‘खाली हात चुनावमा जान सकिन्न’

‘खाली हात चुनावमा जान सकिन्न’


Mahato

– राजेन्द्र महतो

० शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तपाईंहरूको पनि समर्थन रह्यो, यो समर्थन केका लागि ?
– प्रचण्ड प्रधानमन्त्री बनेर आउनुहुँदा मधेसको मुद्दासम्बन्धी तीनबुँदे एजेण्डा कार्यान्वयन गर्ने वाचासहित आउनुभएको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाएको गठबन्धनले नै देउवालाई अहिले प्रधानमन्त्री बनाएको सर्वविदित नै छ । उक्त तीनबुँदे सहमतिको पूर्ण कार्यान्वयन गर्ने दायित्व अब शेरबहादुर देउवाजीको काँधमा आएको छ र उहाँले त्यो सहमति कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभएको छ । त्यसैका लागि राजपा नेपालले उहाँलाई प्रधानमन्त्री बनाउन सहमति जनाएको हो ।

० देउवाजीले माग पूरा गर्नेमा विश्वस्त हुनुहुन्छ तपाईंहरू ?
– विश्वासकै आधारमा दुनियाँ टिकेको छ । यो काम गर्नुपर्ने या गर्ने त सरकारले नै हो । सरकारको नेतृत्व अब देउवाजी गर्दै हुनुहुन्छ र उहाँले गर्छु पनि भन्नुभएको छ । विगतको सरकारले केही काम ग¥यो र केही अझै बाँकी छन् । देउवाजीले अब वचन पूरा गर्नुहुन्छ होला भन्ने विश्वासमा मौका दिएका छौँ, नगरेमा हाम्रो सङ्घर्षको मार्ग त सुरक्षित छँदै छ नि ।

० तपाईंहरूले विगतमा प्रचण्डप्रति पनि यस्तै विश्वास दर्शाउनुभएको थियो, तर उहाँले संविधान संशोधनको दायित्व पूरा गर्न सक्नुभएन । प्रचण्डले नसकेको काम अब देउवाले सक्नुहोला भन्ने लाग्छ ?
– हामीलाई थाहा छ कि संविधान संशोधन गर्न दुईतिहाइ मत आवश्यक पर्छ जो हिजो प्रचण्ड सरकारसँग थिएन र अहिले पनि सङ्ख्या पुगेको छैन । तर, यस मुद्दामा सरकारले इमानदारीसाथ प्रयास गरिरहेको छ कि छैन भन्ने सवाल मुख्य हुन आउँछ । यस कोणबाट भन्नुपर्दा प्रचण्ड सरकारले दुई तिहाई पु¥याउने प्रयत्न गर्दागर्दै मतदान हुने दिन राप्रपा भागेकाले दुईतिहाइ नपुगेको पनि हामीलाई थाहा छ । यसर्थ, सरकारले प्रयास गर्नुपर्छ, इमानदार प्रयत्न गर्नुपर्छ । अब देउवाजीले पनि इमानदार प्रयत्न गर्नुहोला भन्ने विश्वास राखेका छौँ । नगरेमा विगतमा पनि हामीले आन्दोलन ग¥यौँ, भावी दिनमा पनि अझै सशक्त ढङ्गले गर्नुपर्ने अवस्था आउन सक्छ । हामी आफ्नो मुद्दा छोड्न त सक्दैनौँ नि ।

० जिम्मेवार नेताहरूले स्थानीय तहको दोस्रो चरणको चुनावअघि त संविधान संशोधन सम्भव नरहेको बताइरहेका छन्, यसमा तपाईंहरूलाई आपत्ति त छैन होला नि ?
– सरकारले आफ्नो प्रयत्न हरदम गरिरहनुपर्छ । चुनावअघि पनि प्रयत्न गर्नुपर्छ र अघि सम्भव नभएपछि त झन् गर्नैपर्छ । सबै पक्षसँग समन्वय गरेर दुईतिहाइ या सर्वसहमति जुटाउने दायित्व सरकारको हो, हाम्रो त होइन । चुनावपछि नै सही, तर अहिलेदेखि नै इमानदार प्रयत्न हुनुपर्छ र चुनावपछि त्यो टुङ्ग्याइनुपर्छ, सकभर चुनावअघि नै भए झनै राम्रो । सरकारलाई हामीले समर्थन दिएका छौँ भने अब सरकारले पनि आफूले दिएको वचनअनुसार काम गर्नुपर्छ भन्ने हाम्रो आग्रह छ ।

