जगदम्बा हस्पिटालिटीलाई कसको छहारी ?

जगदम्बा हस्पिटालिटीलाई कसको छहारी ?


‘सानालाई ऐन ठूलाई चैन’ भन्ने नेपालीमा एउटा उक्ति छ । उद्योगपति शङ्कर गोल्यानको व्यवहारले यस उक्तिलाई चरितार्थ पारिदिएको छ । नक्साल भगवतीबहालदेखि पश्चिम–उत्तरमा गोल्यान अध्यक्ष रहेको जगदम्बा समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटी प्रालिले ‘तारे होटेल’ खोल्न विशाल भवन निर्माणकार्य गरिरहेको जगजाहेर छ । हस्पिटालिटी प्रालिले अन्डरग्राउन्डसहित १७ तलाको भवन बनाउने योजनासहित निर्माण सुरु गर्दा वरपरका बासिन्दाको घर चर्किएका छन् भने सडकसमेत भासिन पुगेको छ । त्यसको असर भविष्यमा प्रहरी प्रधान कार्यालयलाई समेत पर्ने सम्बन्धित विज्ञहरू बताउँछन् । छिमेकीलाई गम्भीर अवसर पार्ने गरी बनाइएका ती भवन निर्माण स्वीकृतिमा समेत व्यापक रूपमा आर्थिक चलखेल भएको बताइन्छ भने उक्त भवन निर्माणकै कारण घर भत्किएर कतिपय स्थानीय घरबारविहीन हुँदासमेत महानगरपालिका मौन रहनु र उजुरीको कारबाहीमा आलटाल गरिरहनुले गम्भीर आशङ्का पैदा गरेको छ ।

मापदण्डविपरीतको निर्माण रोक्न स्थानीयले काठमाडौं महानगरपालिकामा पहिल्यैदेखि पहल गरे पनि वास्ता नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको र उजुरीपछि अख्तियारले छानबिन थालेको बताइन्छ । त्यसको लागि अख्तियारले ‘विशेष अनुसन्धान’ ब्युरो नै परिचालन गरेकोसमेत स्रोत बताउँछ । अख्तियारले महानगरपालिकाले निर्माण स्वीकृति दिएकोलगायत जगदम्बा हस्पिटालिटीका सबै कागजात नियन्त्रणमा लिइसकेको र सम्भवतः अख्तियारले सम्बन्धित पक्षसँग केही दिनभित्रै बयान लिने बुझिएको छ । ज्ञातव्य छ, स्थानीयवासीको व्यापक विरोधपछि संसद्को अनुगमन समितिले समेत निर्माणको अवस्था बुझ्न स्थलगत अवलोकन गरेको थियो । तर, जगदम्बाका अध्यक्ष गोल्यानले संसदीय समितिलाई नै प्रभावमा पारेको स्थानीयवासीको बुझाइ छ ।