यूरोप भ्रमणको रमाइला अनुभूति..(भाग १०)

यूरोप भ्रमणको रमाइला अनुभूति..(भाग १०)


संसारका प्राय सबै विकास भएका ठूला शहरहरु नदी किनारमा, समुन्दका तटहरुमा र ठूल-ठूला मनमोहक तालहरुको किनारमा बसेका पाइन्छन् । हामीले अहिलेसम्म भ्रमण गरेका राष्ट्रहरुलाई विचार गर्दा लण्डनमा टेम्स् नदी, पेरिसमा सेइन नदी, जिनेभा शहर, जिनेभा तालको किनारमा, पिसा अर्नो नदी तटमा र अब जाने फ्लोरेन्स शहर पनि यही पिसा हुँदै बग्ने अर्नो नदी फ्लोरेन्सको बीचभाग भएर बगेकीछिन् । इटालीमा फ्लोरेन्स पछिको हाम्रो गन्तव्य भेनिस शहर हो जसलाई “सिटी अफ वाटर”को नामले चिन्दछ अर्थात् “पानीको नगर” । हाम्रो पिसा शहर हेर्ने समय धेरै थिएन । हामी केवल पिसा टावर क्षेत्र मात्र घुम्यौँ । पिसा टावर वरिपरिका फोटोहरु खिचेर हामी फ्लोरेन्सका लागि रवाना गरेका थियौँ । हामी आफ्नो कोच भएको ठाउँतिर आइरहेको बेलामा गाइड समीले … फ्लोरेन्स शहरमा गर्मी हुन्छ .. तपाईहरु त्यही अनुसार कपडा लगाउनुहोला… भनेकी थिईन् । हामी अहिले फ्लोरेन्सका लागि समथल भूभाग हुँदै पिसा शहरलाई पछि पार्दै उत्तरतर्फ लाग्दै थियौँ । पिसाको झुक्दै गरेको मिनारलाई देख्दा छोरीको कुरा सम्झेको थिएँ । फोन गरेर हामीलाई पिसाको लाइनिङ टावरलाई लिएर हाम्रो थुप्रै फोटोहरु खिँच्नलाई भनेकी थिईन् । जति पुरानो पिसा शहर हुन् फ्लोरेन्स पनि त्यतिकै पुरानो र विश्व ऐतिहासिक मानचित्रमा यस शहरले निकै महत्वपूर्ण ठाउँ ओगटेकी छिन् । फ्लोरेन्स शहरले रोमन सम्यता र साम्राज्यको गौरवपूर्ण इतिहास बोकेर आफ्नो छुट्टै ऐतिहासिक अस्तित्व कायम गरेको छ । भौगोलिक स्थितिलाई हेर्ने होभने यो शहर इटालीको मध्यभागमा पर्दछ । हामी प्लस फ्लोरेन्सको सेन्ट क्याटरिना होटलमा यस्तै बेलुकिको सात बजेतिर पुगेका थियौँ । शहरको निकै चहलपहल हुने ठाउँमा होटल रहेको हुनाले मानिसहरुको निकै भीडभाड देखिएको थियो । दिनभरिको यात्रा तथा पिसा शहरमा हामीले झण्डै ३,४ किलोमीटर हिँडेकाले पनि थाकेका थियौँ । हामीलाई आ-आफ्नो कोठाको चाबी दिएर समीले आठबजे हाम्रो खाना अन्डरग्राउण्डमा रहेको रेस्टुरेन्टको हलमा हुने कुरा समीले बताएकी थिईन् । हामी कोठामा गएर समान थन्कायौँ र स्नानबाट निवृत्त भयौँ । कोठामा इमेल सुविधा भएकोले छोराछोरीलाई हामी फ्लोरेन्स आइपुगेको खबर इमेलमार्फत पठाएँ । त्यसपछि खानाको लागि तयार भएर रेस्टुरेन्टतिर लाग्यौँ । बेलुकिको खाना एकदमै रमाइलो गर्दै भ्रमण टोलीका साथीहरुसँग खायौँ अनि ९ बजेतिर कोठामा फर्केका थियौँ । बुरियालाई फ्लोरेन्सको ऐतिहासिक महत्वको बारेमा केही जानेका कुराहरु भने । फ्लोरेन्स ऐतिहासिक महत्वको स्थान भएकोले हामीलाई स्थानीय गाइडको बन्दोबस्त गरिएकाबारे समीले दिनमा नै भनेकी थिईन् । भोलिको लागि क्यामेराहरुका ब्याटरीहरु चार्ज गर्दै दशबजेतिर हामी सुत्यौँ ।
