शेखर कोइराला बेलायतमा

शेखर कोइराला बेलायतमा


लण्डन / अलिखित संविधान र ‘वेस्ट मिनिष्टिरियल सिष्टम’को जननी राष्ट्र बेलायतमा केही सातायता नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरूको दौडधुप बढेको छ । गत साता मात्र काङ्ग्रेस सभापति सुशील कोइरालाले एक साताभन्दा बढी बेलायतलगायतका युरोपेली राष्ट्रहरूको भ्रमण सकी नेपाल फर्केकाछन् । अमेरिकामा आफ्ना उपचारको क्रममा जाँदा युरोप आएका कोइरालाले विदेशस्थित नेपाली काङ्ग्रेसको संस्था नेपाली जनसम्पर्क समितिद्वारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गरेकाथिए ।

नेपाली जनसम्पर्क समिति बेलायतले ३०औँ बीपी स्मृति दिवसको सन्दर्भ पारेर नेपालबाट काङ्ग्रेसका केन्द्रीय नेताहरूलाई आमन्त्रण गरेकोमा आमन्त्रितमध्ये काङ्ग्रेस केन्द्रीय सदस्य एवम् सभासद्द्वय डा. शेखर कोइराला र सुश्री सीता गुरुङ हाल बेलायत भ्रमणमा छन् । अर्का आमन्त्रित प्रभावशाली केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्का भने व्यक्तिगत कारणले आउन नसक्ने बताइएको छ । समितिले आफ्नो दुईवटा अधिवेशनबाहेक यसरी नेपालबाट केन्द्रीय नेताहरू बोलाई विचार गोष्ठी गरेको यो पहिलोपटक हो । बेलायतलगायत अन्य युरोपेली राष्ट्रमा नेपाली काङ्ग्रेससमर्थक व्यक्तिहरूको सङ्ख्या दिनानुदिन बढिरहेको सन्दर्भमा नेपालमा शान्तिप्रक्रिया र संविधान निर्माण छिटो गर्न/गराउनका लागि नेताहरूलाई झकझक्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूका तर्क छ । त्यसो त गैरआवासीय नेपालीको दोहोरो नागरिकता र नेपालको आमनिर्वाचनमा अन्य राष्ट्रका नागरिकहरूलेझैं विदेशस्थित नेपाली राजदूतावासमा मतदान गर्न पाउनुपर्ने मागका सन्दर्भमा समेत यसबाट नेताहरूलाई दबाब पर्न जाने विश्लेषण गरिन्छ । विद्यार्थी र भूपू गोर्खा सैनिकका समस्याको राजनीतिक र कूटनीतिक दबाब एवम् समाधानको निकासमा समेत नेताहरूलाई अवगत हुने गर्दछ ।

यसै सन्दर्भमा केन्द्रीय सदस्य एवम् सभासद्द्वय डा. कोइराला र सुश्री गुरुङसमक्ष यहाँ रहेका नेपाली समुदायले विभिन्न जिज्ञाशा माग एवम् सुझाव राखेका थिए ।

यसै सन्दर्भमा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन स्वर्गीय गिरिजाप्रसाद कोइरालाका विशेष सहयोगीमध्येका एक डा. शेखर कोइरालालाई माओवादीलाई पुलपुल्याएर बुई चढाएको आरोपसमेत लाग्ने गरेको छ । एक कार्यक्रममा केही सहभागीले डा. कोइरालालाई किन माओवादीलाई पुलपुल्याउने काम भयो भनेर प्रश्नसमेत गरेका थिए । त्यसको प्रतिवाद गर्दै डा. कोइरालाले नेपालको आर्थिक अवस्था जर्जर रहेको र माओवादीको कारण राजनीतिक अराजकता बढेको, माओवादीको प्रस्तावित १४ वटा प्रदेश जातीय भएको र त्यसले जातीय विकृति आएको आरोप लगाउँदै कोइरालाले भने -‘नेपाली काङ्ग्रेस आत्मनिर्णयको अधिकारको कुरा गर्दा देश विखण्डनको कुरा गर्न सक्दैन ।’ नेपाली जनसम्पर्क समिति बेलायतद्वारा ३०औँ बीपी स्मृति दिवसको सन्दर्भमा ‘नेपालको आर्थिक समृद्धिका लागि लोकतान्त्रिक समाजवाद’ विषयक गोष्ठीमा बोल्दै कोइरालाले बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । बीपीको विचार दुबोजस्तै मौलाइरहने र कहिल्यै नसुक्ने बताउँदै उनले नेपाली काङ्ग्रेससँग टक्कर लिन खोज्ने राणा र राजा समाप्त भएको ठोकुवा गर्दै माओवादी र एमाले पनि टकराए समाप्त हुने चेतावनी दिए ।

