यूरोप भ्रमणको रमाइला अनुभूति (भाग ९)

यूरोप भ्रमणको रमाइला अनुभूति (भाग ९)


हामी दिनभरि हिउँका रासहरु वरिपरि घुम्दा थाकिसकेका थियौं, तर, लाउटर ब्रुनेनमा झर्दा समय निकै बाँकी थियो । मैले लाउटर ब्रुनेनदेखि अलिपर एउटा सुन्दर छाँगो हेर्न जाऊँ भनि बुरियालाई भने । हामी विस्तारै बाटैबाटो गएका थियौं । बाटोदेखि अलि मुन्तिर हामीले धेरै काराभानहरु खडा गरेर राखेका देख्यौं । ती सबै काराभानहरु त्यहाँका वासिन्दाहरुले प्र्यटकहरुलाई भाडामा दिएर बसाउँदा रहेछन् । छेउतिर कलकल गर्दै बग्ने सङलो हिमखोला, धुपीका अग्ला अग्ला रुखहरु र दुबैतिर विशाल हिमश्रृंखलाहरुको फेदीमा अवस्थित लाउटर ब्रुनेनमा हिड्दा न्यानो न्यानो लागिरहेको थियो । हामी छहरामुनि पुग्यौं । पोखराको पातले छाँगा जस्तै, तर, यो निकै अग्लो ठाउँबाट खस्दै थियो । उँचाइको अनुपातमा यो छाँगोमा अलि बढी अनुपातमा पानी छाँगोबाट खसेको भए यसको सुन्दरतामाथि सुनमा सुगन्ध हुने थियो । छाँगो हेरिसकेपछि हामी पुनः फर्केर त्यहि बाटो आयौं, तर, अहिले हामी खोलामाथिको पुल तरेर पारी भित्ता हुँदै होटलतर्फ आएका थियौं । कहिल्यै नआएको सुनसान, शान्त एउटा सुन्दर सानो शहरमा घुमिरहेका थियौं । धेरैजसो होटलहरु खोलापारी थिए । अर्कोतर्फहोटलहरु नभई त्यहाँका वासिन्दाहरुका घरहरु प्रत्तित भइरहेको थियो । एकदमै मिलेका, सुन्दर ढंगले काठ र कंक्रिटबाट बनेका घरहरु एकदमै सफा र सुग्धर देखिन्थे । हामी अहिले फेरि खोला तरेर वारी हाम्रो होटलतर्फ आइरहेको बेलामा बुरियाले खोलालाई हेरेर … ए बुरा यस खोलामा असला माछा पाइन्छकि पाइदैन ? … भनेर सोधिन् । मलाई हाँसो उठ्यो … पानी भएको ठाउँमा माछा पाइन्छ, तर, असला माछा छन् वा कतला मलाई के थाहा …. भनेर जवाफ दिंदा हाँस्दै … हिम नदीहरुमा प्राय असला माछा पाइन्छ नी..त्यसैले सोधेको नी… भनिन् । मैले विस्तारै यस्तै कुराहरु गर्दै आउँदा होटल पनि आइपुग्यो । हाम्रो लाउटरब्रुनेन, स्विट्जरल्याण्डको यो अन्तिम रात थियो । असला माछाको कुरा गर्दा मेरो गाउँदेखि तल पर्ने मोदी र रती खोलाको असला माछाको सम्झना आयो मलाई । सन् नब्बेके शुरुमा मैले डिमुवाको मोदीखोला किनारामा घर निर्माण गरेपछि असला माछाको भरमार स्वाद चाखेको थिएँ ।
होटल सचेटमा आएपछि हामीले स्नान गर्‍यौं । इन्जिनियर दम्पती आइपुगेका थिएनन् । उनीहरु अल्पसको सबैभन्दा अग्लो टाकुरा याङफ्राउ गएका थिए । हामीले खाना खायौं । आज होटलमा सामूहिक भोजनको बन्दोबस्त थिएन । आ-आफ्नै हिसाबले किनेर खानुपर्ने थियो । खाना खाएर इमेल चेक गर्दै बच्चाहरुलाई इमेल गरे । त्यसपछि दिनभरिका विवरण नोटबुकमा उतारे अनि मीठो नींदमा सुत्यौं । बिहान सबेरै उठे । बुरिया मस्त नींदमा थिईन् । याउ र विकित राति ढिलो आएका थिए । बिहान म नींदबाट बिउँझिदा उनीहरु नाक बजाउँदै सुतिरहेका थिए । म विस्तारै उठेर नित्यकर्म पूरा गरे अनि बुरियालाई उठाएँ । तबसम्म विकित र याउ पनि उठिसकेका थिए । हामी सबै छिटो छिटो तयार भएर आ-आफ्नो समान