० चुनावअघि त असम्भव नै देखिन्छ, तर चुनावपछि पनि के ग्यारेन्टी छ र ? एमालेले विरोध गरिरहेकै छ, के भन्नुहुन्छ ?
– के भन्ने ? कति भन्ने ? समस्या हामी मधेसीको मात्र होइन, मुलुककै समस्या हो । मुलुकको समस्या हल गर्न मुलुकका सबै राजनीतिक दलहरू उत्तिकै चिन्तित बन्नुपर्छ । नभए सबैको अहित हुन्छ । जहाँसम्म हाम्रो सवाल छ, हामी त हेरिरहेका छौँ कि कसरी अब कसरी परिस्थिति अघि बढ्छ । परिस्थितिमै निर्भर गर्छ सबै कुरा ।

० मधेसमा चुनावी वातावरण त बनिसकेको छ होइन, यस्तै दाबी छ अन्य राजनीतिक दलहरूको ?
– मधेसमा चुनावको माहोल बन्यो भन्नु दिउँसै रात प¥यो भन्नुजस्तै हो । मधेसको समस्या समाधान नभई या समाधान हुने विश्वस्त आधार नभएसम्म कसरी चुनावको वातावरण बन्छ ? काठमाडौंमा बसेर चुनावको वातावरण बन्यो भन्दैमा बन्ने हो र ? कैयन मिडियाहरू पनि यस्तै समाचार सम्प्रेषण गरिरहेका छन् । मधेसको मानसिकता या यथार्थ नबुझी जथाभावी प्रचार गर्दा यसले परिस्थिति झन् बिगार्छ । मधेसका जनता भनिरहेका छन् कि हाम्रो माग पूरा हुनुपर्छ, हामी जेका लागि लडेका थियौँ, हाम्रा साथीहरू जुन मुद्दाको निम्ति सहिद बनेका छन्, त्यो पूरा हुनुपर्छ, अनि मात्र चुनाव सम्भव छ । यत्ति एउटा चुनावका लागि मात्रै त मधेसी लडेका थिएनन्, त्यत्रो सहादत यत्तिका निम्ति त थिएन । यो कस्तो नबुझेको ? किन मधेसीलाई मिनिमाइज्ड गरेको ?

० चुनाव त हुनुपर्छ नि होइन र ?
– चुनावको विरोधी कोही छैन । लोकतन्त्रमा चुनाव चाहिन्छ । तर, हामीलाई चुनावविरोधीको रूपमा चित्रित गर्न खोजिएको छ, यो पनि ज्यादती नै हो । तर, आधारभूत माग नै पूरा नभए चुनावको के अर्थ छ र ? आफूलाई मधेसवादी भन्ने एउटा समूह पहिले नै चुनावमा गएको हो, तर तिनलाई अहिले मधेसी जनताले गाली गरिरहेका छन् कि मधेसको माग पूरा नभई किन चुनावमा गएको ? आन्दोलन छोडेर गएकोमा उपेन्द्रजीले यतिबेला मधेसी जनताको गाली खानुपरेको छ, अब त कुरा बुझ्नुप¥यो नि । प्रस्ट भनौँ– यथास्थितिमा अर्थात् खाली हात जनताबीच चुनाव–चुनाव भन्दै जान हामी सक्दैनौँ । यो सम्भव नै छैन । जनताको माग पूरा नगरी जानै मिल्दैन । ५२ प्रतिशत मधेसको जनसङ्ख्याका आधारमा स्थानीय तह खै बढाएको ? मधेसका आन्दोलनकारीको मुद्दा अझै फिर्ता भएको छैन, क्षतिपूर्ति पाएको छैन, विकलाङ्ग बनेकाहरूले केही सहयोग पाएका छैनन्, अझै कैयन सहिद घोषणा हुन बाँकी छ । यी कार्यमा सरकारले विश्वास लाग्ने गरी तदारुकता नदेखाएसम्म कसरी मधेसमा चुनावको माहोल बन्छ ? बन्दैन ।