बिहान छिट्टै उठ्यौँ तथा आफूलाई तरोताजा महशुस गरें किनभने राति शान्त वातावरणमा मीठो निन्द्रा लागेको थियो । तयार भएर सातबजे सबै समानहरु उठाएर रिसेप्शनमा गयौँ कारण आज दिनमा २, ३ बजेसम्म फ्लोरेन्स शहर घुम्ने अनि भेनिसको लागि जाने प्रोग्राम थियो । सबै आ-आफ्नो कोठाको चाबी बुझाएर ब्रेकफास्टको लागि पहिलो तल्लाको हलमा सात बजेतिर गएका थियौँ । ब्रेक फास्ट खाइसकेपछि आठ बजेतिर एकजना खिृष्टिना नाम गरेकी गाइडको पछि-पछि हुँदै हामी फ्लोरेन्स शहर हेर्न हिँड्यौँ । आज हाम्रो भ्रमणको सातौं दिन हो । हामीलाई शहरको मुख्य मुख्य ऐतिहासिक स्थलहरु गाइडले घुमाउने कुरा गरेकी थिईन् । गाइडले केवल तीन घण्टा घुमाउने कुरा गरेकी थिईन्, त्यसपछि अर्नो नदी माथिको पुरानो पुलमा दिनको २ बजे भेटेर भेनिसका लागि रवाना हुने कुरा समीले सबैलाई बताईन् । सबैलाई शहरको महत्वपूर्ण ठाउँहरुका विवरण भएको एक-एकवटा नक्सा थमाइदिएकी थिईन् । यसले गर्दा हामीलाई सजिलो भएको थियो । वास्तवमा एकै दिनमा शहरका सबै ठाउँ घुम्न सक्ने कुरा पनि थिएन । फ्लोरेन्स शहरको प्रमुख ऐतिहासिक ठाउँहरुतर्फ गाइड एउटा सानो झण्डा बोकेर अघि-अघि हिँडिन् । अन्दाजी ४५ वर्षकी इटालीयन गाइडले सबैलाई छोटकारीमा फ्लोरेन्सबारे होटलबाट निस्कनु अघि भनेकी थिईन् । अहिले हामीलाई आफ्नो पछि लगाउँदै अघि बढ्दै थिईन् । खृष्टिनाको धारावाहिक अंग्रेजी सफा र प्रष्ट सबैले बुझ्ने खालको थियो ।
इटालीको तास्केनी प्रान्तको राजधानी फ्लोरेन्समा लगभग चारलाख स्थायी रुपले बसोवास गर्ने नागरिकहरु रहेछन् । यो शहर क्षेत्रफलको हिसाबमा त्यति ठूलो छैन, तर, जनघनत्वको हिसाबमा इटालीका अन्य शहरहरुभन्दा बढी मानिसहरु बसोबास गर्दै आएका छन् । यस शहरको बीच भागबाट अर्नो नदी प्रवाहित भएर पिसा हुँदै लिगुरीयन समुन्द्रमा खसेकीछिन् । इतिहासमा उल्लेख गरेका विवरणहरुमा यो शहर उहिले यूरोपकै वैभावशाली र धनी शहरको नामले परिचित थियो । किंवदन्ती अनुसार यस शहरको नामाकरण फ्लोरा देवीको नामबाट राखिएको भनिन्छ । लेटिन भाषाको फ्लोराबाट फ्लोरेन्सिका राखिएको थियो । पछि विश्वले यस शहरलाई फ्लोरेन्सको नामबाट चिनिन थाल्यो । इटालीयन भाषा बोल्नेहरुले यसलाई फ्लोरेन्जा उच्चारण गर्दछन् । सन् १९८२ सालमा यस शहरलाई विश्व सम्पदाको सूचीमा राखिएको थियो । विश्वका महान व्यक्तित्वहरु जन्मेका र आफ्नो कर्मथलो बनाएका महान दाँते, बोकासियो, मोनालिसाको चित्र बनाउने लियोनार्दो दा भिन्सी, प्रसिद्ध चित्रकार तथा मूर्तिकार माइकल एन्जलो, वैज्ञानिक