बोकेर तल रेस्टुरेन्टमा झर्‍यौं । ब्रेकफास्ट लिएपछि सबैजनाले चाबी बुझाएर होटलको बायाँपट्टि पार्क गरेर राखेको कोचतर्फ गयौं । समी अघि नै तयार भएर पूरा भ्रमण टोली आए कि आएनन् भन्दै गन्दै थिईन् । सबैजना आए, संख्या पूरा भयो । ड्राइभरहरुले सबै समान कोचभित्र हाले । हामी अहिले सबै कोचभित्र पसिसकेका थियौं । आज हामी स्विट्जरल्याण्डको पूर्व हुँदै इटाली जाँदैछौ । इटालीको हाम्रो पहिलो पडाव भनेको मिलानो शहर भएर तास्कनी पीसा शहर हुँदै ऐतिहासिक फ्लोरेन्स शहरमा वास बस्ने थियो । हामी ९ बजेतिर लाउटरब्रुनेन शहरबाट प्रस्थान गर्‍यौं । लाउटरब्रुनेन शहरबाट फेरि इन्टरलाकेन भएर हामी पहाडी बाटो हुँदै स्विट्जरल्याण्डको दक्षिणपूर्वतिर पहाड, धुपीका रुखहरु ससाना स्विसकटेज (स्विसघर)हरु छोड्दै हिमश्रृंखलाका दृश्यहरु हेर्दै गइरहेका थियौं । आज हाम्रो भ्रमणको छैंटौ दिन हो । हामी सबै तरोताजा नै थियौं, कसैलाई थकानको महशुस भएझै लागेको थिएन । भ्रमण टोलीका सबैभन्दा बृद्धा जोडी ८२ वर्षीय जोन र ७१ वर्षीया अनामिकाले भ्रमणको पूरा आनन्द लिइरहेका थिए । अनामिकाले बुरियालाई छोरी जस्तै भन्दै म्वाई खाँदै माया गर्थिन् । जीवन कति आनन्द हुन्छ यदि स्वच्छ मनले सबैलाई माया बाँट्न सकिन्छ भने यो माया बाँडेर कहिल्यै रित्तो हुँदैन ।
हाम्रा उत्सुक आँखाहरु झिमिक्क नगरी वरिपरिका दृश्यहरु हेर्दै गइरहेका थियौं । अल्पस पर्वतलाई दायाँ पार्दै सयौं टनलहरु छिर्दै गाडी आफ्नो गन्तव्यतिर गुडिरहेको थियो । स्विट्जरल्याण्डमा जति पहाडहरु देखिन्थे उति नै समथल ठाउँहरुमा तालतलैयाहरु देखिन्थे । हजारौ टनलहरुको राष्ट्रको भौगोलिक सीमा पार हुनलाई दक्षिणपूर्व हान्निदै गइरहेका थियौं । यतिबेला हामी अल्पस् पर्वतको पाश्र्वभागतिर पुगिसकेका थियौं । अहिले हामी स्विट्जरल्याण्डको सबैभन्दा लामो सुरुङ (टनल) गोथते पार गर्दै थियौं । यो टनल १७ किलोमीटर लामो छ । दशकौ पहिले निर्माण गरेर यातयातको सुविधा बनाएको राष्ट्रमा अहिलेका सरकार र सन्ततीलाई सजिलो भइरहेको छ। देशलाई खर्चभन्दा आमदानी बढी छ । प्रत्येक वर्ष भौतिक संरचना निर्माण गर्ने पर्याप्त राजश्व सरकारसँग भएपछि देश आफै व्यवस्थित बन्दै जाँदोरहेछ, अमनचैनको वातावरण राम्रो बन्दछ र देशमा पर्यटकहरुको घुइचोले कहिल्यै छाड्दैन । यस्ता राष्ट्रहरुमा भ्रष्टचार कम हुन्छन् र नियम कानून जनताले कमै उलंघन गर्छन् । आर्थिक श्रोतको कमी र यस्ाको वितरण प्रणाली कमजोर भए त्यहाँ भ्रष्टचार र जनता असन्तोष बन्दछ जसलेगर्दा देशमा अमन चैन हुँदैन । म यस्तै कुराहरु गम्दै बेलाबेलामा नेपाललाई सम्झन्थे । नेपालमा पनि सबै विश्वासी र देशप्रतिको निस्वार्थ भावनाले ओतप्रोत भएर राजनीतिक नेताहरुले ऐक्यबद्धता जनाए नेपालपनि स्विट्जरल्याण्ड बन्न सकिन्थ्योहोला भनेर कल्पना गरे । बुरिया र मैले तुलना गर्दै के हाम्रो देश यस्तो बन्न सक्दैन र भनेर कुरा पनि गर्‍यौं । स्विट्जरल्याण्डका सरकारले गाउँबस्तीहरु पनि शहर जस्तै व्यवस्थित बनाएको छ । प्रत्येक वस्तुको सुविधा व्यवस्थित भएपछि जनताले सरकारमाथि उँगली उठाउने कुरा नै रहन्न ।
