राजधानी आर्चरी च्याम्पियनसिप सम्पन्न

राजधानी आर्चरी च्याम्पियनसिप सम्पन्न


१२औँ दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक विजेता स्वयम्भूका प्रेमप्रसाद पुन र राष्ट्रिय कीर्तिमानधारी नेपाल आर्मी क्लबकी ज्ञानु अवाले रुसलान राजधानी आर्चरी च्याम्पियनसिपको रिकर्भमा च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सागको व्यक्तिगत स्पर्धामा पदक जित्ने एक्लो नेपाली आर्चरी खेलाडी प्रेमप्रसाद पुनले पुरुष फाइनलमा आर्मीका रोशन नगरकोटीलाई ६–२ ले पराजित गरे । स्वयम्भूका रमेश भट्टचन कास्कीका अशिम शेरचनलाई ७–३ ले हराउँदै तेस्रो भएका थिए ।

राजधानी न्युज पब्लिकेसनद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा ज्ञानुले कास्की आर्चरी क्लबकी रश्मी दर्लामीलाई ६–२ ले हराइन् । आर्मीकी आइशा तामाङ तेस्रो भइन् । आइशाले कास्कीकी राज्यलक्ष्मी जोशीलाई ६–० ले निराश पारिन् । रिकर्भको पुरुष÷महिलामा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे । पुरुष ट्रेडिसनल खुलामा अन्नपूर्ण आर्चरी क्लबका राज पुर्जाले स्वर्ण जिते । उनले फाइनलमा नेपाल छन्त्याल समाजका धनेन्द्र छन्त्यालको चुनौती ६–० ले समाप्त पारे । म्याग्दी मगर समाजका जितेन्द्र रोकामगरले हिमालयन भोटे युथ क्लबका नादार भोटेलाई ६–२ ले पाखा लगाउँदै तेस्रो भए । यो स्पर्धामा पनि शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदबाट पुरस्कृत गरियो ।

स्ट्यान्डर्डतर्फ द बेस्ट आर्चरीका ग्रिष्मा गुरुङले बाजी मारे । उनले फाइनलमा आर्मीका पवन राईलाई ६–५ ले पन्छाए । तेस्रो भएका आर्मीका डम्बर थापाले टीआईएका विल्भर आचार्यलाई ६–४ ले हराए । विजेताले १० हजार, उपविजेताले ८ हजार र तेस्रोले ५ हजार नगद पुरस्कार थापे । बेस्ट आर्चरीका प्रजित अग्रवालले पुरुष कम्पाउन्ड स्पर्धाको उपाधि जिते । उनले उपाधि भिडन्तमा सुदूरपश्चिमाञ्चलका होमबहादुर थापालाई १३९–१३३ ले पराजित गरे । राजधानीका सनातन मल्ल तेस्रो भए । उनले राजधानीकै विवेकसेन गुरुङलाई १३६–१३२ ले हराए । प्रजितले १५ हजार, होमले १० हजार र सनातनले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।