ग्यालेलियो गेलेलेई पिसामा जन्मे पनि कर्मथलो फ्लोरेन्सलाई नै बनाएका थिए, बाट्टिसेली, निकोलो माचियाभेल्ली, ब्रुनेलेश्ची, रोबार्टो काभेली र अन्य धेरै विश्व विख्यात व्यक्तित्वहरुले आफ्नो प्रतिभा उजागर गरेका शहरमा हामी अहिले हिँड्दै थियौँ । म कल्पना गर्दै थिएँ विशेष गरी कलाका लागि यति धेरै प्रतिभाका धनीहरु जन्मेका शहर अरु यूरोपेली शहर नै छैनन् । एउटै शहरमा यति धेरै सरस्वतीका वरद् पुत्रहरु जन्मेकै कारणले गर्दा यस शहरले एउटा गौरवपूर्ण इतिहास बोकेकी छिन् । केही ठाउँहरुमा यस शहरका पुरातन निर्माणका संरचनाहरुलाई उस्ताको उस्तै राखेर संरक्षण गरेको छ । कतिपय ठाउँहरुमा मलाई काठमाडौको गल्लीहरुको आभास भइरहेको थियो । हामीलाई सबैभन्दा पहिले गाइडले प्लस फ्लोरेन्सबाट रिपब्लिकन स्क्वायरमा लगेर गएकी थिईन् । यहाँ उहिलेका भवनहरु भत्काएर आधुनिक खालका भवनहरु बनाएका रहेछन् र बीचमा एउटा फराकिलो पाटन रहेछ यसलाई रिपब्लिकन स्क्वायर भन्दोरहेछ । १९औ शताब्दीमा फ्लोरेन्सवासीहरुले लोकतन्त्र प्राप्ति गरेको खुशीमा रिपब्लिकन स्क्वायरको (लोकतान्त्रिक पाटन) निर्माण गरेका रहेछन् । हामीलाई लोकतन्त्रको स्थापना र पुनर्जागरणको बारेमा संक्षिप्त जानकारी गाइडले बताएकी थिईन् । त्यसपछि हामी विश्व सम्पदाको सूचीमा संरक्षण गरेर राखेका फ्लोरेन्सको ऐतिहासिक महत्वका गल्लीहरु डुलाउँदै गाइड अघि-अघि बढ्दै गइरहेकी थिईन् । हामीचाँहि क्यामेराले सकुन्जेल हतार-हतार फोटोहरु खिंच्दै गाइडलाई पछ्याउँदै हिँडिरहेका थियौँ । हामी अहिले एउटा अति पुरानो फ्लोरेन्सको सेन्ट बासिलिका (क्याथाड्रल)गिरजाघरको परिसरभित्र पुगेका छौँ । यो फ्लोरेन्सको सबैभन्दा पुरानो गिरजाघर मानिन्छ जसलाई मेडिची परिवारले १३औ शताब्दीमा निर्माण गरेको थियो । गिरजाघरको पुरानो ढुंगा र इँटाका भित्ताहरुले गिरजाघरको प्राचिनता झल्काइरहेका थिए । प्रसिद्ध चित्रकार तथा मूर्तिकार, माइकल एन्जलोले, १७ वर्षको उमेरमा त्यही क्याथाड्रलभित्र काम गरेका थिए भनिन्छ । घाम लागेकोले मौसम सफा र घमाइलो थियो । बाहिरको तापक्रम २० डिग्रि सेल्सियस थियो । हामी सबैले हल्का कपडा लगाएका थियौँ । एकैदिनमा फ्लोरेन्सको सबैभागका ऐतिहासिक स्थलहरु हेर्ने सम्भव थिएन । हामीले यथासक्दो मुख्य-मुख्य ठाउँहरुमा पुग्ने प्रयास गरेका थियौँ । १४औ देखि १६औ शताब्दीसम्म भएको पुनर्जागरणको (रिनाइसेन्स)को अभियानको सूत्रपात यसै शहरबाट भएको भनिन्छ । इतिहासमा फ्लोरेन्स शहरको विशिष्ट स्थान छ । रोमन सभ्यताको फाँटमा राजनीतिक, आर्थिक तथा साँस्कृतिक दृष्टिकोणबाट प्रमुख भूमिका निभाएको फ्लोरेन्स शहर उहिलेका शहरहरुमध्येका धनी शहर थियो । फ्रान्स र बेलायतको