माओवादी लडाकुहरूको हतियार राज्यलाई बुझाई शान्तिप्रक्रियामा आए नेपाली काङ्ग्रेस माओवादीको नेतृत्वको सरकारमा गएर शान्तिप्रक्रिया र संविधान निर्माणलाई टुङ्ग्याउन तयार रहेको बताउँदै तर सेनामा समूहगत नभई व्यक्तिगत मापदण्डका आधारमा भर्ना हुनुपर्ने प्रस्ट्याए । माओवादी अध्यक्ष प्रचण्डले गिरिजाबाबुसँग ४ देखि ५ हजारसम्म लडाकु समायोजन हुने सहमति गरेको र सोही कुरा प्रचण्ड स्वयम् प्रधानमन्त्री भएको बेला भारतको भ्रमणताका भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग प्रचण्डले राखेको खुलासासमेत कोइरालाले गरे ।
सहभागी वक्ताले आफू र कृष्ण सिटौलाले माओवादीलाई पुलपुल्याएर शान्तिप्रक्रियामा ल्याएको आरोपको खण्डन गर्दै देशमा मारकाट र अशान्ति रोक्न आफूहरूले दिल्ली सम्झौता गरेकोसमेत प्रस्ट्याए । गैरआवासीय नेपालीको दोहोरो नागरिकताका सम्बन्धमा काङ्ग्रेस सकारात्मक रहेको र गोर्खा भूपू सैनिकको समान पेन्सन सम्बन्धमा बेलायत सरकारसमक्ष कूटनीतिक पहल गरिने डा. कोइरालाको कथन थियो । कवितात्मक शैलीमा बीपीप्रति शब्दश्रद्धा प्रस्तुत गर्दै मन्तव्य शुरु गरेकी काङ्ग्रेस केन्द्रीय सदस्य सभासद् सीता गुरुङले संविधान समयमै नबन्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै गैरआवासीय नेपाली र भूपू गोर्खा सैनिकका समस्यालाई काङ्ग्रेस पार्टी र सरकारसमक्ष राख्ने आश्वासन व्यक्त गरिन् ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, नेपालबाट आएका वरिष्ठ पत्रकार हरिहर विरही, एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङ, नेपाली काङ्ग्रेस महासमिति सदस्य विज्ञान प्रसाईंले पनि नेपालको राजनीतिक र आर्थिक विकासका लागि बीपीको लोकतान्त्रिक समाजवाद समय सान्दर्भिक भएको बताएका थिए ।

समितिका सदस्य शिव तिमिल्सिनाबाट स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा समितिका प्रवेश के.सी., शेरबहादुर सुनार, नरकुमार लिम्बू, शिवजी श्रेष्ठ, विश्वआदर्श पंडित, पुरुषोत्तम पौडेल, कार्यक्रम संयोजक बालमुकुन्द जोशीले समेत सम्बोधन गरेका थिए । समितिका महामन्त्री शान्तविनोद लामिछानेबाट सञ्चालित उक्त कार्यक्रममा नेपाल भूतपूर्व सैनिक सङ्घका अध्यक्ष केशवबहादुर गुरुङ, उपाध्यक्ष भोजराज गुरुङ, लोकतान्त्रिक मञ्चका रामशरण सिंखडा र नेपाली प्रगतिशील समाजका महेन्द्र कँडेलले समेत बोलेका थिए । कार्यक्रममा नेपालबाट आएकी गायिका कोमल वलीले गीत प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।- विपिन निरौला