मुख्य रजिष्ट्रारमा नहकुलको नियुक्ति

मुख्य रजिष्ट्रारमा नहकुलको नियुक्ति


सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदी नियुक्त भएका छन् । गत आइतबार (असार ११) बसेको न्यायसेवा आयोगको बैठकले सुवेदीलाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । सर्वोच्चमा लामो समय मुद्दा फाँटमा रहेर काम गरेका सुवेदी यसअघि न्यायपरिषद्का सचिवको जिम्मेवारीमा थिए । नयाँ संविधान जारी भएपछि ऐन संशोधन गरेर एक वर्षअघि नै ‘मुख्य रजिष्ट्रार’ पद सिर्जना गरिए पनि विभिन्न कारणले नियुक्ति भने हुन सकेको थिएन । यस अर्थमा उनी मुख्य रजिष्ट्रार हुने पहिलो व्यक्ति हुन् । तत्कालीन रजिष्ट्रार श्रीकान्त पौडेललाई मुख्य रजिष्ट्रार नियुक्त गर्न लागेकै बेला उनी उच्च अदालतको न्यायाधीश भएकाले अन्तिम समयमा उनको नियुक्ति रोकिएको थियो । मुख्य रजिष्ट्रारले सर्वोच्च, उच्च अदालत, जिल्ला अदालत र अन्य अर्धन्यायिक निकायको प्रशासन हेर्ने भएकोले मुख्य रजिष्ट्रार ओहदालाई न्यायिक प्रशासनको ‘मुख्यसचिव’को रूपमा समेत चित्रित गरिन्छ ।