सय वर्षे युद्धकालमा बेलायतलाई फ्लोरेन्सले आर्थिक सहयोग दिएकी थिईन् । रोमन साम्राज्यको पतनपछि पिसा, फ्लोरेन्स र भेनिस निकै विकास भएर माथि उक्लेका थिए । जुलियस सिजरको राज्यकालमा यस शहरलाई सेना राख्ने छाउनीको रुपमा विकास गरेका रहेछन् । त्यसपछिका शताब्दीहरुमा रोमन साम्राज्यको पतनपछि यस शहरमा मेडिची परिवारको प्रभाव र प्रभुत्व केही शताब्दीसम्म रहेको थियो । यतिबेला नै यूरोपभरिको औधोगिक विकासमा ठुलो टेवा फ्लोरेन्सले पुर्‍याएको कुरा इतिहासमा उल्लेख गरेको छ । यही मेडिची परिवारकी किशोरी क्याथारिन् मेडिचीलाई फ्रान्सका राजा हेन्री द्वितीयले विवाह गरेका थिए । यिनै क्याथरिनबाट जन्मेका तीनजना पुत्रहरुले फ्रान्सलाई पालैपालो राज्य शासन गरेका थिए । १७ शताब्दीको उत्तरार्धसम्म क्याथारिनबाट जन्मेका छोराहरुले शासन गरेका थिए । फ्रान्समा पुनर्जागरणको अभियान क्याथरिनले नै भित्र्याएकी थिईन् ।
मेडिची परिवारले पोपको भूमिका र धार्मिक उठानलाई अघि बढाएको थियो । उनीहरुलाई ग्राण्ड डचीको खिताबबाट फ्लोरेन्समा पोपले स्थापित गरेका थिए । १६औं तथा १७औं शताब्दीताका निर्माण गरिएका मेडिची परिवारका भव्य महल, दरबारहरु अहिले फ्लोरेन्सको अजयबघर (म्युजियम)हरुमा परिवर्तन भएका छन् । पर्यटकहरुले त्यतिबेलाका भवन, महल र दरबारहरुको अवलोकन गरेपछि सजिलै फ्लोरेन्सको विगतका वैभव सजिलै अडकल गर्न सकिन्छ । हामी ती सबै भवनहरुमा बनाएर राखेका संगमरमरका मूर्तिहरु हेर्दै फोटो खिंच्दै हिँडिरहेका थियौँ । हिँड्दै जाँदा हामी अर्नो नदीको दुई किनारालाई हजारौ वर्षदेखि जोडेर राखेको पुरानो पुलमाथि आइपुग्यौँ । यस पुललाई पोर्टे मेच अर्थात् पुरानो पुलको नामले चिन्दछन् । अर्नो नदी एकदमै ठूलो नदी होइन तर यसलाई व्यवस्थित बनाएको छ । दोश्रो विश्वयुद्धमा फ्लोरेन्सको अर्नो नदी माथिको सबै पुलहरु ध्वस्त गरेका थिए तर, हिटलरले केवल यो एउटा पुललाई ध्वस्त गर्नबाट रोकेका थिए । अतः विश्वयुद्धमा बचेको यो मात्र एउटा पुल थियो । यस पुलमाथि दुबैतर्फ भवनहरु निर्माण गरेर सानो बजार स्थापित गरेको पाएँ । केही घरहरु १३औ शताब्दीताकाको उस्तै हिसाबले मरम्मत गरी संरक्षण गरेर राखेका छन् । उहिले यस पुलमाथि माछा बजार थियो रे तर, ग्राण्ड डची सवारी हुँदा माछा बजारको दुर्गन्ध असहृय भएको हुँदा ग्राण्ड डचीले माछा बजारको ठाउँमा गरगहनाको बजार स्थापित गरेका रहेछन् । यस बजारमा अहिले संसारभरिका थरिथरिका हिरामोती, सुनचाँदी, जवाहारत र गरगहनाहरु बिक्रि गर्ने पसलहरु देखिन्छन् । महिलाहरु समूह समहमा बजारभरि गहना किन्दै गरेका देखिन्छन् । हवस् त आजलाई यहींसम्म … फेरि अर्को श्रृंखलामा भेटौंला ।
धन्यवाद ।