लन्डन । नेपालमा संविधानसभाको थपिएको म्याद सकिनै लाग्दा बेलायतमा समेत चासो बढेको छ । बेलायतवासी नेपालीको चासो बढ्नु त स्वभाविकै हो, विदेशीले समेत चिन्ता व्यक्त गर्न थालेका छन् ।
विश्वका सोसलिष्ट पार्टीको अन्तर्राष्ट्रिय संगठन सोसलिष्ट इन्टरनेशनलका महासचिव लुइस आइलाले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको प्रगतिका विषयमा गहिरो चिन्ता र चासो व्यक्त गरेका छन् । गत साता बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सभासद डा. शेखर कोइरालासंगको भेटमा उनले नेपालबारे चासो राखे ।
वीपी कोइरालाको ३० औं स्मृति दिवसको सन्दर्भमा एक गोष्ठीमा भाग लिन बेलायत आएका कोइरालाले नेपालमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । स्वर्गीय वीपी कोइराला साउथ एसियाको ठूलो समाजवादी नेता रहेको उल्लेख गर्दै दुवै जनाले विश्वभरिकै सोसलिष्ट पार्टी यसका नेताहरु लोकतन्त्र, आर्थिक मन्दी, जलवायु परिवर्तन, मानवअधिकार र शान्ति लगायतका विषयमा गम्भीर भएर अगाडि बढ्नुपर्ने विषयमा छलफल गरेका थिए ।
पटक पटक नेपाल भ्रमण गरेका र स्वर्गीय गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री झलनाथ खनाल लगायतका सबै नेपाली राजनीतिक नेताहरुलाई भेटेका आयलाले नेपालको हाल जारी समस्यामा सबैले सहमति गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन गिरिजाको निकट सहयोगी भई काम गरेका डा. कोइरालालाई अहिलेको परिस्थितिमा समेत सक्रिय भूमिका निर्वाह गर्न आयलाले अनुरोध गरेका थिए ।
भेटमा कांग्रेस महासमिति सदस्य विज्ञान प्रर्साईं, नेपाली जनसर्म्पर्क समितिका सदस्य विकास देवकोटा, पत्रकार विपिन निरौलासमेत सहभागी थिए ।
त्यसैगरि, डा. कोइरालाले नेपाली भाषा र संस्कृतिमा खोज अनुसन्धान गरेका युनिभर्सिटी अफ लन्डन सोआसका प्राध्यापक माइकल हटसंग पनि लामो छलफल गरे । उनले विदेशमन्त्रालय अर्न्तर्गतको साउथ एसिया निर्देशक विलियम मिडिल्टन संग पनि भेटवार्ता गरेका थिए । -विपिन निरौला,
प्रतिक्रिया