यसरी हामीहरु स्विट्जरल्याण्ड र इटालीको सिमानातर्फ नजिकिंदै थियौं । सिमाना नाघेपछि पहिले इटालीको तास्केनी क्षेत्र मिलान (मिलानो) शहर त्यसपछि ऐतिहासिक पिसा शहरमा केही घण्टा बिताउने योजना रहेको थियो । गाइडले बेलाबखत ठाउँहरुको बारेमा भन्दै थिईन् । गाडीबाट टाढा तास्केनी क्षेत्रका हिमशिखरहरु सफा मौसम भएको कारणले गर्दा देखिएका थिए । सायद ती हिमशिखरहरु अल्पस पर्वतमालाको पूर्वतिरको केही भाग हुनसक्छ । हामी अहिले स-साना पहाडी क्षेत्रहरु हुँदै समथल भूमितर्फ गइरहेका थियौं । दिनको एक बजिरहेको थियो हामी अहिले टेरेन भन्ने शहर नाघेर राजमार्गको छेउमा केही रेस्टुरेन्टहरु, पेट्रोल पम्पहरु र एउटा निकै ठूलो पार्क भएको ठाउँमा लञ्चका लागि हाम्रो कोच एक घण्टाको लागि रोकियो । बेलायतमा राजमार्ग छेउमा वेलकम ब्रेकको पसलहरु व्यवस्थित गरिए जस्तै स्विट्जरल्याण्डमा पनि अउटोग्रिलहरु (सबै खाना किन्न पाउने सुपरमार्केट) रहेछन् । हामी एउटा अउटोग्रिलभित्र पसेर दिनको लञ्च लियौं । यस ठाउँमा आउनुअघि एउटा निकै सुन्दर देखिने विशाल तालको छेउमा एउटा शहर देखेको थिएँ । मैले शहरको नाम सोध्न भुलेछु । समीले त्यसतालको एकभागतिर बार (सीसाको) बारेकोतिर इंगित गर्दै यसक्षेत्रमा धनी मानिसहरु बस्छन् र यो ठाउँ उनीहरुका क्रिडास्थल हो भनेकी थिईन् । उनीहरुका गोपनीयता नदेखोस भनेर रंगीन सीसाले बारिएको कुरा भनेकी थिईन् । मैले त्यतिबेला सोचेको थिएँ साँच्चै नै भन्नु पर्दा पैसाको ठूलो शक्ति छ र सारा संसार प्राय यसै शक्तिका पुजारी हुन्छन् । हामी स्विट्जरल्याण्डका काठका ससाना घरहरु छाड्दै इटालीको सिमानामा आई पुग्यौं । कोचको ड्राइभर र गाइड कर तिर्न चौकी कार्यालयमा गए, तर, हामीहरु सबै बसभित्र नै बस्यौं । सिमानामा स्विट्जरल्याण्डको झण्डा एकातिर र अर्कोतिर इटालीको झण्डा भएको कार्यालयहरु थिए । केहीबेरपछि गाइड र ड्राइभर कोचमा आए । हाम्रो कोच अहिले इटालीको भूमिमाथि गुड्दै थियो । रोमनहरुको देश इटाली जहाँबाट रोमन सभ्यताको श्रीगणेश भएर पश्चिमेली मुलुकहरुमा प्रभाव पारेको थियो । यूनानी सभ्यतापछि पश्चिमेली मुलुकहरुमाथि रोम साम्राज्य र रोमन सभ्यताले ठूलो प्रभाव पारेको थियो । बेलायतलाई झण्डै पाँच शताब्दीसम्म आफ्नो अधिपत्यमा राख्न सफल रोमनहरुले पर्याप्त रोमन छाप छाडेर गएका थिए । इटालीभित्र प्रवेश गर्दा रोमन साम्राज्यबारे केही सोच्न पुगेको थिएँ । हामी अहिले इटालीको समथल भूभागतिर गइरहेका थियौं । हाम्रो गाडी निकै ठूलो शहरलाई बायाँ पार्दै तीव्रगतिमा गुडिरहेको थियो । मैले त्यस शहरको बारेमा सोध्दा समीले मिलानो शहर अर्थात् मिलान् भनेकी थिईन् । हाम्रो कोच पन्द्रह मिनटको लागि दिशापिशाब र चियापानीका लागि एउटा आउटोग्रिलको आगडि गएर रोकियो । मैले कक्षा आठमा पढेको शेक्सपियरले लेखेका “टेम्पेस्ट” सम्झेँ जसमा मिलान शहरको पृष्ठभूमिबाट कथाको शुरुवात