लण्डन । अस्ति ३० जुलाई २०११ को दिन ओकफर्म कम्युनिटी स्कुल, फार्नबारोमा पर्वत वेल्फेयर सोसाइटी, यूकेको वाषिर्क समर बीबीक्यू भेला अत्यन्त उल्लासमय र सौहार्द्धताको वातावरणमा सम्पन्न भएको थियो । सदा झै प्रत्येकवर्ष भेला हुँदै आउने यस भेलामा लगभग डेढ सय पर्वतवासीहरुका सहभागी रहेको थियो । मौसम अत्यन्त राम्रो भएकोले गर्दा बीबीक्यूको आनन्द लिँदै ओकफर्म स्कुलको खुला मैदानको हरियो दुबोमाथि समूह समूहमा पर्वतेलीहरु हर्षोल्लासका साथ सुखदुःखका भलाकुसारी गरिरहेका थिए । हलभित्र संगीतको हलका धुनमा नास्ता खाँदै उत्तिकै आ-आफ्नो इष्टमित्रहरुसँग औपचारिक कार्यक्रम हुनुअघि कुरा गर्दै रमाइरहेका थिए । औपचारिक कार्यक्रम प्रमुख अतिथिको आगमानमा अलि ढिलाई भएकोले गर्दा यस्तै दिनको साढे दुई बजेबाट सञ्चालन गरिएको थियो । यस पटकको पर्वतेली भेलाका प्रमुख अतिथि नेपालका प्रमुख निर्वाचन आयुक्त, नीलकण्ठ उप्रेती थिए, विशेष अतिथिहरुमा नेपाली राजदुतावासका सचिव गणेश अधिकारी र नेपालबाट आएका नेपाली लोकसंगीतका सितारा खड्का गर्बुजा र अन्य अतिथिहरुमा गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषदका यूरोपेली संयोजक क्या.रि. हितमान गुरुङ, गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समिति, यूकेका उपाध्यक्ष कुल आचार्य, तमु धिं यूकेका महासचिव ज्ञाम गुरुङ, सं.अ. हितकाजी गुरुङ, पर्वत वेल्फेयर सोसाइटीका सल्लाहकार सुमल कुमार गुरुङ, दुर्लुङ समाजका अध्यक्षका क्या.रि. जीवन गुरुङ, सल्लाहाकार ले.रि. नारायण प्रसाद गुरुङ, भ्रामरकोट समाजका अध्यक्ष जंगबहादुर गुरुङ, चारभन्ज्याङ समाजका अध्यक्ष ले.रि. चन्द्र गुरुङ, पञ्चकोशी समाजका अध्यक्ष शिवसरन गुरुङलगायत अन्य धेरै संधसंस्थाहरु, सञ्चारमाध्यमका व्यक्तित्वहरुका सहभागी रहेको थियो ।
पहिलो चरणको औपचारिक कार्यक्रमलाई संस्थाका सचिव यज्ञ क्षेत्रीले सञ्चालन गरेका थिए । सोसाइटीका अध्यक्ष रसबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई सबैभन्दा पहिले प्रमुख अतिथि तथा अध्यक्ष द्वयले पानसमा बत्ती प्रज्वलन गरेर श्ाुरु गरेका थिए साथै हलमा भएका सबैजना नेपालको राष्ट्रिय गीतको धुन बजाउँदा उभिएका थिए । त्यसपछि सम्मान कार्यक्रम शुरु गरिएको थियो । प्रमुख अतिथिलगायत पर्वत जिल्लाभरिका त्यस कार्यक्रममा भेला भएका विशेष व्यक्तित्वहरु र जेष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्म्ाान गरेका थिए । कार्यक्रमको दोश्रो चरण कार्यक्रमका व्यवस्थापन सचिव धन क्षेत्रीले सञ्चालन गरेका थिए । प्रमुख निर्वाचन आयुक्त, नीलकण्ठ उप्रेती, गणेश अधिकारी, ले.रि. चन्द्र गुरुङ, सुमल कुमार गुरुङ, कुल आचार्य, ज्ञाम गुरुङ तथा क्या.रि. हितमान गुरुङले मन्तव्य प्रकट गर्दै पर्वत वेल्फेयर सोसाइटीको प्रगतिका लागि मंगलकामना प्रकट गरेका थिए ।
यस कार्यक्रमलाई भरपुर मनोरञ्जन दिनका लागि सुमधुर स्वरका धनी खड्का गर्बुजाले आफ्नो नवीनतम गीत र अन्य लोकप्रिय गीतहरु गाएर वातावरण उल्लासमय बनाएका थिए । उनका गीतमा नाच्ने र झुम्नेहरु कार्यक्रमको शुरुदेखि अन्त्यसम्म सम्मोहित भएका थिए । खड्का गर्बुजाको सुमधुर कर्णप्रिय गीत र सहभागीहरुका नृत्यलाई केहीबेर थाती राखेर लोटरी (चिट्ठा) खेलाइएको थियो । विभिन्न पर्वतेली व्यक्तित्वहरु र व्यापारीहरुले प्रायोजन गरिएका पुरस्कारहरुका लागि चिट्ठा निकालिएको थियो । चिट्ठामा पुरस्कार प्राप्त गर्नेहरुल्ााई संस्थापक अध्यक्ष हितकाजी गुरुङबाट पुरस्कारहरु वितरण गरिएका थिए । यसै कार्यक्रमको माध्यमबाट आ-आफ्नो मन्तव्य प्रकट गर्ने क्रममा पर्वतेलीहरु, गैरआवासीय नेपाली समन्वय परिषदसित आबद्ध २ जना प्रत्याशीहरु, क्रमशः क्या.रि. हितमान गुरुङ -हाल युरोप संयोजक) र कुल आचार्य (हाल उपाध्यक्ष राष्ट्रिय समन्वय परिषद, यूके) ले आ-आफ्नो उम्मेदवारी आगमी क्रमशः अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष पदका लागि दिने घोषना सम्प्रेषण गरेका थिए । अन्तमा साँझ आठबजेतिर औपचारिक कार्यक्रमको समापन अध्यक्ष रसबहादुर गुरुङले गरेका थिए । -सुमल, मेस ।
प्रतिक्रिया