ठगी कलेजको, सङ्कटमा विद्यार्थी

ठगी कलेजको, सङ्कटमा विद्यार्थी


राजधानीमा सञ्चालित एक कलेजले नगद आर्जनका लागि गरेको लापरबाहीका कारण करिब डेढ दर्जन विद्यार्थीको भविष्य सङ्कटमा परेको छ । सयजना विद्यार्थी भर्नाको निम्ति सम्बन्धन पाएको कलेजले १२० विद्यार्थी भर्ना लिएको र थप २० विद्यार्थी भर्नाको अनुमति विश्वविद्यालयले नदिएपछि कलेजमा भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीको भविष्य अन्योलमा पर्ने स्थिति उत्पन्न भएको हो ।

प्राप्त जानकारीअनुसार काठमाडौं बिजुलीबजारमा स्थापित ‘चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ ल’ले बीए एलएलबी पाँचवर्षे कोर्सका लागि सयजना विद्यार्थी भर्ना लिन पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति (सम्बन्धन) पाएको थियो । सयजना विद्यार्थीका लागि अनुमति पाएको सो कलेजले एक सय बीस विद्यार्थीको भर्ना लियो र थप बीस विद्यार्थी भर्नाको अनुमति पाउन विश्वविद्यालयमा पत्राचार पनि ग¥यो । तर, विश्वविद्यालयले थप बीस विद्यार्थी पढाउने अनुमति दिएन ।

यसरी अनुमति लिन गरेको प्रयास असफल भएपछि उक्त कलेजले विभिन्न आरोप लगाएर विद्यार्थीलाई कलेजबाट निष्कासन गर्ने र सय वा सोभन्दा कम विद्यार्थी सङ्ख्यामा सीमित भएर बस्न षड्यन्त्र रचेको छ । कलेज व्यवस्थापनको योजनाअनुसार ‘टर्मिनलमा अनुत्तीर्ण भएको’ र अनुशासन नभएकोजस्ता आरोप लगाएर विद्यार्थीलाई निष्कासन गरिनेछ । जब कि कुल ११६ विद्यार्थीले विश्वविद्यालयको परीक्षा फाराम भरिसकेका छन् । तर ११६ विद्यार्थीले परीक्षा फाराम भरेका भए पनि विश्वविद्यालय परीक्षामा एक सयभन्दा बढी विद्यार्थी सहभागी हुन पाउने छैनन् । कम्तीमा १६ जना विद्यार्थी उक्त कलेजमा पढेकै कारण परीक्षामा सामेल हुन नपाउने भएका छन् ।

उक्त कलेजले पूर्वजानकारीबिना ‘एफिलिएसन चार्ज’ भन्दै प्रतिविद्यार्थी थप ६ हजार रुपैयाँका दरले असुलेको विषयलाई लिएर विद्यार्थी आन्दोलित भएका छन् । आन्दोलनको अगुवाइ गर्ने विद्यार्थीलाई पनि अनुशासन उल्लङ्घन गरेको आरोप लगाएर निष्कासन गर्ने तयारी कलेजले गरेको छ । यसरी विद्यार्थीको भविष्य बर्बाद गर्ने र अभिभावकलाई ठगी गर्ने कलेजलाई कसले कारबाही गर्ने र विद्यार्थीको भविष्य कसरी सुरक्षित तुल्याउने भन्ने गम्भीर प्रश्न उठेको छ ।