० चुनावमा जाने र नजानेमा तपाईंकै पार्टीभित्र विवाद छ भन्छन्, एक समूह चुनावको पक्षमा कुरा गरिरहेका र अर्कोले आन्दोलनको नारा उरालिरहेको भन्ने कुरा के हो, प्रस्ट्याइदिनुस् न ?
– हाम्रो पार्टीमा केही विवाद छैन । लोकतन्त्रमा कसैको विचारलाई कुण्ठित गर्न सकिन्न, आफ्ना धारणा राख्न पाइन्छ । यत्तिकै चुनावमा गए पनि हुन्छ भन्ने कसैको धारणा होला । तर, पार्टीको निर्णय सर्वोपरि हुन्छ । राजपाले जे निर्णय गरेको छ, यसमा आबद्ध सबैले त्यो मान्नुपर्छ । व्यक्तिगत विचार फरक भए पनि पार्टीको आधिकारिक धारणालाई फलो गर्नु प्रत्येक इमानदार कार्यकर्ताको दायित्व हो । यस्तोमा कसैले थोरबहुत चुनावको पक्षमा कुरा गर्दैमा त्यसलाई विवाद र अन्तरद्वन्द्वको विषय बनाउनु आवश्यक छैन ।

० चुनावमा नजाँदा पार्टीको भविष्य समाप्त होला नि ?

– हाम्रो पार्टीको भविष्यको चिन्ता कसैले गर्नुपर्दैन । हाम्रा एजेन्डा र एजेन्डाप्रतिको निष्ठा, आन्दोलनहरूले नै हाम्रो भविष्य सुनिश्चित गर्छ, गरेको छ । कसैले जबर्जस्ती लादेको संविधान र त्यसैको हिस्सास्वरूप गर्न खोजेको चुनावमा आँखा चिम्लेर होमिँदैमा भविष्य सुरक्षित हुने अन्यथा नहुने भन्ने होइन । मधेसी, जनजाति, उत्पीडित, मुस्लिम, थारू आदि थिचोमिचोमा परेका जनताले हाम्रो भविष्य तय गर्ने हो ।

० सरकारलाई समर्थन त गर्नुभयो, अब देउवा नेतृत्वको सरकारमा चाहिँ तपाईंहरू जाने कि नजाने नि ?
– यो सरकारमा हामी जाने कुरा त कसैले सपनामा पनि नसोचे हुन्छ । जनताको माग पूरा नगरी सरकारमा जाने कल्पना पनि गर्न सक्दैनौँ हामी । बाँकी माग पूरा गराउने सर्तमा सरकारलाई बाहिरबाट समर्थन गर्न सकिने अवस्थासम्म आउन सक्छ, त्यत्ति मात्र हो । जहाँसम्म निर्वाचनमा जाने–नजाने सवाल छ, यसबीच सरकारले त्यस्तो वातावरण बनाइदियो, विश्वास सिर्जना गरिदियो, मधेसी जनतामाझ हामीले अब माग पूरा हुने बेला आयो भनी ढुक्क भई भन्न सकिने परिवेश निर्माण गरियो भने निर्वाचनमा जान सक्छौँ, होइन भने मौजुदा हालतमा खाली हात हामी निर्वाचनमा जान सक्दैनौँ । मलाई लागिरहेको छ कि हाम्रो पार्टीले निर्वाचनमा जान नसक्ने निर्णय लिन पनि सक्छ ।