मानिसलाई आध्यात्मिक ज्ञान प्रदान गर्नुलाई आफ्नो जीवनको प्रमुख उद्देश्य बनाउनुभएका पूर्वीय दर्शनका अन्वेषक डा. रामानन्द गिरीको ७१ वर्ष उमेरमा निधन भएको छ । शनिबार पशुपतिस्थित शङ्कराचार्य मठमा दिवंगत भएका गिरीको पार्थिव शरीरलाई सन्त परम्पराअनुसार आइतबार देवघाटस्थित नारायणी नदीमा जल समाधिस्थ गरिएको छ । स्वर्गीय गिरी निमोनिया रोगबाट पीडित हुनुहुन्थ्यो । कास्कीको पुरन्चौरमा १२ दिनअघि प्रवचनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उहाँलाई उपचारका लागि राजधानीस्थित ग्राण्डी अस्पतालमा ल्याई भर्ना गरिएको थियो ।
गिरीका निकट सहयोगी कृष्ण आचार्यका अनुसार उपचारका क्रममा चिकित्सकले स्वास्थ्यमा सुधार नआउने बताएपछि शनिबार बेलुकी पशुपति मन्दिर परिसरमा रहेको शङ्कराचार्य मठमा राखिएको र उहाँले त्यहीँ प्राण त्याग्नुभएको हो । शनिबार बेलुकी मठमा उहाँका चेला, शुभेच्छुकलगायत सर्वसाधारणको अन्तिम श्रद्धाञ्जलि दिन भीड लागेको थियो । शनिबार राति नै उहाँको पार्थिव शरीरलाई देवघाट लगी आइतबार सन्त परम्पराअनुसार देवघाटस्थित नारायणी नदीबीच काठको विशेष बाकसमा पार्थिव शरीर राखी नदीको गहिरो भागमा छोडिएको हो ।
स्वर्गीय गिरीले प्रसिद्ध धार्मिकस्थल देवघाटमा विसं २०५० मा महेश सन्न्यास आश्रम एवम् महेश संस्कृत गुरुकुल स्थापना गरी कक्षा ६ देखि स्नातकोत्तर (आचार्य) तहसम्म निःशुल्क आवासीय सुविधासहित अध्यापनको व्यवस्था मिलाउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महेश संस्कृत विद्यापीठ अहिले विश्वविद्यालयकै उत्कृष्ट विद्यापीठमध्येमा गनिन्छ ।
गुरुकुल र विद्यापीठमा गरी हाल ३०० भन्दा बढी विद्यार्थीले यहाँ अध्ययन गरिरहेका छन् । धादिङको केवलपुर गाउँमा विसं २००३ भदौ १० गते जन्मनुभएका रामप्रसाद सुवेदी विसं २०४७ मा गुरु स्वामी महेशानन्द गिरीबाट दीक्षा लिई रामानन्द गिरीका नामले प्रख्यात हुनुभएको थियो । उहाँले विसं २०३० मा त्रिभुवन विश्वविद्यालयबाट शाङ्करवेदान्त विषयमा स्नातकोत्तर (आचार्य) गर्नुभएको थियो । राजर्षि जनकका विदेह सिद्धान्तहरुको समीक्षात्मक अध्ययन’ विषयमा डा. गिरीले विसं २०४१ मा त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधि गर्नुभएको थियो । उहाँको ‘रुद्राष्टाध्यायी’ पूजाविधि एवम् नेपाली भावानुवचनसहित, ‘माण्डुक्योपनिषद्’मा नेपाली अनुवाद एवम् विशेष व्याख्या, श्रीमद्भागवत् महापुराणको नेपाली व्याख्या आठ भागमा प्रकाशित छन् ।
डा. गिरीले नेपाली भाषामा व्याख्या गर्नुभएको भागवत् महापुराण अहिलेसम्मकै नेपाली अनुवादमा सबैभन्दा राम्रो मानिन्छ । यसैगरी, डा. गिरीका रामगीता, देवीगीता, दुर्गासप्तशती, श्रीमद्भगवद्गीता, श्रीशिवमहिम्नः स्तोत्रम्, श्रीदक्षिणामूर्ति स्तोत्रम्, ईशादि दश उपनिषद्लगायत २० वटाभन्दा बढी पुस्तकका नेपाली अनुवाद प्रकाशित छन् । उहाँले आधुनिक नेपालको गुरुकुल एवम् संस्कृत शिक्षा पद्धतिमा महत्वपूर्ण योगदान दिनुभएको छ । डा गिरीले तनहुँको देवघाट, अम्बरेश्वर सन्यास आश्रम कास्की, झापा, बनेपालगायत स्थानमा आश्रम स्थापना गर्नुभएको छ । उहाँ पशुपतिस्थित शङ्कराचार्य मठको संरक्षक हुनुहुन्थ्यो ।
प्रतिक्रिया