्णय समेत गरेको छ।
बैठकमा एनआरएनएका उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री केसी, सचिव अर्जुनकुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी, उप महिला संयोजक रजनी प्रधान लगायतले बैठकको आयोजन सम्बन्धमा सुझाव सल्लाह दिनुभएको थियो। उक्त अवसरमा बोल्दै प्रमुख संरक्षक जीबा लामिछानेले बैठकबाट खर्च कटाइ उठेको सबै रकम एनआरएन भवन निर्माणमा पठाइने भएकाले खुल्ला हृदयले सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो।
संघकी महिला संयोजक सपिला राजभण्डारीले विगतमा जस्तै गैरआवासीय नेपाली महिलाहरुसंग सम्बन्धित विषयबारे छलफल चलाइने महिला सम्मेलनलाई सफल पार्न सबैको सहयोगका लागि अनुरोध गर्नुभयो। त्यस्तै एनआरएन जर्मनीका अध्यक्ष नवराज रोश्याराले युरोप क्षेत्रीय बैठकलाई सफल पार्न सबैलाई सहयोगकालागि आग्रह गर्नुभएको छ।
बैठकको अन्त्यमा एनआरएनएका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले गत वर्ष डेनमार्कको कोपेनहेगनमा सम्पन्न क्षेत्रीय बैठककै निरन्तरताको रुपमा जर्मनीमा हुन गैरहेको बैठकलाई पनि भव्य रुपमा सफल पार्न आग्रह गर्नुभयो। उहाँले बैठकको आयोजनामा खटिरहनुभएका एनआरएन जर्मनी तथा युरोप क्षेत्रका सबै पदाधिकारी तथा साथीहरुलाई धन्यवाद दिनुहुँदै फ्रयाँकफर्ट बैठक एनआरएन अभियानमा एक कोसेढुँगा हुने विश्वास पनि व्यक्त गर्नुभयो।
बैठकमा एनआरएन भवन निर्माण बाहेक नेपालमा लगानी तथा पर्यटन प्रबर्द्धन तथा युरोप क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका समस्याका बारे पनि छलफल गरिने आयोजकहरुले जनाएका छन्।
– आरके त्रिपाठीबाट
प्रतिक्रिया