गरिएको हुन्छ । यो मिलान शहर त्यति ठूलो शहर होइन, तर, बाणिज्य व्यापारको हिसाबबाट फ्रान्स, स्विट्जरल्याण्ड र अन्य राष्ट्रहरुका लागि एउटा ऐतिहासिक केन्द्र रहेको बुझिन्छ । त्यहाँ केहीबेर मात्र रोकेको हुनाले मिलान शहरको बाहृयभाग र वरिपरिका दृश्यहरु बाहेक प्रत्यक्ष केही बुझ्न भने सकिएन । मिलान शहर पछि हामी इटालीका तास्केनी नगर पिसातर्फ लाग्यौं । यो ऐतिहासिक नगर इटालीको मध्यतिर, अर्नो नदीको दक्षिणी किनारामा, लिगुरियन समुन्द्रमा खस्ने मुखैमा अवस्थित छ । यो नगर निकै वैभवशाली थियो भन्नेकुराहरु इतिहासमा उल्लेख छन् । पिसा इटालीको पिसा प्रान्तको राजधानी हो । यो नगर विश्वको लिनिङ टावर अर्थात् झुक्दै गरेको मिनारको कारणले गर्दा विख्यात छ । लिनिङ टावरमात्र नभई पिसाका २०वटा गिरजाघरहरु, अर्नो नदी माथिका कैयौं पुलहरु र अन्य ठाउँहरुका कारणले पीसा विश्व मानचित्रमा चिनिने लोकप्रिय गन्व्यहरुमा पर्दछ । पिसाको लीनिङ टावर विश्वसम्पदामा पर्दछ । अर्को यस शहरको १२औ शताब्दीमा स्थापना भएको विश्वविद्यालयको कारणले गर्दा पनि महत्व रहेको छ । पिसा शहरको नामको बारेमा रहस्य नै छ, तर, रोमवासीहरुले यसलाई पुरानो शहर भनेर सम्बोधन गर्दथे । विभिन्न इतिहासकारहरुले पिसाको बारेमा धेरै कुराहरु लेखेका छन् तर समग्रमा भन्नु पर्दा यो रोमन सभ्यताको प्रभावको बेलामा उदाएको वैभावशाली नगर हो र वर्तमान अवस्थामा वर्षेनी लाखौ पर्यटकहरुका गन्तव्य हो भन्दा अत्युक्ति नहोला । रोमन साम्राज्यको हिस्सा रहेको पिसा एघारौ शताब्दीदेखि तेह्रो शताब्दीसम्म निकै शक्तिशाली रहेको अभिलेखहरु इतिहासमा दर्शाएका छन् । हामी पिसा शहरमा दिनको साढे २ बजे आइपुगेका थियौं । गाडीलाई केहीपर खडा राखेर हामी पैदल झण्डै डेढकिलोमिटर जति हिडेर लीनिङ टावर हेर्न गएका थियौं । बजारका घरहरु ससाना थिए । समथल मैदान र नदीको तीरमा अवस्थित यो शहर हेर्नलाई हामीले हामीजस्ता कैयौं समुहका पर्यटकहरु देख्यौं । भन्दै थिईन् समी, “अलि सतर्क रहनु होला है यहाँ… पाकेट मार्लान्” । सबै आफ्नो समूहमा समीले बोकेकी सानो झण्डा पछ्याउँदै लिनिङ टावरको हाताभित्र आइपुग्यौं । लिनिङ टावरलाई प्रवेशद्वारबाट पस्दा पर्खालहरुले घेरेर राखेको सानो किल्ला जस्तो देखिन्थ्यो । लिनिङ टावरबारे धेरै लेखहरु पढेको थिएँ । यसलाई सोझो पार्नका लागि विश्वका विभिन्न देशका आधुनिककालका इन्जिनियरहरुले प्रयास गरेका थिए, तर, सफल हुन सकेनन् । पछिल्लो पटक आजभन्दा १४, १५वर्ष पहिले चिनियाँ इन्जिनियर टोलीले पनि प्रयास गरेका थिए, तर, असफल भएका थिए । यसलाई निर्माण गर्नका लागिथ २०० वर्ष लागेको थियो भनिन्छ । यस टावरको उँचाई झण्डै ५७ मिटर छ र यो ३ दशमलव ९९ डिग्री कोल्टे परेर झुकेको छ । यस टावरको अघिल्तिर एउटा सुन्दर क्याथाड्रल छ । पिसा प्रसिद्ध वैज्ञानिक ग्यालेलियोको जन्मथलो हो । उनले पहिलोचोटी दुर्बिन आविष्कार गरेपछि यही टावरमाथि गएर टावरबाट नक्षत्रहरु हेरेका थिए । अर्को एपिसोडमा भेटौला ….. धन्यवाद ।