‘पासपोर्ट’ सार्वजनिक

‘पासपोर्ट’ सार्वजनिक


राहदानी लिने प्रक्रियाका विषयमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले तयार गरिएको सन्देशमूलक वृत्तचित्र ‘पासपोर्ट’ सार्वजनिक गरिएको छ । राहदानी विभागको सक्रियतामा तयार पारिएको सो वृत्तचित्र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शुक्रबार सार्वजनिक गरेका हुन् । वृत्तचित्रमा राहदानी लिनका लागि आवश्यक प्रक्रिया तथा कन्सुलर सेवा विभागबाट प्रवाह गरिने सेवाका विषयमा जानकारी उपलब्ध गराइएको छ ।

लगभग २४ मिनेट लामो उक्त वृत्तचित्र विभागको वेबसाइट, युट्युब, फेसबुकलगायतका अन्य सामाजिक सञ्जालमार्फत हेर्न सकिने विभागले जनाएको छ भने वृत्तचित्र सार्वजनिक भएसँगै सर्वसाधारणले इन्टरनेटबाटै राहदानी तथा कन्सुरसम्बन्धी जानकारी प्राप्त गरी लाभ लिन सकिने विश्वास लिइएको छ ।

नारायणहिटीस्थित राहदानी विभागमा गरिएको वृत्तचित्र सार्वजनिक कार्यक्रमकै दौडानमा मन्त्री महराले सो विभागीय जानकारीसमेत लिए । उनले लाइभ इनरोलमेन्ट सेन्टर, राहदानी आवेदन फारम प्रशोधन कक्ष, गुनासो व्यवस्थापन शाखा तथा गुणस्तर परीक्षण शाखाको अवलोकन गरेका थिए । परराष्ट्रमन्त्री महराले विभागको कामकारबाहीलाई सेवाग्राही मैत्री बनाउन निर्देशन दिँदै सर्वसाधारणका गुनासोलाई विशेष ध्यान दिनुपर्ने बताए ।

सोही अवसरमा परराष्ट्र सचिव शङ्करदास बैरागीले विभागको कार्यसम्पादन, विद्यमान समस्या र भविष्यमा आइपर्नसक्ने नीतिगत तथा व्यावहारिक चुनौतीका विषयमा जानकारी दिए भने विभागका महानिर्देशक रामजी खड्काले विभागबाट प्रवाह हुने सेवा र सो कार्यमा देखिएका समस्याका विषयमा मन्त्रीलाई जानकारी गराए ।

यसैबीच भूतपूर्व ब्रिटिस गोरखा सैनिक संयुक्त सङ्घर्ष समितिले परराष्ट्रमन्त्री महरालाई भेटेर पूर्वब्रिटिस सैनिकका मागका विषयमा पहल गरिदिन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयमा सङ्घर्ष समितिको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री महरालाई शुक्रबार भेटेर सो माग प्रस्तुत गरेको हो ।