नीलकण्ठ नगरपालिका मेयरमा ढुंगाना विजयी

नीलकण्ठ नगरपालिका मेयरमा ढुंगाना विजयी


नीलकण्ठ नगरपालिका (धादिङ)को नगरप्रमुखमा नेपाली कांग्रेसका युवा नेता भीमप्रसाद ढुंगाना निर्वाचित भएका छन् । आफ्ना निकटतम् प्रतिद्वन्दीको भन्दा झण्डै दोब्बर मतको अन्तरले ढुंगाना विजयी भएका हुन् । एमालेका अर्जुनकुमार श्रेष्ठले ६ हजार ६ सय ९० मत पाएकामा ढुंगानालाई १३ हजार १ सय ६६ मत हासिल भएको छ । प्रतिशतका आधारमा मुलुकभरमै सम्भवतः यो सबभन्दा फराकिलो मतान्तरको जित हो । गाविस राष्ट्रिय महासंघका पूर्व महासचिव रहेका हक्की स्वभावका ढुंगाना धादिङमा विकासप्रेमी युवा नेताका रुपमा सुपरिचित छन् ।

एमालेको वर्चश्व रहेको जिल्लाका रुपमा चिनिने धादिङको नीलकण्ठ नगरपालिका उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार मनराज भण्डारी १० हजार ३ सय २३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गंगादेवी श्रेष्ठलाई ७ हजार ४ सय ४४ मत हासिल भएको छ ।

नगरपालिका २ र एघार गाउँपालिका गरी जम्मा तेह्रवटा स्थानीय तह रहेको धादिङमा नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र खनियावास गाउँपालिकामा नेपाली कांग्रेसलाई सफलता मिलेको छ भने धुनीवेसी नगरपालिकासहित गल्छी, नेत्रावती, गजुरी, सिद्धलेक, थाँक्रे, त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकामा एमालेको जित भएको छ । यस्तै, बेनिघाट रोराङ गाउँपालिकामा माओवादी केन्द्र र रुवीभ्याली गाउँपालिका अध्यक्षमा राप्रपाले बाजी मारेका छन् ।
Bhim Prasad Dhungana