आतंककारीहरुका आँखा भाक्रा नङ्गल बाँधमाथि

आतंककारीहरुका आँखा भाक्रा नङ्गल बाँधमाथि


लण्डन । भारतको सबैभन्दा ठूलो बाँधमाथि आतंककारी हमलाको त्रास बढिहेको समाचार हालै भारतका गुप्तचर विभागले प्रतिवेदनमा दिएको छ । भारतका टीभी च्यानल टाइम्स नाउले इन्टेलिजेन्स ब्युरो (आईबी) को प्रतिवेदन माथि प्रकाश पार्दै भाक्रा नङ्गल बाँधलाई आतंककारीहरुले लक्ष्य गर्न सक्ने बताएको छ । आईबीको अनुसार पाकिस्तानका आतंककारी समूहहरु लस्कर-ए-तइबा र जमात-उद-दावाले भारतको सबैभन्दा ठूलो भाक्रा नङ्गल बाँध परियोजनाभाथि हमला गर्ने लक्ष्य गरिरहेका कुरा प्रतिवेदनमा दिएको छ र अहिले यसका लागि त्यस समूहका आतंककारीहरुलाई प्रशिक्षण दिइरहेको कुरा प्रकाश पारेको छ । आईबीले सचेत गरेको प्रतिवेदनमा पाकिस्तानमा लस्कर-ए-तइबाले गत वर्ष गरेको भारतविरोधी प्रदर्शनमा त्यस समूहका नेताहरुले दिएका धम्कीलाई इंगित गरेको छ । फरवरी २०१०मा जमात-उद-दावाका नेता अब्दुर रहमान माक्कीले नदीको पानीलाई लिएर जिहाद (धर्मयुद्ध) छेड्ने धम्की दिएका थिए ।
गत सालको एउटा र्‍यालीमा उनले पाकिस्तानी जनताहरुलाई ….म तपाईहरुलाई वचन दिन्छु यदि भारत र मनमोहन सिंहले पाकिस्तानलाई पानी रोक्छन् भने हामीले रगतको नदी बगाइदिनेछौ…. भनेक थिए । भारतविरोधी र्‍यालीमा माक्कीले काश्मिरलाई भारतबाट स्वतन्त्र गर्ने मात्र नभई भारत र पाकिस्तानको पानीबारेको झगडालाई खोतालेका थिए । उनले भीडमा गज्रँदै ….कान खोलेर सुन भारत,…पाकिस्तानी जिहादीहरु… पाकिस्तानी काश्मिरीहरु सबै दृढ संकल्पित छन् यदि तिमीले पानी चोरी गर्छौ भने रगतको नदी बग्नेछ….. भनेका थिए । श्रोत – हिन्दुस्तान टाइम्स, सुमल, मेस ।